Comments Add Comment

वैदेशिक रोजगारीले टुट्दै दाम्पत्य जीवन

१७ साउन, धरान । पत्नी र तीन छोरीको भविष्य उज्ज्वल बनाउने सपना थियो धरान-१७ , बीचघोपाका चक्रबहादुर लिम्बूको । त्यसैलाई साकार पार्न साउदी अरब पुगेर हड्डी घोटे । २३ महिनापछि छुट्टीमा र्फकंदा घरमा सबै ठिकठाक थियो । तीन महिना बसेर फेरि उडे । परदेशमा १५ महिना दुःख गरेर गत पुस १७ गते स्वदेश फर्किए । यति बेला उनी पत्नी विमलाको हत्या आरोपमा हिरासतमा छन् ।

Divorce
दोस्रो पटक र्फकँदा पहिलेजस्तो थिएन परिवार । पत्नीको मोबाइलमा दिनरात फोन र एसएमएस बजिरहन्थ्यो । बिहान खाना खाएर निस्केकी उनी राति ७/८ बजे मात्रै घर छिर्थिन । माइती र उनी आफैंले पनि पटकपटक सम्झाए । असार २६ गते राति मातेरै घर आएपछि धुमधाम झगडा पर्‍यो । उनले आवेशमा आएर आग्लोले हाने । विमलाको प्राण गयो । ‘मैले यस्तो कल्पनै गरेको थिइनँ’ इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका लिम्बूले भक्कानिँदै भने, ‘पहिला सबै ठिक थियो, म १५ महिना साउदीमा रहँदा उ निकै परिवर्तन भइसकिछ ।’ नागरिक दैनिकमा खबर छ ।
परिवारलाई सुख दिन वैदेशिक रोजगारीमा गएकै कारण चक्रको परिवार खण्डित भयो । ६२ सालमा उनले विमलासँग दोस्रो बिहे गरेका थिए । २०५० सालमा पहिलो बिहे गरेका चक्रको बैदेशिक रोजगारीकै कारण सम्बन्ध विच्छेद भएको थियो । आफ्नै बडाबाका छोरासँगको सम्बन्धका कारण उनी गर्भवती भएपछि सम्बन्ध विच्छेद गरेको उनले बताए ।
चक्रको भन्दा कम छैन, मंगलबारेका भीमबहादुर राईको पीडा पनि । ६ वर्षअघि मलेसिया गएका उनले कमाएको दस लाखभन्दा बढी रकम पत्नीलाई पठाए । उदयपुरको कटारी-४ र सुनसरीकै विष्णुपादुका-६मा पत्नीकै नाममा जग्गा जोरिदिए । तर, ०७० फागुन ९ गते ६ वर्षे छोरालाई डेरामा एक्लै छाडेर पत्नी एक्कासी हराइन् । भीम अत्तालिँदै घर फिरे । फागुन १७ गते प्रहरीमा सुन, नगदसहित पत्नी फरार भएको जाहेरी दिए । खोजबिन गर्दै जाँदा सोही घरमा डेरा गरी बस्ने पवन नामको व्यक्तिसँग उनी भागेकी रहेछिन् । भीमबहादुर छोराको भविष्यका लागि दुवै ठाउँको जग्गा रोक्का गरे पनि सुन र नगद भने माया मारिदिए । मनभरि पीडा बोकेर उनी फेरि मलेसिया फर्किसकेका छन् ।
चक्र र भीम प्रतिनिधि पात्रमात्र हुन् । वैदेशिक रोजगारीमा जानेका परिवार खण्डित भएका अरु पनि थुप्रै घटना सुनिँदै आएका छन् । यस्ता घटना बढीजसो पति नै पीडित हुने गरेको पाइन्छ । महिलाअधिकारकर्मी वा प्रहरी दुवैको एउटै भनाई छ-‘वैदेशिक रोजगारीले पीडित पतिको संख्या बढाउँदै लगेको छ । घरपरिवारमा विखण्डन ल्याउँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment