Comments Add Comment

म पहाडलाई मोस्ट वेलकम गर्छु

Amresh Sing (1)

-अमरेशकुमार सिंह, कांग्रेस सभासद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा गरेको भाषणले धेरैलाई मोहित बनायो । उनले गोर्खालीको प्रशंसा गरे, तर मधेसलाई चाहिँ सम्बोधन गरेनन्, किन ?

-होइन । कुनै पनि विदेशी आएर भन्दैन कि मधेसी, दलित, महिला । यो नेपाली दलहरुको भाषा हो । उनले यस्तो गुलदस्ता बनाउ कि सबैको बासना होस् भनेका छन् । साथै कुनै यस्तो फुलस्टप, कमा वा शब्द नहोस् । विषवृक्षको जन्म नहोस् । ५० वर्षपछि जनयुद्ध वा विद्रोह नहोस् । यो एक प्रकारले सल्लाह हो भने अर्को चेतावनी पनि हो । किनभने भविश्यमा यस्तो हुन्छ । यहाँ सबैलाई समेटेर संविधान बनाउनु नै आजको राष्ट्रिय आवश्यकता हो । त्यसको बोध उहाँले गराउनुभएको छ ।

तर, उनले तपाईहरुलाई हिमाल पहाड तराईलाई जोड भन्ने सन्देश दिए हैन ?

-होइन, हिमाल पहाड र तराईलाई जोड्न भन्नुभएन । हिमाल, पहाड तराई सबैलाई समेट भन्नुभएको हो, जोड होइन । कसैले व्याख्या गर्ला कि हिमाल, पहाड र तराई मिलाएर राज्य बनाउ, मैले बुझेको त्यो होइन । किनभने हिमाल, पहाड र तराई त अहिले पनि जोडिएकै छ नि ।

राज्य बनाउँदा हिमाल, पहाड र तराईलाई मिलाउन किन नहुने ? तपाईहरुले पहाडको नाम किन सुन्न नचाहेको ?

-म पहाडलाई मोस्ट वेलकम गर्छु । हामीले बुझ्नु पर्ने के भने राज्यको किन आवश्यकता पर्‍यो ? । युपीमा २० करोड जनसंख्या छ, ३ करोडलाई किन १० वटा राज्य चाहियो ? यसको कारण के हो भने पावर डिभिजन हो । राज्यको पुनःसंरचना होइन, पावर डिभोलुसन (शक्ति हस्तान्तरण) हुने हो कि होइन भन्ने हो । तराई भन्नासाथ सबै तराईका मानिस शोषित छन् र ? छैनन् । पहाडमा पनि कणर्ालीको सबै मान्छे त शोषित छैनन् । मेरो भनाइ के हो भने राज्यको पुनःसंरचना भनेको राज्यको पावर डिभोलुसनको अहिले जुन संरचना छ, त्यो परिर्वतन हुने कि नहुने ?

राजा महेन्द्रले बनाएका १४ अञ्चलजस्तै ठाडो पहाड, तराई र हिमाल मिलाएर प्रदेश बनाउँदा मधेसलाई के घाटा ?

-मधेसलाई घाटा के हुन्छ भने एउटा पनि मुख्यमन्त्री बन्दैन । पाँचवटा राज्य बनाउने हो भने मध्यमाञ्चलमा पहाडको जनसंख्या धेरै हुन्छ कि मधेसको । पाँचवटै हेर्नुस् । यो के हो भने सर्पले सर्पको खुट्टा देख्छ । राजनीति गर्नेले राजनीतिको कुरा बुझ्छ । तपाईले आम जनतालाई झुक्याउन सक्नुहुन्छ तर, हामीजस्ता राजनीतिकर्मीलाई कसरी झुक्याउन सक्नुहुन्छ ?

त्यसैले अहिलेको मुख्य प्रश्न भनेको शक्ति हस्तान्तरण हुने कि नहुने भन्ने हो । सिंहदरबारमा वा अर्को ठाउँमा मधेसको मान्छेले शासन गर्ने कि नगर्ने ? पुलिसको चिफ बन्ने कि नबन्ने ?

यो विषयमा मोदीले तपाईहरुसँग के भने ? उनले मधेसका नेताहरुलाई एन्टी पहाडे मनोदशाबाट माथि उठ्नुस् भनेको होइन ?

– होइन । उहाँले के भन्नु भो भने देशमा कुनै खाडल क्रिएट नगर्नु । मैले नै कुरा उठाएको हो कि तपाईको सम्बोधनमा तराई शब्द आयो, मधेस आएन । त्यसकारण मधेसका जनता र बुद्धीजीवी निराश छन् । तराईभन्दा शासनलाई यो लाग्यो भने कि इण्डियालाई पनि मधेसका जनताको मतलव छैन भने यसको गलत व्याख्या गरेर अझ शोषण हुने काम हुन्छ । मैले भनेको शब्द नै यही हो । मधेसमा विकासको आवश्यकता छ ।

मैले उदाहरण नै दिएँ कि पहाडको दलितभन्दा मधेसको दलितको अवस्था खराब छ । पहाडको भन्दा मधेसको गरीबीको अवस्था खराब छ । साथै जसरी गि्रन रिभोलुसन भो, हृवाइट रिभोलुसन भने गुजरातमा । त्यस्तै मधेसमा पनि आवश्यक छ । शौचालय र देवालयको कुरा छ । मधेसमा अहिले पनि शौचालयलाई आवश्यकता छ । पहाडमा चर्पी बनाएर गर्छन्, मधेसमा अहिले पनि बाटैमा गर्छन् । यसको अर्थ कहीँ न कहीँ चेतना अभाव छ । त्यसैले खासगरी हुलाकी राजमार्गको कुरा आएन । चुरेसंरक्षण, फास्ट ट्राकको कुरा आएन । यसकारण यसमा अलिकति विकासको कुरा भनेको हो ।

यसमा मोदीको जवाफ के थियो ?

– उहाँले तराई शब्द भनेकै हो भन्नुभो । त्यसपछि मैले तराई जोग्राफिकल र मधेस भनेको कल्चरल कन्टेक्स हो भनेँ । तराईलाई शोषण छैन, मधेसलाई छ । तराई भनेको त चन्द्रनिगाहपुर पनि पर्छ, लालबन्दी पनि पर्छ, इटहरी पनि पर्छ, बुटवल पनि पर्छ । त्यहाँ त शोषण छैन । अथवा तराईमा बसोवास गर्ने माधव नेपालजीमाथि त शोषण छैन । केपी ओली वा कृष्णप्रसाद सिटौलाजीलाई त छैन ।

शोषण तराईमा बस्ने मधेसी मुलको मान्छेलाई छ ।

विजयकुमार गच्छदार, अमरेशकुमार सिंहलाई पनि शोषण छैन नि होइन ?

Amresh Sing (2)– मलाई शोषण छैन र ? छ । कसरी भन्नुहुन्छ शोषण छैन ?

रामवरण यादवलाई शोषण त छैन होला नि ?

– रामवरण यादवजीको कुरा उहाँलाई नै थाहा होला । पदमा पुग्नेवित्तिकै त्यसको शोशण समाप्त हुन्छ भन्ने होइन । व्यक्तिको समस्या होइन । मेरो समस्या नहोला, म तपाईसँग सहमत छु । तर, मैले सिंगो मधेसी समुदायको कुरा गर्न खोजेको हो ।

मधेसी नेताहरुले यस्ता कुुरा गर्दा भारतीय प्रधानमन्त्रीले निकै असहज महसुस गरे भन्ने सुनियो नि ?

– होइन । उहाँले भन्नुभयो कि मैले सबै कुरा राम्रोसँग बुझेँ । कुरा के हो भने जुन तरिकाले बाहिर आएको छ, त्यस्तो होइन । मधेसको राजनीति असाध्यै डिभाइडेड र डिमोरलाइज छ । नेताहरु आफ्नै कुरा राख्नै नसक्ने पनि छ, देख्दा पनि कहिलेकाँही लाज लाग्छ ।

एउटा मनोवृत्ति छ कि यो मधेसका दलहरुलाई इण्डियाले पालेर राखेको हो । उनीहरु इण्डियाको इसारामा चल्छन्, उसले प्रोटेक्ट गर्छ । यो कहिल्यै भनिँदैन कि उनीहरु नेपालकै दल हुन्, जनताका लागि राजनीति गरेका हुन् त्यो बुझाइ छैन खास गरी तीन ठूला दलको कुरा हो । त्यसैले जसको नाममा ब्लेम गरेर उसलाई ट्याग गरेको छ, उसले पनि मलाई तिमीहरुको एजेण्डाबारे मतलब छैन भन्छ भने उसमाथि अझ दमन हुन्छ ।

जब ठूलो पावरसँग एसोसिएट देख्दा त क्रस गरिरहेको छ भने पावरसँग एट्याच नै नदेख्ने हो भने झन दमन हुन्छ भन्ने मेरो बुझाइ हो ।

मधेसी नेताको एट्याचमेन्ट रियल हो कि हल्ला ?

-कस्मेटिक हो । कहिँ पनि दुनियाँमा कमजोरसँग एट्याच हुँदैन ।

भनेपछि दोस्रो संविधानसभा चुनावपछि मधेसी दल कमजोर हुँदा भारतले पनि बास्ता गर्न छाडेछ…….

-होइन । मैले भनेको त्यस्तो मनोविज्ञानले काम गर्‍यो भने राम्रो स्थिति पैदा गर्दैन । किनकि उनीहरु पनि बाध्य भएर संविधानसभा छोडेर सडकमा जाने स्तिति आउँछ ।

मोदीजीले खासमा तपाईहरुलाई के भने त ?

– उहाँले भन्नुभयो कि मैले गुलदस्ताको बारेमा भनेको छु । त्यो सबैलाई समेटिने, सबैको अधिकार हुने संविधान बनोस् भनेको हो । मैले भनेकै छु, त्यो भन्दा बढी कोही विदेशीले भन्न सक्दैन ।

तपाईहरुलाई पहाडविरोधी मनोदशा त्याग भनेनन् ?

– होइन । उहाँले पुरै राष्ट्र मिलेर जाउँ, दुई समूहको विचमा कुनै खाडल नबनोस् । ग्याप भयो भने राम्रो हुँदैन । उहाँले मुलुकको हितमै कुरा गर्नु भयो । तपाईले भने जस्तो भाषा भन्नु भएको होइन । के हुन्छ भने एउटै कुरा दश मुखमा पुग्दा कुरा बिग्रँदा बिग्रँदा लास्ट पर्सनमा पुग्दा धेरै बिगि्रसकेको हुन्छ ।

मधेसी नेताहरु बजेटमा पहाडको मात्र कुरा आयो भन्छन्, तर मोदीले पनि त हिमाल र पहाडकै मात्र कुरा गरे नि ?

-मैले पहाड र मधेसको बीचमा कुनै द्वन्द्व ल्याउन खोजेको होइन । म यो देशको समग्र विकास होस् भन्ने चाहन्छु तर, देशका आधा जनसंख्या भएको मधेसको मुद्दा अब राष्ट्रिय मुद्दा हो । त्यो पिछडियो वा डिस्टर्ब भयो भने त्यहाँ त तबाव हुन्छ । किनकि जहाँ विकास हुँदैन, त्यहाँ अपराध बढ्छ । विद्रोह हुन्छ । विश्वमा हेर्नु भयो भने कम विकसित ठाउँबाटै गुरिल्ला वार सुरु भएको छ । आखिर बाबुरामजी काठमाडौंमा बसेको मान्छे किन रुकुम रोल्पा जानुभयो ? यही काठमाडौंमा उहाँको घर थियो, यहाँबाट सुरु गरेको भए हुन्थ्यो । त्यसैले शिक्षा र विकास भयो भने मधेसमा देखिएको विभेद असमानता समाप्त हुन्छ । मैले त्यसैका लागि भनेको हो ।
तपाईलाई अहिले साम्प्रदायिकताको आरोप लगाउनसक्नुहुन्छ । तर, यदि हामी बोलेन भने त्यो विचरा जनता कहिल्यै आएर बोल्दैन । अहिले पनि २०० वर्षदेखि हुलाकी रोड बनेको छैन । राज्यको जुन स्थिति छ त्यसका आधारमा अब पनि नबोल्ने हो भने अर्को २ सय वर्ष बन्दैन । वीपीलाई पनि त भारतीय दलाल भनिएको हो नि ।

तर, तपाईहरुले बारम्बार पहाडको विरोध किन गरेको ?

– पहाडको हामीले भनेका छौं । कर्णालीको विकास हुनुपर्छ । पहाडको जुन समस्या छन्, अपपर क्लासका पनि गरीब छ । दलित छन्, उनीहरुलाई पनि मेन स्टि्रममा ल्याउनुपर्छ । पहाडमा टुप्पा टुप्पामा घर छ त्यसलाई पनि एकै ठाउँमा ल्याउनुपर्छ भनेर भन्दै आएको छु ।

तपाईमा नहोला तर, मधेसी नेताहरु यस्तो संकीर्णता छ कि छैन ?

– विकास र शिक्षा भएपछि यो जातीय खाडल परिन्छ ।

जहाँसम्म मधेसी दलको कुुरा छ, समस्या नभएको भए मधेसका पार्टीहरु यति धेरै टुक्रा हुने थिएन । एजेण्डा एउटै छ भने यति धेरै पार्टी हुने थिएन । उनीहरु सिद्धान्तले बनेको भन्दा पनि इन्ट्रेस्ट ग्रुपको जमात हो । इन्ट्रेस्टलाई नै लिएर फुट्छ । इगो समस्या छ । जहाँ पनि कमजोर समुदाय छ, सानो फाइदामा जता पनि ढल्कन्छ । उसले दिर्घकालीन हित हेर्दैन । त्यसका लागि आफ्नो जीवनभर त्याग गर्नुपर्छ । मधेसका राजनीतिक दलहरुले मधेसको राजनीति गरेर आफूलाई मात्र फाइदा लिन खोजेका छन् । मेरो त्यो सोचाइ होइन । म राष्ट्रिय पार्टीमा छु र रहन्छु । सबै क्षेत्रको एजेण्डा उठाउँछु ।

समग्रमा भन्दा मोदीको भ्रमण सफल भयो कि असफल ?

-एउटा कुरा के भने यो भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ । सकारात्मक के के भो भने पहिलोपटक १७ वर्षको अन्तरालमा कुनै भारतीय प्रधानमन्त्री, त्यो पनि मोदीजस्तो शक्तिशाली प्रधानमन्त्री हनिमुन पनि नकट्दै नेपाल आउनुभयो । उहाँको सरकारको र व्यक्तिगत प्राथमिकतामा सरकार पर्दोरहेछ । यो सकारात्मक हो । संविधानसभा जुन वक्तव्य आयो, त्यो राष्ट्र नेताले दिने वक्तव्य हो । उहाँले नेपाली जनता र राजनीतिलाई नजिकबाट बुझ्ने मौका पाउनुभयो ।

तर, भ्रमण कहाँ सफल भए भने हाइड्रोपावरको कुरा अगाडि बढ्नु पथ्र्यो तर, पहिलो गाँसमा ढुंगो भनेजस्तै पीडीए र पीटीए नभएका कारण जुन स्प्रीटले मोदी सरकारले नेपाललाई सहयोग गर्न खोजेको थियो, त्यो हामीले लिन सकेनौं । हाम्रो कमजोरी हो ।

पीडीए र पीटीए भएको भए एकखालको राजनीतिक सिनारियो डेभलप हुन्थ्यो । उहाँको आर्थिक सहयोगको घोषणाहरु अर्कै खालको हुन्थ्यो । तथापि हाम्रो सरकारले ४५ दिनभित्र त्यो काम गर्ने निर्णय गरेको छ । मलाई लाग्छ सार्क सम्मेलनमा आउँदा मोदी जनकपुर र लुम्बिनी जानुहुन्छ र त्यसबेलासम्म पीडीए र पीटीए भए नेपालको विकासप्रति उहाँको धारणा खुलेर आउँछ । अहिले नै पूरै यो भ्रमणको समीक्षा गर्ने बेला आएको छैन । सार्कसम्म कुर्नुपर्छ । हाइड्रोपावरमा नेपाल र भारतको सम्वन्ध कसरी अघि बढ्छ, यसले धेरै कुरा तय गर्छ ।

कति प्रतिशत सफल भयो भ्रमण ?

-होइन । अहिले यसरी हिसाब नगरौं । अहिले समग्रमा हेरौं । सरसर्ती हेर्दा सफल नै भयो । नेपाली जनतामा उत्साह छ । दलहरुमा एउटा सकारात्मक विश्वास देखिएको छ । बर्षौदेखि भारतको ब्यूरोक्रेसीले बिगार्दोरहेछ भन्ने थियो । त्यो अवधारणालाई चिर्ने प्रयास भएको छ । यसरी हेर्दा राजनीतिक रुपमा मोदीको भ्रमण सफल छ ।

तर, आर्थिक रुपमा धेरै काम हुन सकेन । एक विलियन डलर लोन ठिकै हो, सरकारको माग नै त्यति थियो । महाकालीमा पुलको कुरा आएको छ । तर, भौतिक पूर्वाधार विकासका लागि जुन विकासको प्याकेज, ६ सय मेगावाटको हाइड्रोपावरको गिफ्ट र अरुण तेस्रोमा ३३ प्रतिशतको अवधारणा आएको थियो, त्यो अघि बढ्न सकेन ।

किन घोषणा भएन गिफ्ट प्रोजक्ट ?

-यसमा हामीले केही गर्न सकेनौं । अपर कर्णलीको पीडीएसमेत बनाउन सकेनौं । जीएमआरका मान्छेहरु बसिरहेका छन् तर, अन्तिममा हामी अड्काउँछौं । पपराष्ट्रमन्त्रीले नै पीडीएमा हस्ताक्षर हुन्छ भनेर भन्नु भो भनेर तपाईहरुले नै समाचार लेख्नुभएको थियो ।

अन्त्यमा, मोदीको भ्रमणबाट हामीले सिक्नु पर्ने पाठ के हो ?

-हामी दलहरुले राष्ट्रहितमा काम गनुपर्छ । सबैको भावनालाई समेटेर संविधान बनाउनुपर्‍यो । देशको विकासमा लाग्नुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment