Comments Add Comment

ओलीलाई प्रधानमन्त्री बन्ने बाटो म देखाइदिन्छु

DR-Shekhar-koirala-final

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद डा. शेखर कोइरालासँग समसामयिक राजनीतिबारे कुरा गर्न अनलाइनखरको टोली उनको निवासमा पुग्दा कोइरालाले एमाले अध्यक्ष केपी ओलीप्रति कडा रोष व्यक्त गरे । ‘म केपी ओलीसँग क्षुब्ध भएको छु ।’ उनले भने ।

‘एमालेले सरकार छाडेर गए हुन्छ’ डा. कोइरालाले धम्की दिँदै भने- ‘केपी ओलीलाई म प्रधानमन्त्री हुने बाटो पनि बताइदिन्छु, पहिले सरकार ढाल्नुपर्‍यो, त्यसका लागि सरकार छाड्नुपर्‍यो ।’

आफूलाई लागेको कुरा स्पष्ट राख्ने  डा. कोइरालाले एमालेलाई मात्र होइन, आफ्नै पार्टीका नेता र मन्त्रीलाई पनि ठोक्न भ्याए । उनले प्रधानमन्त्री सुशील कोइरालालाई नसक्ने भए छाडेर अरुलाई जिम्मा दिन आग्रह गरे । प्रधानमन्त्री बिरामी भएको छ भन्दै देश अघि बढ्न नरोकिने उनले बताए ।

कांग्रेस केन्द्रीय समितिको बैठक नबोलाउनेमा सुशील कोइराला, शेरबहादुर देउवासहितका पदाधिकारी र मन्त्रीहरु लागिपरेको आरोप लगाउँदै डा. कोइरालाले बैठक बस्यो भने कांग्रेसका मन्त्रीलाई कठघरामा उभ्याउने चेतावनी दिए ।

सभासद डा. कोइरालासँग अनलाइनखबरका लागि अरुण बरालराजकुमार श्रेष्ठले गरेको कुराकानी :

कांग्रेसको नेतृत्वमा सरकार छ, तपाई कति सन्तुष्ट हुनुहुन्छ ?

Dr-Shekhar-koirala-1– सरकारको काम गर्ने शैली सुस्त देखिन्छ । यसका विभिन्न कारण छन् । एउटा प्रधानमन्त्री आफैं अस्वस्थ हुनुहुन्छ । कडै रोग लागेको छ उहाँलाई । दोस्रो कारण, मिलिजुली सरकार पनि हो । मिलिजुली सरकारमा यी समस्या पक्कै उत्पन्न हुन्छन् ।

नेपाली कांग्रेस र एमालेको बाध्यता पनि हो । किनभने संसदीय व्यवस्थामा दोस्रो ठूलो पार्टी सरकारमा आउँदैन या त पहिलो पार्टी प्रतिपक्षमा बस्छ । तर, हामी कहाँ विडम्बना भयो पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनायौं । केका लागि भन्दा संविधान बनाउन । अहिले पनि संविधान बनाउने क्रममा कांग्रेस र एमाले एक ढिक्कै छन् । कांग्रेसको भोलिको प्रतिस्पर्धी एमाले नै हो । त्यसकारण सरकार सञ्चालनमा अलिकति तिक्तता हुनु नौलो कुरा देख्दिँन ।

भनेपछि एमाले र कांग्रेसमा तिक्तता बढेकै रहेछ हैन ?

– बोलिरहनु भएको छ त । ओलीजीले निकम्मा प्रधानमन्त्री भनिदिनुभो । अरु मन्त्रीहरुले भनिरहेका छन् । यो त देखिसकियो । लुकाउनु पर्ने कुरा छैन ।

ओलीले प्रधानमन्त्रीलाई निकम्मा भन्नुभो । उहाँ एमाले अध्यक्ष भएपछि कांग्रेस-एमाले गठवन्धनमा प्रश्न उठ्न थालेको हो ?

– केपी ओलीजीले ५० वर्षदेखि राजनीति गर्नुभएको छ । उहाँले किन यसरी बोल्नुभो चर्चाको विषय मात्र होइन, अनुसन्धानको विषय हो ।  ठीक छ उहाँ पनि बिरामी हुनुहुन्छ । राजनीति गर्ने मान्छेलाई आकांक्षा हुन्छ । पार्टी अध्यक्ष हुँ, प्रधानमन्त्री हुनु स्वभाविक हो । तर, उहाँजस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार कुरा गर्नु भो । यसबाट म छुब्ध भएको छु । सरकारमा बस्ने अनि सरकारको नेतृत्व गरेको मानिसलाई निकम्मा भन्ने ? आँट छ भने सरकार छाडेर गए हुन्छ एमालेले । तर, मलाई लाग्दैन आँट छ । छोडेर गए हुन्छ ।

सरकारमा बस्ने अनि सरकारको नेतृत्व गरेको मानिसलाई निकम्मा भन्ने ? आँट छ भने सरकार छाडेर गए हुन्छ एमालेले । तर, मलाई लाग्दैन आँट छ । छोडेर गए हुन्छ ।

उहाँलाई प्रधानमन्त्री बन्ने इच्छा जागेको त हैन ?

– उहाँ प्रधानमन्त्री हुने बाटो नै म बताइदिन्छु । एउटा छिटोभन्दा छिटो संविधान बनाउनुस् । हाम्रो सातबुुँदेको एउटा धारामा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सबैको चुनाव हुने भन्ने छँदैछ ।

दोस्रो उपाय, यो सरकार ढाल्नुपर्‍यो । त्यसका लागि यो सरकार छाड्नुपर्‍यो । गठवन्धनबाट बाहिरिनुपर्‍यो र अर्को गठवन्धन बनाउनु पर्‍यो ।
त्यो अर्को गठबन्धन पनि म देखिरहेको छु । माओवादी वा बाबुरामजीको समूह हुनसक्छ, मधेस केन्दि्रत दलहरु हुन सक्छन् । हामी विपक्षमा बसौंला । तर, लोकतान्त्रिक संविधान आउँछ । संविधानको विषयमा कांग्रेस र एमालेको बीचमा कुनै विमति छैन । उहाँले हतार गरिरहनु भएको छ भने गरे हुन्छ ।

सरकारमा नयाँ गठवन्धनको सम्भावना देख्नुहुन्छ ?

– मैले भनेँ नि । चर्चाको विषय छ । अनुसन्धान गर्नुस् । राजनीतिमा कुनै पनि विषय असम्भव हुँदैन । सम्भव छ ।

तपाई राजनीतिज्ञ । तपाईको विश्लेषणले के भन्छ ? नयाँ गठवन्धन सम्भव छ ?

– मलाई बताउनुस् त ओलीले यो कारण यसो भन्नु भो भनेर । उपचार गर्न सिंगापुर जानु भो, फर्किएर एयरपोर्टमा भन्नुहुन्छ कि राष्ट्रपति अनुमोदन हुनुपर्छ । आउट अफ द वे । म ठीक भएर आएको छु, पार्टीलाई अघि बढाउँछु भन्नुपर्ने ठाउँमा राष्ट्रपतिको अनुमोदनको कुरा किन गर्नु भो ?

त्यो त सातबुँदेमा भएकै कुरा  हो नि ?

सातबुँदेमा छ । तर, त्यो गलत हो । संविधानको कुन धारामा टेकेर उहाँहरुले अनुमोदन गर्नु भो । आखिर प्रस्ताव लैजाँदा त भन्नुपर्‍यो नि यो धारा अनुसार भनेर । संविधानको ३६ (ग) ले के भन्छ भने राष्ट्रपतिको निर्वाचन संविधान बनेपछि मात्र हुन्छ । सर्वोच्चले त्यसलाई पुष्टि गरिसक्यो । तर, हाम्रा नेताहरु पनि भन्दैहुनुहुन्छ अनुमोदन गर्नुपर्छ भनेर ।

यस्ता गैरजिम्मेवार मन्त्रीहरु, पदाधिकारीहरु कांग्रेसमा पनि छन् । संविधानको कुरालाई गलत व्याख्या गरेर अघि जान मिल्दैन ।

उसोभए राष्ट्रपतिलाई अनुमोदन गर्नुपर्ने ओलीको यो माग पूरा हुनेवाला छैन ?

– कुन आधारमा गर्नुहुन्छ । बताउनुपर्‍यो नि त ।

Dr-Shekhar-koirala

सातबुँदे गलत भए त यो सरकारको जग नै गलत भएन र ?

– सरकार संसदको दुई तिहाइले हुन्छ भनेर हात उठाएर बनाएको हो । जुनसुकै जग होस् । त्यो आफ्ना ठाउँमा छ । राजनीतिक सम्झौता हो त्यो । राजनीतिमा सम्झौताहरु हुन्छन्, कति पालना हुन्छन् कति हुँदैन ।

सातबुँदे  गर्नेबेलामा मैले सुशीलदालाई सजग गरेको थिएँ, नगर्नुस् भनेर । तर, हाम्रा पदाधिकारी र मन्त्रीहरुले केही गर्दैन, केही फरक पर्दैन भने । नरहरिजीले मलाई साथ दिनुभएको थियो, आज कानुनमन्त्री हुनुहुन्छ, सोध्नुस् उहाँलाई ।

केपी ओलीले भनेजस्तै सुशील नेतृत्वको सरकार निकम्मा देखिएकै छ नि हैन र ? २६ सभासद मनोनयन, राजदूत नियुक्ति केही हुन सकेको छैन…

– होइन । २६ सभासदको मनोनयनमा कांग्रेस होइन, एमालेको गल्ती छ । किनभने प्रधानमन्त्री स्वाथ्य उपचारका लागि जानुभन्दा पहिल्यै कांग्रेसले आफ्ना ८ जना ९ जना कति दिने हो, दिन्छौं भन्दा उहाँहरुले आफ्नो महाधिवेशन देखाउनु भो र नगरौं भन्नुभो । भनेपछि कसको गल्ती हो ? कांग्रेसले त आज पनि मनोनित गर्न सक्छ ।

अन्य संवैधानिक नियुक्ति पनि त भएनन् नि ?

– हो, केही ढिला भएको छ । खाली एमालेको मात्र दोष हो भनेर म भनिरहेको छैन । राजदूत, संविधानिक नियुक्तिहरु छिटोभन्दा छिटो हुन जरुरी छ । तर, छिटो गर्ने नाममा जथाभावी गर्न भएन भन्ने मात्र हो । ढिला भएको छ । यसमा सरकारको बचाउ गर्ने ठाउँ छैन ।

राजनीति भनेको दयामायाले चल्दैन । उहाँले डोर्‍याएर हिँड्न सक्नुपर्‍यो । होइन भने कसैलाई जिम्मा दिनुपर्‍यो । प्रधानमन्त्रीको जिम्मा दिने भनेेको होइन ।

मन्त्रीहरुको कामलाई लिएर कांग्रेसभित्रै आलोचना र आक्रोश छ । जनताले पनि चुनावपछिको सरकार हो भन्ने महसुस नै गर्न सकेका छैनन् ….

– के छ भने मिलिजुली सरकार भएपछि अप्ठ्यारो छ भनेर मैले पहिले नै भनेँ । अब कांग्रेसभित्रको कुरा भनेको दुई कारण छन् । एउटा, प्रधानमन्त्रीको अवस्थता र व्यस्तता । सुरुमा व्यस्तता, पछि अस्वस्थताका कारणले निर्वाचनपछि केन्द्रीय समिति बस्न सकेको छैन । पटक-पटक भनिरहेका छौं, बैठक बसेर महाधिवेशनसहितका कुराको छिनोफानो छिटो गर्नु पर्नेछ ।

अहिले सरकार सञ्चालनमा तपाईको कुनै भूमिका छ कि छैन ?

– भूमिका  छ । म कांग्रेसको केन्द्रीय सदस्य हुँ र सभासद हुँ । मेरो बेग्लै भूमिका हुन्छ । सरकारले गरेका गलत र सही भूमिकालाई उजागर गर्ने मेरो अधिकार हो । सरकारले जे-जे गर्‍यो, मान्नुपर्छ भन्ने छैन । हो, कहिले मान्छु भने कांग्रेसको हृवीप लागेको दिन चुप लागेर बस्नुपर्छ । तर, हृवीप नलागेको दिन मैले आफ्नो कुरा राख्न पाउँछु संसद, केन्द्रीय समिति र सञ्चार माध्यमहरुमा ।

नेपाली कांग्रेसको आन्तरिक विषयमा कुरा गर्दा लामो समय बैठक नबस्नुको कारण के हो ?

यहाँ दुईवटा कुरा म देखिरहेछु । प्रधानमन्त्रीलाई एकछिन थाती राखौं । सभापतिजीलाई मैले पटक-पटक भनेको छु, कार्यवाहक सभापति दिएर अघि बढ्नुस्, सजिलो हुन्छ, पार्टी अघि बढ्छ । दोस्रो कुरा, पार्टी सञ्चालनमा अप्ठ्याराहरु आएका छन्, उहाँहरुले केन्द्रीय समिति बोलाउन सक्नु भएको छैन । मलाई डर कहाँ छ भने अहिले पदाधिकारीहरुले गरेको निर्णय केन्द्रीय समितिमा इण्डोर्स नै नगर्ने ? जे मन लाग्यो त्यही गर्ने ?

तेस्रो, किन यो गर्दै हुनुहुन्छ भन्ने पनि म बताउँछु तपाईहरुलाई । ६० र ४० को भागवण्डा छ । सुशील कोइरालासँग ६०  र शेरबहादुरजीलाई ४० प्रतिशत । पदाधिकारीमा सुशील र शेरबहादुरजी हुनुहुन्छ र ६०/४० नै लिएर बस्नुभएको छ । त्यसकारण उहाँहरुले इन्डोर्स गरिरहनुभएको छ । उहाँहरुलाई के इम्प्रेसन परेको छ भने हामीहरुले जे भन्छौं, त्यो केन्द्रीय समितिले मानिहाल्छ । त्यो हुनेवाला छैन । कार्यक्रम तथा नीति आयो, हामीलाई खोजखबर छैन ।

एकजना पदाधिकारीले बैशाखमा महाधिवेशन गर्ने भन्नुभो । उहाँलाई कसले अधिकार दियो त्यो भन्ने ? कहाँबाट आयो बैशाखको कुरा । यस्ता धेरै छन् । हो, उहाँहरुले भन्न सक्नुहुन्छ तपाईहरुसँग छलफल गर्न जरुरत छैन । तर, राख्नु त पर्‍यो । महाधिवेशनजस्तो कुरालाई उहाँले ख्यालठट्टा भन्नुभएको छ ? भ्रातृ संस्थाहरु लथालिंग भएर बसेका छन् । पदाधिकारीहरुको गल्तीले होइन । यो सबै कुरालाई केन्द्रीय समितिमा ल्याएर छलफल गर्नुपर्‍यो ।

उसोभए बैठक नबोलाइनुमा सुशील र शेरबहादुर दुबै पक्ष दोषी रहेछन् हैन ?

– दुबै एउटै नाउमा छन् । दुबैले ‘इन्जोय’ गरिरहेका छन् । किनभने शेरबहादुरजीलाई पनि केन्द्रीय समिति फेस गर्नु छैन । सुशीलजीलाई पनि फेस गर्नु छैन । जब फेस नै गर्नु छैन भने कार्यसम्पादन समिति बनाए भइगयो नि ।

सभापति अस्वस्थ हुनुहुन्छ । उपचारका लागि फेरि न्यूयोर्क जाँदै हुनुहुन्छ । अब छिट्टै बैठक गर्ने कि फर्केपछि गर्ने ?

– प्रधानमन्त्री राष्ट्रसंघको सभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्छ । उपचार पनि गर्नुहुन्छ । यसलाई अन्यथा मान्नुहुन्न । १० दिन पहिले जानु भो त के भो ? १० दिन छिटो आउनुहुन्छ । कुरा उही हो ।

जहाँसम्म बैठकको कुरा छ, बैठक राख्न सक्नु हुन्न भने जिम्मा कसैलाई दिए भइगो नि त ।

यसमा पनि त विवाद होला, कार्यवाहक कसलाई दिने ? रामचन्द्रलाई कि शेरबहादुरलाई ?

– पहिलो कुरा स्पष्ट हुनुपर्‍यो कि कांग्रेसको विधानमा के छ ? कांग्रेसको विधानमा उपसभापति भन्ने छ । शेरबहादुरजीलाई दिँदा पनि हुन्छ तर, एकचोटि केन्द्रीय समितिको बैठक गरेर निर्णय गरे भइगयो । यो किन लडाइँ गरेको ?

सुशीललाई तपाईहरु भन्नुहुन्न यो कुरा ?

– नभनेको हो र ? म त प्रधानमन्त्री भएदेखि यो कुरा भनिरहेको छु । मसित दिक्क पनि मान्नु भो प्रधानमन्त्रीले । किन बोलेको यो कुरा भनेर ।

भन्नै अप्ठयारो छ नि होइन ? अस्वस्थ हुनुहुन्छ, माया लाग्दो हो ….

– होइन राजनीति भनेको दयामायाले चल्दैन । उहाँले डोर्‍याएर हिँड्न सक्नुपर्‍यो । होइन भने कसैलाई जिम्मा दिनुपर्‍यो । प्रधानमन्त्रीको जिम्मा दिने भनेेको होइन ।

नसक्ने भएपछि प्रधानमन्त्रीको पनि त प्रश्न उठ्ला नि ?

– उहाँले कति सक्नुहुन्छ, गर्नुपर्‍यो । बिरामी त धेरै हुन्छन् । राष्ट्रप्रमुख, सरकार प्रमुख विश्वमा बिरामी नै हुन्नन् ? हुन्छन् । यहाँ त सिकिस्त रोग भो, छोडिदिनुपर्‍यो भन्ने पनि आउँछ । त्यो पनि होइन । त्यो पनि गलत हो । तर, राज्य त चल्नुपर्‍यो नि । राज्यले त प्रधानमन्त्री बिरामी हुनुहुन्छ भनेर त बुझ्दैन नि । त्यसकारण कुनै मेकानिज्म डेभलोप गर्नुपर्‍यो । तर, उहाँहरु गरिरहनुभएको छैन । कसले गरेको छैन भन्दा म फेरि पदाधिकारीमै आउँछु । उहाँहरुको इन्ट्रेष्ट होला गर्न नदिने ।
मेरो के भनाइ भने देश संक्रमणकालमा छ भनेर हामी दिनदिनै फलाकिरहेका छौं । तर, राज्य त अघि बढ्छ । सुशीलदा बिरामी हुनुहुन्छ तर, राज्य दिनदिनै दिनै अघि बढ्छ । मेकानिज्म बनाउनुपर्‍यो ।

अर्को कुरा, पार्टीको अधिवेशन भदौ अन्त्यसम्मा गरिसक्नुपर्छ । अब सकिँदैन भन्ने घामझंै छर्लङ्ग छ । सुशीलदा नभएका बेलामा पनि केन्द्रीय समितिको बैठक बोलाएर पर सार्न सक्थ्यौं । गरेनौं । सुशीलदा आउनुभो । सभापति उहाँ नै हो । यात उहाँले केन्द्रीय समिति बोलाएर छिटोभन्दा छिटो गर्नुपर्‍यो, भदौ त आयो त । सार्नका लागि मात्र पनि केन्द्रीय समिति बस्नुपर्‍यो हजुर ।

सरकार सञ्चालनमा पनि सुशीललाई गाह्रो भएको हो कि ? यो अवस्थामा सरकारको जिम्मेवारी अरुलाई दिँदा हुँदैन ?

Dr-Shekhar-koirala-2– यसमा दुई/तीनवटा कुरा छन् । सरकार सञ्चालनमा पनि उहाँलाई सक्छु भन्ने लागेको हो । अप्ठ्यारो परेको छ भने मिलिजुली सरकार हो । तर, कांग्रेसका १० जना मन्त्रीहरु छन् । मलाई कता-कता लागिरहेको छ कि उहाँहरु आफ्नै हिसाबले काम गरिरहनुभएको छ । कुनै सरसल्लाह गर्नुभएको देखिँदैन । उनीहरुले टोटल सपोर्ट गर्नुपर्‍यो । आफ्नो मात्र मन्त्रालय हेरेर भएन नि । मन्त्रीहरु भनेको प्रधानमन्त्रीको सल्लाहकार हो ।

एमालेले दुःख दियो होला, त्यो म बुझ्नसक्छु । दोस्रो ठूलो दल हो, नेतृत्व लिएर जान्छु भन्ने सोच बनाएको होला । त्यसमा शंका भएन । तर, एमालेका अध्यक्षले प्रधानमन्त्री निकम्मा भन्दा हाम्रा मन्त्रीहरु बोल्न किन सक्नुहुन्न ? मुखमा ताला लगाएर किन बसेको ? के गर्नुभएको हो उहाँहरुले ? यसको अर्थ मन्त्रीहरुले प्रधानमन्त्रीलाई सपोर्ट गरेको छैन । हामीले बोल्नुपर्ने होइन नि । सरकारमा बसेका कांग्रेसका मन्त्रीहरु के गरेर बसेका छन् ?

त्यसो हो भने केन्द्रीय समिति बैठक बोलाएर मन्त्रीहरुलाई सच्चिन्न भन्ने या नयाँ टिम पठाउने  निर्णय हुन सक्छ ?

ए बाबा, मन्त्रीहरुले आफ्नो हिसाबले काम गर्न पाइरहेका छन् । उनीहरु पनि चाहँदैनन् केन्द्रीय समिति बसोस् भनेर । चाहने को भने हामी ।  किनभने बैठक बस्यो भने मन्त्रीहरुलाई त हामीले कठघरामा उभ्याउँछौं । यो कुरा आउँछ केन्द्रीय समितिमा । कांग्रेसका मन्त्रीहरु आफ्नो विधामा दक्ष हुनुहुन्छ, खारिएको हुनुहुन्छ तर, मन्त्रिपरिषद् सामुहिक हिसाबले चल्नुपर्छ, जुन भएको छैन ।

यो आइसब्रेक कसरी हुन्छ त ? तपाईहरु भन्दै जानुहुन्छ, बैठक बस्दै बस्दैन…

– के हुन्छ भने भन्दै भन्दै गएर करेक्सन हुने हो । कुनै न कुनै दिन त समय आउँछ । राजनीतिमा हतार गर्न हुँदैन । यो कुरा गिरिजाबाबुले सम्झाउनुभएको हो । राजनीतिमा आफ्ना कुरा छोड्नुहुँदैन ।

त्यही भएर कांग्रेसमा शेखर कोइरालाहरुलाई तेस्रो धार भनेको हो ?

– यो धार सार होइन । म राजनीतिमा विश्वास गर्छु । मलाई झुट बोल्न आउँदैन । सुशीलदा प्रधानमन्त्री भएपछि मैले नै बोलेको छु, त्यसमा अडिग छु । खिलराजजीको इश्युमा म अडिएर बसेँ, आज पनि छु । त्यही कारणले आज न्यायपालिका कमजोर भएको देखिराखेको छु । कुनै न कुनै दिन त भन्लान् नि मानिसले डा. शेखरले भनेको सही रहेछ । २५ वर्ष, ३० वर्ष । राजनीति भनेको सय वर्षका लागि हो ।

सभासद भएपछि जिल्ला जानुभएको छ ? जनता के भन्दैछन् ?

– म जिल्ला महिनामा एकपटक गएकै छु । जनताले खोजेको र केन्द्रमा हामीले खोजेको एकदम फरक छ । संविधान खोजेको छैन म भन्दिँन, तर उनीहरुले खोजेका छन्, कुलो, पानी । उनीहरुले खोजेका छन् स्वास्थ्य, रोजगारी । उनीहरुको भिन्नै सोचाइ छ । सरकारका मानिस, इन्टिलेक्चुलको संविधान भन्ने छ । यो फरक मैले देखेको छु ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment