Comments Add Comment

केपी ओलीका चुनौती : चरीदेखि राष्ट्रपतिसम्म

KP oli

नवौं महाधिवेशनबाट पार्टीको लगाम आफ्नो पकडमा लिएका एमाले अध्यक्ष केपी ओलीको टेबलमा दिनेश अधिकारी चरीदेखि राष्ट्रपति डा. रामवरण यादवसम्मका एजेन्डाहरुको चाम छ । आजदेखि बस्ने दोस्रो केन्द्रीय कमिटीको बैठक टिचिङ अस्पतालमा थन्किएको चरीको शवबाट सुरु गर्नुपर्ने बाध्यतामा छन् एमाले अध्यक्ष ओली ।
केन्द्रीय कमिटीको बैठक र व्यवस्थापिका संसदको बैठक मंगलबार एकै दिन परेको छ । धादिङका सभासद गुरु बुर्लाकोटी र राजेन्द्र पाण्डेलगायतले चरीका विषयमा संसदीय छानविन समिति गठन नभएसम्म संसदै चल्न नदिने हाँक दिइसकेका छन् । एमालेको संसदीय दलको नेता पनि केपी शर्मा ओली नै हुन् ।
वामदेव र चरी प्रकरण
गृहमन्त्री वामदेव गौतम एमालेका उपाध्यक्षसमेत हुन् । उनले संसदमा जवाफ दिने क्रममा भनिसकेका छन् कि चरीको मृत्यु प्रहरीको इन्काउन्टरमा भएको हो ।
गृहमन्त्रीले सम्मानित संसदमा रेकर्ड गरिसकेको यो भनालाई बल्खु बैठकले परिवर्तन गर्न सक्ला ? केन्द्रीय कमिटीको बैठकले चरीको मृत्यु इन्काउन्टरबाट भएको हैन भन्ने निश्कर्ष निकाल्यो भने वामदेव गौतमले नोट अफ डिसेन्ट लेख्ने स्थिति आउँछ या नैतिकताका आधारमा गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने हुन सक्छ ।
पार्टी अध्यक्ष केपी ओलीले चरीको षडयन्त्रमूलक हत्या नै भएको दाबी गरेका छन् भने उपाध्यक्ष गौतमले उनी इन्काउन्टरमा मारिएको भनेका छन् । ओली आफैंले बनाएका उपाध्यक्ष हुन् गौतम । यो स्थितिमा एमाले अध्यक्षले कसरी चरी प्रकरणलाई समाधान गर्लान् ? विगतमा जस्तै तुक्का भनेर उम्कन सक्ने अवस्थामा केपी ओली छैनन् ।
राष्ट्रपति प्रकरणमा ओलीले के गर्लान् ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति डा. रामवरण यादवलाई संसदले अनुमोदन गर्नुपर्ने अडान राख्दै आएका छन् । यही विषयलाई लिएर कांग्रेस र एमालेवीच तिक्तता बढिसकेको छ ।
तर, निकै अगाडि बढिसकेका ओलीका लागि यो विषयको बैठान त्यति सजिलो छैन । नेपाली कांग्रेस कुनै पनि हालतमा राष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउने पक्षमा छैनन् । यही स्थिति रही रहे ओलीले हाँकेको एमाले सामु दुईवटा विकल्प रहनेछन्, या त यो अडानबाट पछि फर्कने, या सरकारबाट बाहिरिने ।
कांग्रेस नेता डा. शेखर कोइरालाले ओलीलाई चुनौती दिइसकेका छन् कि राष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउने सातबुँदे सहमति गैरसंवैधानिक छ, चित्त बुझ्दैन भने सरकार छाडेर गए हुन्छ । (हेर्नुहोस् डा.कोइरालाको भनाइ)
अब एमाले अध्यक्ष ओलीले कसरी राष्ट्रपति प्रकरण टुङ्याउलान् ? धेरैको ध्यान एमालेको केन्द्रीय कमिटीको बैठकतर्फ केन्दि्रत भएको छ । केपी ओलीतिर केन्द्रित भएको छ ।
पाटीभित्र मिलाउनुपर्ने अरु मुद्दाहरु
चरी र राष्ट्रपतिको प्रकरणसँगै २६ सभासदको मनोनयन पनि एमालेकै कारण रोकिएको कांग्रेसको आरोप छ । एमाले बैठकले यसलाई पनि चाँडो बाटो खोल्नुपर्ने देखिन्छ । यो विषयका अतिरिक्त पार्टीभित्रका आन्तरिक समस्याहरु अध्यक्ष ओलीको टेबलमा अग्लो खात लागिरहेका छन् ।
यो पनि पढ्नुहोस्
को-को बन्दैछन् एमालेको स्थायी र पोलिटब्यूरो सदस्य ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment