Comments Add Comment

पुस्तक अंश-हेडसरकी छोरी

बच्चु विक

सदीक्षासँग म धेरै बोल्न सक्दिँन । ऊ मलाई सधैँ जित्छे, बोल्ने कुरामा । मलाई वादविवाद प्रतियोगितामा जहिले पनि हराउँछे । उसले वादविवाद प्रतियोगितामा भाग लिएदेखि म कहिल्यै पहिलो भएको छैन । दोस्रो, तेस्रो हुँदै पछारिन थालेको छु । उसलाई देख्नेबित्तिकै हारिहाल्छु भन्ने डर लाग्न थालिहाल्छ । मसँग भएको कुरा पनि त्यसै हराउँछन्, बोल्नै नपाई भित्रभित्रै बालुवाको पानी झैँ । कुनै कुरामा दोधारमा परें भने बोली नै फुट्दैन । अझ उसको अगाडि त ओठ मात्रै चल्छन् । भकभकाउँछु ।
fakir९ कक्षामा पढ्दा ताकाको कुरा । मङ्सिरको पहिलो साता वार्षिक परीक्षा हुँदै थियो । दशैँ-तिहारको विदापछि स्कूल खुलेको थियो । कात्तिकको दोस्रो साता होला ।
विद्यालयको मुखपत्र- ‘रौलेश्वर दर्पण’को विमोचन कार्यक्रम थियो । त्यसैले हामीले दोस्रो साताभित्रै छापाखानामा दिइसक्नुपर्ने थियो । सदीक्षा, गोपाल, माइक र मेरो जिम्मेवारी थियो, मुखपत्रको ।
हामीले छुट्याएका थियौँ । कथाहरू सदिक्षाको जिम्मा । गीत, गजल र मुक्तक गोपालको जिम्मा भने माड्सापहरूका लेख, विद्यार्थीका निबन्ध माइकको भागमा परेका थिए । मेरा भागमा कविता, चुटि्कला र खर्‍याकखुत्रुक ।
स्कूलको कम्प्युटर सदीक्षाले चलाउन पाउँथी । उसको घरमा पनि कम्प्युटर थियो । आठ कक्षामा पढ्दा दाइसँगै भारतको देहरादुन गएर कम्प्युटर सिकेकी थिई । मुखपत्रको सेटिङ गर्ने काम उसकै थियो ।
सोमबारको दिन हो, मेरो पालो । आइतबार सदिक्षाले आफ्नो सबै काम भ्याइसकेकी थिई । मङ्गलबार गोपाल र बुधबार माइकलाई छ्ट्याएका थियौँ । बिहीबार सरसर्ती सबैले हेरेर शुक्रबार छाप्नलाई गोठालापानी लग्दै थिए, टुप्पी माड्साप । बैतडीको सदरमुकाम गोठालापानीमा मात्रै छापाखाना थियो । हाम्रो स्कूलका सबै सर-सामान त्यही छापिन्थे ।
म छेउमा बसिरहेको थिएँ । सदीक्षा कविता सम्पादन गर्दै थिई कम्प्युटरमा । प्याट्ट-प्याट्ट दश औँला चलाउँथी, केही हटाउँथी, केही थप्थी ।
मलाई हेरिराख्न रमाइलो लागेको थियो । मैले पनि कम्प्युटर चलाउन कहिले सिकौँला भन्ने लाग्दै थियो । उसले किबोर्डमा औँला चलाएको देख्दा म मात्रै होइन सबै चकित पर्थे । हेडमाड्सापसमेत मुसुमुसु हाँस्नुहुन्थ्यो । उहाँलाई पनि कम्प्युटर चलाउन आउँदैन्थ्यो । स्कूलको कम्प्युटर चलाउने भनेकै सदिक्षा नै हो, अलिअलि टुप्पी माड्साप चलाउनुहुन्छ ।
लाग्छ, कम्प्युटर भनेको मन्दिरमा राखेको भगवान्को मूर्ति हो, सदिक्षा र टुप्पीमाड्साप पूजारी हुन्, अरू हामी भक्त । हाम्रो काम टाढैबाट ढोग्ने मात्रै हो, भगवान्रूपी कम्प्युटरलाई ।

‘ए, भकभक !’ किबोर्ड चलाउँदै सदीक्षा बोली ।
ऊ मलाई जिस्क्याउन, गिज्याउन यस्तै भन्छे । उसको सामुन्ने मेरो बोली नै अडि्कन्छ । मैले पुलुक्क उसको मुहारमा हेरेँ ।
‘यो कसको कविता हो ?’ कम्प्युटरमा देखाउँदै माड्सापले झैँ उसले सोधी । मेरो हातमा भएका तीस-चालीस पाना पल्टाएँ । केहीबेरपछि एउटा पाना छानेँ ।
‘सम्झनाको कविता’ मैले दुई शब्द मात्रै बोलेँ ।
‘मिलाउँछु पढ’ उसले आदेश दिई ।
नाइनास्ती गर्न पनि मिलेन । कम्प्युटर जान्ने ऊ मात्रै थिई । उसले जे भने पनि गर्नु नै थियो । झन मलाई त सताउँथी, माया गरेर हो कि रीस गरेर हो ? भगवान् जानून् । कहिलेकाहीँ म आफैँ दोधारमा पर्थें । छुट्याउनै सक्दिन्थें, सदीक्षा मलाई माया गर्छे कि सताउँछे ।
कहिले त उसको माया पनि बगरेको जस्तै लाग्थ्यो । खसी काट्नुअघि दानापानी दिएजस्तो । ऊ पनि त्यस्तै गर्थी, माया गरेजस्तो गरेर सजायँ दिन्थी । कहिलेकाहीँ औधि माया पनि गर्थी । तिहारमा पकाएका एक थैलो बटुक स्कूलमै ल्याएकी थिई ।
मास भिजाएर बनाएको लेदोमा अलिकति नून खुर्सानी मिसाउँदै घिऊमा तारेर बनाएका बटुक असाध्यै मीठा हुन्छन् । उसले घिउमै तारेर बनाएकी रहिछ । उसकी साथी सम्झनालाई पनि दिइन् । मलाई मात्र खुवाएकी थिई । इन्टरबलमा लुकीलुकी बटुक खाँदा कस्तो आनन्द आएको थियो । बाँकी रहेका बटुक स्कूल छुट्टी हुँदा पनि खाएका थियौँ, सदीक्षा र मैले । उसकी भाउजूले पकाएको सेल कति मीठो थियो, माहुरीको चाकाजस्तो ।
‘हेर हेर ! दाँत कीराले खाएको,’ इन्टरभलमा म एक्लै कक्षा कोठामा हुँदा उसले नजिकै आएर भनी- ‘खैनी पनि खाने रैछ ।’
‘खान्नँ, मैले कहिल्यै खैनी खाएको छैन,’ स्पष्टीकरण दिएँ ।
‘तिम्रो मुखमा खैनी छ’ उसले जिद्धी गरी ।
‘छैन, खादै खान्नँ’ म पनि अडिग रहेँ ।
‘खै, मुख देखाऊ त । आँ गर त’ उसले आदेश दिई ।
‘आँ’ मैले मुख खोलेँ ।
बटुक मुखमा कोचिदिई । बूढी र चोर अाैंलाले मेरा दुवै ओठ समाती । मैले उसको अनुहारमा हेरिरहेेँ एकनासले । दुवैका आँखा जुधे । हेराहेर गरिरह्यौँ । उसैले आँखा झिम्काई, म खिस्स हाँसेँ । दाया हातले प्याट्ट गालामा हिर्काइ र कोठाबाट बाहिर निस्की । उसले जस्तै आँखा झिम्काउन खोजेँ । सकिएन, दुवै आँखा बन्द भए । आफैँसँग लजाएँ ।
तिहारको भोलिपल्ट बटुक खुवाउनलाई उसले यस्तै गरेकी थिई । यो उसको मलाई बटुक खुवाउने तरिका थियो । उसलाई थाहा थियो, म बटुक असाध्यै मन पराउँछु ।

आमा जहिले पनि बटुक नै पकाउनुहुन्थ्यो । चाडपर्व आयो कि हाम्रो घरमा पाक्ने भनेकै बटुक हुन्थ्यो । मासको लेदो, कराईमा उम्लेको घिउमा हाल्दा कस्तो आनन्द आउँथ्यो । झ्वाइँ हुन्थ्यो । आमा ओल्टाउनुहुन्थ्यो, पल्टाउनुहुन्थ्यो पन्युँले ।
खैरोखैरो खाऊँ खाऊँ लाग्ने । कचौरामा राख्नेबित्तिकै ट्याप्प समात्थेँ, हात पोलिन्थ्यो, हुर्र फाल्थेँ । आमा खुब हाँस्नुहुन्थ्यो । म रुन्थेँ ।
मैले फालेको बटुक, आमा आफ्नो मुखमा हाल्नुहुन्थ्यो । म झन रुन्थेँ । केहीबेर चपाएर मेरो मुखमा हाल्नुहुन्थ्यो, रुवाइ त्यसै रोकिन्थ्यो । आमाले चपाएर दिएको बटुक झन मीठो हुन्थ्यो । आमाले झैँ सदिक्षा पनि चाडपर्व आयो कि मेरा लागि बटुक लिएर आउँथी स्कूलमै । कहिलेकाहीँ ऊ पनि बटुक चपाएर मेरो मुखमा हालिदिन्थी ।- ‘जुठो खायो’ भन्थी ।
म थुक्दिनथेँ, निलिहाल्थेँ । त्यतिबेला सदीक्षा पनि आमाजस्तै लाग्थी मायालु ।
ऊ आमाले झैँँ माया पनि खुब गर्थी । तर, उसले माया गरेको हो कि सजायँ दिनुअघि चारो फालेको कहिल्यै अड्कल गर्न सकिनँ । कतिपटक सोचेँ । अह ! छुट्याउनै सकिनँ । सदीक्षा माया गर्छे कि सजायँ दिन्छे ? सजायँ दिन माया गर्छे कि माया गर्न सजायँ दिन्छे, मेसै पाउँदिनँ ।

सम्झनाको कवितामा घोप्टिएँ । पढ्न सकिनँ ।
‘भकभक, पढ्’ उसले अर्को आदेश दिई ।
सम्झना जहिले पनि यस्तै लेख्छे । त्यसका कविता चाहिने नचाहिने लेखेका मात्रै हुन्छन् । नहुने नहुने कुरा लेख्छे यो मोरी ।
कविताको शीर्षक थियो-जूनतारा ।
तिमी जून म तारा
एक-अर्काका सहारा ।
तिमी फूल म काँडा
दिनदिनै झगडा ।
तिमी दिन म रात
गोधुलीको साथ ।
तिमी धर्ती म आकाश
माया प्रेम बकबास ।

सदीक्षाले वायाँ कुहिनोले छिर्के हानी । पढ्दापढ्दै रोकिएँ । पुलुक्क ऊतिर हेरेँ । उसको ध्यान कम्प्युटरमै थियो । अलमल्ल परेँ । कतै सम्झेको त होइन । उसले कुहिनोले घोचेकोजस्तो मैले कल्पना गरेको त होइन ? रनभुल्लमा परेँ । आँखा मिचेँ ।
त्यतिञ्जेलसम्म सदीक्षाको ध्यान कम्प्युटरतिरै थियो । फेरि सम्झनाको कवितामा घोप्टिएँ । एक्कासी सदीक्षाले दायाँ हातले मेरो वायाँ काँधमा समाती । मलाई हल्लाउँदै हाँसी । म ट्वाल्ल परेर हेरिरहेँ ।
‘भकभक, बाँकी कविता पढ्’ उसले फेरि निर्देशन दिई ।
ऊ सम्पादक हो- ‘रौलेश्वर दर्पण’ स्मारिकाको । कक्षामा पहिलो हुन्छे । उसलाई माड्सापहरूले पनि नेता बनाउँछन् । कक्षामा नेता ऊ नै हुन्छे, शुक्रबारीय कार्यक्रमका लागि गठन हुने समूहहरूमा संयोजक ऊ नै चुनिन्छे । उसले अगाडि आएपछि कोही विरोध गर्दैनन् । कक्षा पहिलो हुनुको फाइदा यही हो ।
पढ्ने, नपढ्ने, राम्रा, नराम्रा सबै विद्यार्थी उसले भनेको मान्छन् । उसका बाबा हेडमाड्साप हुन्, हाम्रो स्कूलका । त्यसैले पनि सबै उसले भनेको मान्छन् होला । हुन त सबै विद्यार्थीलाई थाहा पनि छैन होला, उसका बाबा हेडमाड्साप हुन भनेर । मलाई पो बताएकी छ र जानेको छु । अरूलाई त कहाँ बताउनु ? माड्सापहरूलाई त थाहा हुने नै भयो । कुनै कुनै विद्यार्थीलाई त थाहा होला उनी हेडमाड्सापकी छोरी हुन् भनेर ।
हेडमाड्सापले पनि सदीक्षा मेरी छोरी हो भनेर कहिल्यै भनेका छैनन् । कक्षामा पनि छोरी हो भन्ने व्यवहार गर्दैनन् । सदीक्षालाई पिट्ने हेडमाड्साप त हुन् नि एकजना ।
हिजो एक थप्पड दिनुभएको थियो हेडमाड्सापले । म खुब हाँसेको थिएँ । ऊ पनि त अरूलाई कुट्छे । बाबाबाटै सिकेकी होली । पढाइमा पनि उत्कृष्ट छे, खेलकुद प्रतियोगिता छोड्दै छोड्दिन । स्कूलका अतिरिक्त क्रियाकलापमा त उसलाई कसले हराउनु ? मोटीघाटी पनि छे । झगडा गर्न पनि पछि हट्दिन । जति रिसाए पनि गाली भने गर्दिन, बरु पिटिहाल्छे ।
अस्ति भलिबल खेल्न आएका केटाले जिस्क्याउँदा कम रिसाएकी थिई र ? एक पञ्च दिएकी थिई मुखमा । बिचरा ! रगत आएको थियो, खलखली नाकमुखबाट ।

‘भकभक, के सोचेको पढ्’ म चुपचाप लागेको देखेर बोली ।
‘पढ्दिनँ’ मैले भने ।
‘कसले पढ्छ, भकभक ?’ ऊ जोडले कराई ।
‘मैले’ रिसाउँछे कि भनेर बिस्तारै बोलेँ- ‘मै पढ्छु ।’
‘सुरुबाटै पढ ।’ उसको मुखबाट निस्किरह्यो- ‘भकभक, भकभक ।’
जुनतारा…
तिमी जून म तारा
एक-अर्काका सहारा ।
तिमी फूल म काँडा
दिनदिनै झगडा ।
तिमी दिन म रात
गोधूलीको साथ ।
तिमी धर्ती म आकाश
माया प्रेम बकबास ।
नबुझ्नेलाई यस्तै हो
कागलाई बेल पाकेजस्तै हो ।
मलाई भने तिम्रो माया
मुटुको धड्कनजस्तै हो ।
आँखाको नानी
मरुभूमिको पानी
नमरुञ्जेले रहिरहने बानी
तिम्रो माया
मेरो जिन्दगानी ।

यति पढिसक्दा सदीक्षाले मेरो दाया कुममा हात अड्याई । फिस्स हाँस्दै मेरो दाया गालामा म्वाइ खाई । सपनामा राम्रा राम्रा केटीहरूले म्वाइ खाए पनि विपनामा भने अहिलेसम्म कुनै केटीले म्वाइ खाएकी थिइन ।
पहिलोपटक उसले म्वाइ खाएपछि झट्का लाग्यो । सपना हो कि जस्तो भयो । हेर्‍याहेर्‍यै भएँ । ऊ खित्खिताई । उसका ओठ मेरो गालामै टाँसिएजस्तो लाग्यो चुम्बक झैँ । आफ्नै गाला छामेँ । केही थिएन, निन्याउरो मुहार लाएर फिस्स हाँसिदिएँ ।
उसको दायाँ हातको चोर औँला उसकै वायाँ गालामा पुग्यो । माउस थिचेझैँं एक, दुई, तीन, चारपटक आफ्नै गालामा थिची । चोर औँलाले छिटछिटो । आँखाले इशारा गरी । मैले पनि आँखा बुझेर उसको वायाँ गालामा म्वाइ खाइदिएँ हत्तपत्त ।
‘भकभक, यसरी होइन’ ऊ मतिर हेरेर बोली- ‘म्वाइ खान पनि आउँदैन ।’
म चुपचाप लागेँ । थरथर काँप्न थालेँ । के हुने हो ? कसो हुने हो ? मनमा डर पस्यो ।
कतै माड्सापले देखे भने ? विद्यार्थीले देखे भने ?
हिउँदे चीसो सुरु भएको थिएन । आकाशमा बादल पनि थिएन । चरक्क घाम चर्किएको थियो । तैपनि मेरा हातखुट्टा थरथरी कापेँ । मुटुको ढुकढुकी बढ्यो । उसलाई हेरिरहें ।
उसले कम्प्युटरको कुर्सी वायाँतिर घुमाई । दुबै हातले मेरा दुबै गाला च्याप्प समाती । उसका औँलाका टुप्पा मेरा दुवै कानको छेउसम्म पुगे । दुबै बूढी औँला नाक र आँखाको बीचमा अडिए । एउटा घुँडा मेरो तिघ्रामा टेकी । मेरा ओठमा जोरले म्वाइ खाइ, सदीक्षाले । छोड्दै छोडिन । सासै निस्केलाजस्तो भयो । मैले पनि आँखा बन्द गरिदिएँ ।
‘तिम्रा कविता मात्रै होइन, किस पनि इडिट गर्छु’ वायाँ हातले मेरो दायाँ कुम हल्लाउँदै सदीक्षा बोली- ‘आई एम युअर इडिटर, यु नो ? भकभक, युअर इडिटर ।’
(बिएन पुस्तक संसारबाट भदौ पहिलो साता प्रकाशन हुने विकको उपन्यास फकिरबाट ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment