Comments Add Comment

वैद्य गाउँ पस्न नमानेपछि विप्लवसँग मनमुटाव

Baidhya Vs Biplab_650

१ भदौ, काठमाडौं । प्रचण्ड र बाबुरामलाई नवसंशोधनवादी भन्दै नेकपा-माओवादी पुनर्गठन गरेका अध्यक्ष मोहन वैद्य र र सचिव नेत्रविक्रम चन्द विप्लववीच यतिबेला सम्बन्ध चिसिएको छ ।

वैद्यलाई काठमाडौंबाट दुरवर्ती गाउँमा लगेर राख्ने आफ्नो योजना सफल नभएपछि विप्लव चाँडै महाधिवेशन गरेर आफ्नो बाटो लाग्ने योजनामा छन् भने वैद्यचाँहि प्रचण्डसँग पार्टी एकता गरेर आराम गर्ने पक्षमा छन् ।

‘काठमाडौं छाडेर नेताहरु गाउँमा जानुपर्छ र उतै बसेर राजनीति गर्नुपर्छ भन्ने विप्लवजीको जोड हो, तर वैद्यजीले यसलाई मान्नुभएन,’ माओवादी स्रोतले भन्छ, ‘उहाँ रुकुम रोल्पामा जान नसके पनि दाङ गरेर बसिदिनुभए हुन्थ्यो, उहाँलाई गाउँमा जस्तोसुकै सुरक्षा दिने विप्लवले बताउँदा पनि मान्नुभएन ।’

वैद्य र पार्टीका अन्य नेताहरु काठमाडौं केन्द्रित भएको र संविधानसभा वरिपरि फन्को मार्ने कार्यनीति अपनाएको विप्लवको गुनासो छ । विप्लवले गत असारमा केन्द्रीय समितिको बैठकमा पेश गरेको दस्तावेजमै स्पष्टसँग लेखिसकेका छन्-‘पार्टीलाई भूमिगत ढाँचासहित स्थानान्तरण गर्दै भूमिगत कार्यशैलीमा लैजानुपर्छ । नेतृत्वको मुख्य पङ्ती राजधानीबाट बाहिर सर्नुपर्छ ।’

के चाहन्छन् विप्लव ?

विप्लवलाई नजिकबाट जान्नेहरुका अनुसार उनी असाध्यै महत्वाकांक्षी राजनीतिज्ञ हुन् । देशमा एकपटक सशस्त्र क्रान्ति गर्नुपर्छ र त्यसको नेतृत्व नेकपा माओवादीले गर्नुपर्छ भन्ने विप्लवको ठम्याइ छ । तर, जुन उद्देश्यका साथ वैद्यको नेतृत्वमा पार्टी गठन भएको थियो, त्यसले पनि प्रचण्डकै जस्तो बाटो लिएको निश्कर्षसहित विप्लव यतिबेला असन्तुष्ट बनेका हुन् ।

विप्लवले माओवादीभित्र अघि सारेको दस्तावेजमा संविधानसभा वरिपरि घुम्ने कार्यनितिबाट मुक्त हुनुपर्ने, क्रान्तिकारी कार्यदिशा बनाउनुपर्ने, जनसेना निर्माण गर्नुपर्ने, पार्टीलाई भूमिगत बनाउनुपर्ने अनि अहिल्यैबाट सशस्त्र युद्धको बाटोमा अघि बढ्नुपर्ने उल्लेख छ ।

वैद्यको लाइन
तर, अध्यक्ष वैद्यको दस्तावेजमा चाहिँ संसदवाद र संशोधनवादविरुद्ध प्रचारात्मक भण्डाफोर अभियान चलाउने, कार्यकर्तालाई पढ्ने बानी सिकाउने, नेतृत्वको केन्द्रीकरण गर्ने, सर्वपक्षीय सम्मेलन र गोलमेच सम्मेलनमा जोड दिने र सत्ता कब्जा गर्ने बेला नआउञ्जेलसम्म शक्ति सञ्चय गर्ने योजना अघि सारिएको छ ।

स्रोतका अनुसार वैद्यले क्रान्तिको नेतृत्व गर्न नसक्ने ठहरसहित विप्लवको टोलीले महाधिवेशनमार्फत नेतृत्व आफ्नो हातमा लिने तयारी थालेको छ । तर, वैद्यपक्ष भने महाधिवेशन टार्ने, पछि धकेल्ने र प्रचण्डसँग पार्टी एकता गरेर पार्टीभित्रको संकट समाधान गर्ने पक्षमा छ ।
स्रोतले भन्यो,-‘यो स्थिति महाधिवशेनसम्म जान्छ र त्यसपछि वार कि पार हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment