Comments Add Comment

तीजमा कलाकारलाई विदेश जान भ्याई नभ्याई

Komal-oli

१ भदौ, काठमाडौ । तीजमा माइत जानुपर्ने बेलामा माइतीघरमै रहेका कलाकारहरु भने तीज लागेपछि धमाधम विदेश हानिने दौडमा छन् ।

आफ्नो गीत एवं म्युजिक भिडियोको प्रोमोट गर्न र विदेशमा नेपालीमाझ हुने कार्यक्रममा निम्तो मान्न नेपाली कलाकारहरु चाडको मौका पारेर विदेश जाने क्रम बढेको हो ।

 कोमल वलीको तीज जापानमा

पाँच वर्ष भयो गायिका कोमल वलीले नेपालमा तीज मनाउन नपाएको । ‘नेपालमै बसेर तीज मनाउने धोको यसपालि पनि अधुरै रह्यो,’ वलीले अनलाइनखबरसँग भनिन्- ‘म यसपालिको तीजमा जापान जाँदैछु, जापानमा बस्ने दिदीबहिनीहरुले पटक-पटक आग्रह गरेकाले टार्न सकिँन ।’

जापानको नागोयामा लगायत अन्य दुई शहरमा कार्यक्रम प्रस्तुत गर्ने  वलीको तयारी छ ।

आफन्तहरुसँग बसेर तीज मनाउनुको मज्जै बेग्लै हुने धारणा राख्ने वली आफन्तजनसँग बसेर दर खाने कार्यक्रम निकै रमाइलो लाग्ने बताउँछिन् । ‘सानो छँदा राति उठेर घिउमा पकाएको चाम्रे खाँदा रमाईलो हुन्थ्यो, तर काठमाडौंमा यो चलन छैन’-उनी भन्छिन् ।

 कोको जाँदैछन् विदेश ?

pashupati-and-komal

तीज महिलाको चाड मानिए पनि पुरुष गायकसमेत यसमा व्यस्त हुन थालेका छन् । पशुपति शर्मा, रामजी खाँड, खुमन अधिकारी लगायतका गायक अहिले विदेशका विभिन्न शहरमा गीत गाउँनमै व्यस्त छन् ।
‘मलाई अमेरिका यही, मलाई जापान पनि यही… बोलको गीत गाएपछि डायस्पोरामा राम्रै चर्चा पाएका पशुपति शर्मालाई समेत तीजको मौका पारेर विदेश डुल्ने साइत जुरेको छ । आफ्नो गीतमा मलाई बेलाय नि यही भने पनि शर्मालाई लण्डन जाने सौभाग्य जुरेको छ ।

केही वर्षयता महिला गायिकासँग मिलेर तीज गीत र लोकगीतमा स्वर भर्न थालेका शर्मा यो वर्षको तीजमा लण्डनमा हुनेछन् । विदेशमा बस्ने नेपालीभाषी वीचमा राम्रै परिचित शर्मालाई हालै सार्वजनिक भएको ‘जात केन्दि्रत’ गीतले झनै चर्चित बनाएको छ ।

यतिबेला दिल्लीका नेपालीसँग बसेर गीत गाइरहेका रामजी खाँणलाई पनि तीजको छेक पारेर दुबईमा बस्ने नेपालीहरुले निम्तो गरिसकेका छन् । दुबईको कार्यक्रम सम्पन्न गरेपछि उनी जापान पुग्ने योजनामा छन् ।
पछिल्लो समय नेपाली स्रोताले रुचाएका गायिकाको रुपमा चिनिन्छन् राधिका हमाल र टीका पुन । तीज गीत र दोहोरी गीतमा राम्रै पकड जमाएकी हमाल पनि दुबई हुँदै तीजमा जापान जाँदैछिन् । पुन जापानको कार्यक्रम सकेर दिल्ली जाने योजनामा छिन् ।

अष्ट्रेलियामा बस्ने नेपाली दिदी बहिनीको विशेष आग्रहमा अष्ट्रेलिया जाने तयारीमा रहेकी सुनिता दुलालले तीजमा लगाउनकै लागि विषेश किसिमको साडी र चोली डिजाइन गरेकी छिन् । नौ वर्षदेखि लगातार बिदेशमै तीन मनाउँदै आएकी दुलाल अष्ट्रेलियाकै शिवालयमा जम्मा भएर शिवजीको पूजा गर्ने योजनामा छिन् ।

नेपाली सिर्जनाको व्यापार विस्तार

विश्वका धेरै मुलुकमा नेपालीको बसोबास बढेपछि विदेशमै बस्ने नेपालीहरुले आफ्नै मुलुकका कलाकार बोलाएर मनोरञ्जन लिने चलन बढ्दो छ । यही मेसोमा युवा गायकहरुले केही कमाइ गर्ने अवसर पनि पाएका छन् ।

आफ्नो सिर्जनाको व्यापार देशभित्रमात्रै गरेर पर्याप्त बजार लिन नसकेपछि नेपाली कलाकार र चलचित्रकर्मीले समेत अचेल विदेशलाई महत्वपूर्ण बजारका रुपमा लिन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment