Comments Add Comment

विश्वभर फैलँदैछ विनासकारी झार

कमल मादेन
कमल मादेन

बाहिरिया मुलुकमा उत्पति भएका वनस्पतिहरु विशेषतः झार समुहमा पर्ने वनस्पतिहरु विगत केही शताब्दिदेखि विश्वका विभिन्न मुलुकमा अत्यधिक फैलँदै छन् । ती झारले किसानलाई दुख दिइरहेका छन् ।

युरोप र अमेरिकी मुलुकका त्यस्ता वनस्पति पहिले अफ्रिकान देशहरुमा विभिन्न माध्यमले पुगे । अफ्रिकाबाट भारतसम्म जहाज र मानिसको आवागमनसँगै आए ।

 त्यसैगरी हाम्रा हिमालय आसपासका क्षेत्रमा उत्पति मानिएका झारहरुले अमेरिका र युरोपमा दुःख दिँदैछन् । तिनीहरु चीन, नेपाल, भारतमा सामान्य छन् । तर, पश्चिमा देशमा व्यापक फैलिएका छन् । त्यस्ता वनस्पतिलाई अंग्रेजीमा ‘इन्भासिभ एलियन प्लान्टस’ भनिन्छ । नेपालमा मिचाहा, अतिक्रमणकारी, विनाशकारी र साम्राज्यवादी झार भन्ने गरिएको छ ।

विभिन्न अनुसन्धान प्रतिवेदनहरु अनुसार त्यस्ता वनस्पति वायुमण्डलमा कार्वन डाइअक्साईडको मात्रा बृद्धि हुँदा हौसिएर फैलन सक्छन् । त्यसैगरी वातावरणमा जति तापक्रम वृद्धि भयो, त्यति नै फैलन्छन् ।

गाँजर झार किन अत्याधिक रुपमा फैलँदै छ भन्ने सन्दर्भमा चर्चा गरौं । गाँजर झारलगायत अन्य वनस्पति फैलनुमा जलवायु परिवर्तन हो । रक्सबर्घले यो झारलाईलाई क्यारोट विड (पार्थेनियम् हिस्टेरोफोरस्) भनेका थिए । नेपालमा त्यो झारलाई तितेपाती झार, गाँजर झार, कनिके घाँस, बेथु घाँस, पड्के घाँस आदि नामले चिनिन्छ ।

किसानले बालीनाली लगाउन अघि त्यस्ता झार उखेल्नु पर्छ । बाली उम्रेपछि पनि उखेल्नुपर्छ । गोड्दा पनि उखेल्नुपर्छ । जहिलेसुकै किसानले ती वनस्पतिबाट दुःख पाइरहेका हुन्छन् । त्यतिमात्र होइन, ती झारहरुले अक्सर मानिसको स्वास्थ्यमा पनि हानी नोक्सानी गर्छ । गाईभैंसीले खाने घास नष्ट गरिदिन्छ ।

Gajar Jhar

गाँजर झारबारे गलत बुझाइ

रामचन्द्र अधिकारीले ‘साम्राज्यवादी झार’ शीर्षकमा एक दैनिकमा लेखेका छन्- ‘आजकल तराईवासीलाई एउटा झारले पिरिरहेको छ । केही बर्षअघिसम्म सडक किनारमा मात्र देखिने गाँजर झार (पार्थेनियम् हिस्टेरोफोरस्) नामक यो झार अहिले करेसाबारीदेखि फूलबारीसम्म जताततै देखिन्छ ।’

मेक्सिकोमा उत्पत्ति भएको भनिएको यो झार भारतमा सन् १९५६ मा पहिलो पटक देखिएको थियो भन्ने अधिकारीको भनाइ अलि मिलेको देखिँदैन । केही पुस्तक, लेखहरुमा उल्लेख भएअनुसार गाँजर झार (पार्थेनियम् हिस्टेरोफोरस्) कलकत्तास्थित तत्कालीन इन्डियन बोटानिकल गार्डेन हौराहामा सन् १८१० मा नै फैलिसकेको थियो ।
विलियम् रक्सबर्घर् बेलायतका वनस्पतिविज्ञ हुन् । तिनी एकताका इन्डियन बोटानिकल गार्डेन हौराहामा सुपरिटेन्डेन्ट थिए । रक्सबर्घर्ले गाँजर झार बोटानिकल गार्डेनमा फैलिएको कुरा सन १८१४ मा ‘अ क्याटलग अफ द प्लान्टस् इन होनोर्‍याबल ईष्ट इन्डिया कम्पनी बोटानिकल गार्डेन एट क्यालकत्ता’ शीर्षकमा लेखेका थिए । मैले रक्सबर्घर्ले  २ सय बर्षअघि लेखेको सामग्री उल्लेख गर्दा त्यो कहाँ भेटियो भन्ने पाठकलाई लाग्न सक्छ । त्यही कुरा एन.पि. सिंह र अरुहरुले सम्पादन गरेको पुस्तक ‘फ्लोरा अफ ईन्डिया’ खण्ड २ को पृष्ठ २७० मा पनि उल्लेख छ । त्यो पुस्तक बोटानिकल सर्भे अफ इन्डियाले सन् २००० मा प्रकाशन गरेको हो ।

मैले यो लेख लेख्नुको उद्देश्य अधिकारीजीले मिति फरक लेख्नुभयो भन्ने मात्र होइन, गाँजर झारका असरको सन्दर्भ जोडिएर अक्सर समाचार छापिने गरेका छन् । अनि त्यो भारत अथवा नेपाल कहिले भित्रियो भन्ने कुरो बारम्बार गलतरुपमा छापामा आउने गरेका छन् । एक दुई वर्ष, दशक होइन, शताब्दी नै फरक पर्दै आएको छ । मैले अहिले लेख्नुको आशय जानकारी सही जाओस् भन्ने मात्र हो ।

केही दिनअघि मात्र एउटा पत्रिकामा गाँजर झारबारे एक समाचार छापिएको थियो । त्यसमा पनि त्यो झार भारतबाट भित्रिएको भन्दै मिति शताब्दिकै फरक पारेर उल्लेख गरिएको थियो ।

त्यस्तै अर्का एक पत्रकारलेे २२ माघ ०७० मा समाचार लेखेका थिए । तिनले ‘नार्कका विशेषज्ञका अनुसार’ भनेर गाँजर झार भारतमा ५० को दशकमा प्रवेश भएको लेखेका थिए । मेरो सोही पत्रिकामा (माघ २३ गते) ‘पार्थेनियम किन हानीकारक छ ?’ शीर्षकमा प्रतिकृया छापिएको थियो ।

मैले त्यही प्रतिकृयामा सन् १८१० मा उक्त झार हौराहामा एक्कासी फैलिएको प्रसंग लेखेको थिएँ । त्यो प्रतिकृया गाँजर झारसम्बन्धी समाचार लेखिरहने पत्रकार अथवा लेखक अधिकारीजीले हेर्नुभएनछ ।

कहिले भित्रियो गाँजर झार ?

जहाँसम्म गाँजर झार नेपालमा कहिले भित्रियो भन्ने सन्दर्भ छ, त्यो मैले थोरै भए पनि स्पष्ट पार्ने जमर्को सोही प्रतिकृयामा गरेको थिएँ ।  हुन त कुनै पनि वनस्पति कुन ठाउँमा कहिले भित्रियो भन्ने अनुमान लगाउनु गर्नु त्यति सहज हुँदैन । त्यसका लागि प्रमाण हुनुपर्छ ।

त्यो झार नेपाल कहिलेतिर भित्रिएको थियो होला भनेर सौरभ आर. सत्यालले आफ्नो पुस्तक ‘नेप्लिज फ्लोरीटाज्’ को पृष्ठ १२४ मा उल्लेख गरेका छन् । पुस्तकअनुसार नेपालमा गाँजर झार अनुसन्धानका निम्ति पहिलोपटक नमूना संकलन गर्ने व्यक्ति डा. समरबहादुर मल्ल हुन । डा. मल्लले त्यो झार सन १९५९ देखि १९६९ ताका काठमाडौ उपत्यकाबाट संकलन गरेको उल्लेख छ ।

वरिष्ठ वनस्पतिविद डा.केशवराज राजभण्डारीको एक लेखअनुसार डा. समरबहादुर मल्ल र डा. समनबहादुर राजभण्डारी -दिवंगत)ले काठमाडौ उपत्यकाबाट सन १९६२ मा ३ सय ८२ वटा वनस्पतीय नमूना संकलन गरेका थिए । त्यसअनुसार गाँजर झार काठमाडौ उपत्यकामा सन १९६० ताका भित्रिसकेको थियो । त्यो नमुना अझै ललितपुर गोदावरीस्थित ‘नेशनल हर्वारियम एण्ड प्लान्ट ल्याबोर्‍याटोरी’मा सुरक्षित छ । उक्त नमुनाको नम्बर हो – ‘मल्ल ६५५१’ ।

जब कि अधिकारीजीले त्यो झार भारतमा सन १९५६ ताका पहिलोपटक देखा परेको थियो भनेर लेख्नु कतिको मनासिब होला त ? कुनै महानुभावले गाँजर झार भारतमा  पहिलोपल्ट सन १९५६ देखेका थिए होलान् ।

मेरो विचारमा यो झार भारतमा १७ शताव्दिको अन्ततिर भित्रिएको हुनुपर्छ ।

(मादेन वनस्पतिशास्त्रका अध्येता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment