Comments Add Comment

लावती कहाँबाट प्रधानमन्त्री हुने ? कमल थापा होला

राप्रपा नेपालको महाधिवेशनपूर्व सहअध्यक्ष रहेका पूर्वगृहमन्त्री पदमसुन्दर लावती यतिबेला अध्यक्ष कमल थापासँग आक्रोशित छन् ।  उनी अहिले नयाँ पार्टी खोल्ने तयारीमा लागेका छन् ।
‘तपार्इले कमल थापाको विरोध गर्नुको कारण के हो ?’ अनलाइनखबरको प्रश्नमा उनले यसरी गुनासो पोखे ‘अधिवेशनका बेला धाँधली भयो । बिरामी भएर दिल्लीमा उपचार गराउँदा के छ भनेर सोधेनन् । विचारमा पनि कमल थापामा विचलन आयो ।’ लावतीको थप गुनासो छ- ‘म त तीनवटा राजासँग काम गरेको मान्छे पो हुँ त ! राजा पनि यस्ता थिएनन् ।’PSLawoti_photo

अहिले तपाईको स्वास्थ्यस्थिति कस्तो छ ?
पहिलेभन्दा बेटर छ । बेटरभन्दा त्यस्तो बेटर पनि हैन । तर, नबेटर भन्दा अहिले प्रधानमन्त्री दिए पनि म चलाउन सक्ने अवस्थामा छु ।
तर, मलाई दिँदैनन्, थाहा छ । किनभने यहाँ त कोइराला हुनुपर्‍यो, दाहाल हुनुपर्‍यो । माधव नेपाल हुनुपर्‍यो, केपी ओली हुनुपर्‍यो । लावती कहाँबाट प्रधानमन्त्री हुने ? बढी भयो भने कमल थापा होला  ।

तपाईले राप्रपा नेपाललाई फुटाएर अर्को पार्टी गठनको सिलसिला सुरु गर्नुभएको हो ?
यो अर्को पार्टी गठनको सिलसिला हैन हेर्नोस् । पार्टीभित्र जुन किसिमको अधिनायकवादी प्रवृत्ति, वान म्यान सो, व्यक्तिवादी भनौं न, अध्यक्षको मात्रै एकाधिकार देखापर्‍यो ।

अध्यक्ष कमल थापा एकाधिकारवादी भन्ने तपाईसँग आधार के छ ?
केन्द्रीय समितिको कुरा नसुन्ने, कार्यसम्पादनको कुरा नसुन्ने । विधान बाहिर मनपरि गर्ने । अधिवेशनमा २० प्रतिशतमात्रै मनोनित हुनुपर्छ भनेर अधिकांश सदस्यहरुले आवाज उठाए । तर, उहाँले ५० प्रतिशत मनोनित गरेर आफैं थप्नुभो । उपाध्यक्ष आवश्यकताअनुसार जति पनि बनाउन सक्ने, महामन्त्री, सहमहामन्त्री आवश्यकता अनुसार जति पनि बनाउन सक्ने दफाहरु विधानमा आफैं थप्नुभो ।
अञ्चल प्रमुख भन्ने विधानमा व्यवस्थै थिएन । उहाँले अञ्चल प्रमुख भन्ने राख्नुभो । एउटा अञ्चलमा दुईवटा अञ्चल प्रमुख पनि तोक्नु भो । सगरमाथा अञ्चलमा मधेसका तीन जिल्लामा हरिनारायणजीलाई र पहाडका तीन जिल्लामा भूपाल किरातीलाई अञ्चल प्रमुख तोक्नुभयो । विधानमा यस्तो व्यवस्था छैन । त्यसैले आफूलाई जे मनपर्‍यो, त्यही जुद्धसमशेर ताल देखाउनुभयो । उहिल्यै जुद्धसमशेरले नारा लगाउँदा भन्थे रे नि । किन नारा लगाइरहेका छन् भन्दा दूध र भात खान पाएनौं सरकार भन्दा धन्यवाद भन्थे रे, ठ्याक्कै त्यस्तै पारा छ ।
त्यसैले हामीले चाँहि पार्टीगत रुपमा चलोस् भन्ने धारणा राखेका हौं । किनभने हामी त संस्थापक हौं नि त । कमल थापाको जति योगदान छ, हाम्रो पनि त्यति नै योगदान छ । वास्तवमा कमल थापालाई अध्यक्ष बनाउने नै यो हाम्रो समूह नै हो । रविन्द्रनाथ शर्माजीहरु  उठ्न तयार थिए, म तयार थिएँ । हामीले छाडिदिएर उसलाई अध्यक्ष बनाएको हो । पछि उनी थुनामा परे । शाहीकाल सिद्धिएपछि उनी हाउस एरेष्ट भए । अनि रविन्द्रजीलाई रिक्वेष्ट गरेर मैले नै कोअर्डिनेट गरें । राजेश्वर बाबुको सहयोगमा पछि फिर्ता हुने गरेर रविन्द्रलाई जिम्मा लगाएर चलाइयो । धेरै कुराहरु छन् यसमा क्या ।Padma Sunder Lawati Bigyapti2 (1)
अध्यक्षमा आर्थिक मितव्ययिता छैन । अब यही दिलविकासको ४ करोड रुपैयाँ खर्च भो भन्छ, त्यो पार्टी अफिस बनाउँदा । अरुबाट पनि पैसा लियो भन्छ, कोबाट कति लियो ? पार्टीलाई हिसाब देखाएको छैन । यो कुरा मैले महाधिवेशनमा पनि उठाएँ । म उम्मेद्वार भएँ, आफ्नो कुरा राखें ।

तर, अधिवेशनमा त तपाईको धेरै भोट आएन नि  ?
अब चुनावै निश्पक्ष भएन हेर्नोस् । चुनाव निश्पक्ष भएको भए पाँच/सातसय भोट म ल्याउँथें होला । त्यहाँभित्र कस्तो मान्छे राख्यो भने गीताभक्त जोशी, विष्णु भण्डारी, निरञ्जन थापाजस्ता उसका आफ्ना कर्मचारी राखेर त्यो के मेसिन अरे ? भोटिङ मेसिन ल्याएर राख्यो । हामीसँग सल्लाह पनि गरेन । एमालेले त मानेन नि त्यो मेसिन । माधव नेपाल मान्नुभएन ।
त्यसैले अहिले तल ग्रास रुटदेखि माथिसम्म नै कार्यकर्ताहरु अस्तव्यस्त छन् । पार्टीमा यस्तै व्यवहार भो । अन्य कुरामा त्यस्तै व्यवहार भो । मनोनितमा त्यस्तै व्यवहार ।
अब मेरै कुरा गर्नोस् न, म हिजोको सहअध्यक्ष, ऊसँग चुनाव लडेको । नेता भनौं न म । ऊभन्दा बूढो मान्छे । राजनीतिमा ऊभन्दा जेठो मान्छे । मेरो जिल्लामा मलाई नसोधिकन छविरमण सुवेदी भन्नेलाई मनोनित गरिदियो । उहाँ पार्षदबाटै हटाएको मान्छेलाई । हामीले बैठक गरेर निर्णय गर्‍यौं, तिमी चाँडो राजीनामा गर । कमल थापा फिर्ता लेऊ । त्यो मान्छे बैठकमा पनि आउन सकेन । ३८ जना मान्छे जो पायो त्यही मनोनित गरेको छ । यसरी पार्टी चल्छ त ? त्यसैले यो हाम्रो खोजी हो ।

पार्टीमा अध्यक्षबाटै अनुशासन विपरीत कार्य भयो भन्ने तपाईहरुको गुनासो हो ?
अनुशासन विपरीत भो । विधानसम्मत भएन । आर्थिक मितव्ययिता र पारदर्शिता भएन । मोनोपोली भो । एक व्यक्तिले पार्टी चल्दैन नि त । उहाँलाई त्यत्रो भ्रष्टाचारको आक्षेप लागेको छ, त्यसको जवाफ दिनुपर्छ कि पर्दैन ? हो भने हो भन्नुपर्‍यो, हैन भने हैन भन्नुपर्‍यो ।

तर, तपाई अनुशासनको कुरा गर्नु हुन्छ, तपाईहरुले पनि त खुलेआम गुटको भेला गर्दै हिँड्नुभएको छ, योचाँहि अनुशासन विपरीत भएन ?
हामीले राप्रपा नेपालै PSLawoti_photoभनेर भनेका छौं नि त । हामी पार्टी बाहिर गएका छैनौं । त्यहाँ नअटेपछि अटाउने ठाउँ त खोज्नुपर्‍यो नि । अहिले यो त एक्सरसाइज न हो । हामीले पार्टी फुटाऔं भनेका छैनौं । पार्टी फुट्नुपर्छ भनेका छैनौं । विधान विपरीत जान्छौं भनेका छैनौं । विधानलाई मानेका छौं । राप्रपा नेपाललाई शीरोधार्य गरेका छौं । तर, त्यहाँ भएको व्यवस्था ठीक भएन । अबको नयाँ खोजी के त ? पार्टीलाई कसरी लाने ?

अधिवेशनमा तपाईहरुको समूहले चुनाव हारेपछि यसरी असन्तुष्टि जनाउनु लोकतान्त्रिक संस्कार भएन नि, हैन र ?
चुनाव त कतिले हारेका छन्, कतिले हारेका छन् । चुनाव त एमालेमा पनि हारे नि । सबैभन्दा पहिले उनीहरुलाई केपीले केन्द्रीय समितिमा मनोनित गरेनन् ? हामीलाई त कमल थापाले सोध्नसम्म सोधेन । म त्यत्रो उसैसँग अधिवेशनमा लडें, तपाई किन लड्ने भनेर पनि सोधेन ।

अधिवेशनपछि तपाई बिरामी भएर दिल्ली जाँदा त सोधे होला नि अध्यक्षले ?
सोधेनन् । म यहाँ नर्भिक अस्पतालमा १३ दिन बसें । दिल्लीमा ११ दिन बसें । सञ्चो विसञ्चो के छ, के भैराखेको भनेर एकचोटि पनि सोधेन । म त तीनवटा राजासँग काम गरेको मान्छे पो त । राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रसँग काम गरेको मान्छे हुँ । तर,  राजा पनि यस्तो थिएनन् क्या ।

तपाईहरुको अबको कदम के हो ?
अब जनताको राय लिने, कार्यकर्ताको मनसाय बुझ्ने । केन्द्रीय भेला तोकेका छौं । एक्लै निर्णय गर्ने होइन । मुलुकको परिस्थिति यो छ, पार्टीको अवस्था यो भो, हाम्रो आन्तरिक अवस्था यो, बाहिरी अवस्था यो, हाम्रो सोच यो हो, अब तपाईहरु के भन्नुहुन्छ ? दुई दिन भेला गरेर हामी कार्यकर्तालाई सोध्छौं । उनीहरुले जे भन्छन्, त्यही गर्छौं ।Padma Sunder Lawati Bigyapti2 (2)

कार्यकर्ताले पार्टी अर्को बनाऔं भनेको खण्डमा के गर्नुहुन्छ ?
बनाऔं भने भने बनाउनुपर्‍यो नि त । अहिले त निर्णय भएको छैन ।

लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, डा. प्रकाशचन्द्र लोहनी र तपाईसमेत मिलेर नयाँ पार्टी बनाउने होमवर्क भैराखेको छ रे नि ? सत्य हो ?
त्यो पनि कुनै असम्भव कुरा छैन । हाम्रो डाइलक भैराखेको छ । कुराकानी भैराखेको छ । हाम्रो बोलिचाली बन्द छैन । पार्टी अलग्गै भए पनि हामी एउटै खेमाका मान्छे हौं । हिजो हामी सँगै बसेका मान्छे हौं । म त लोकेन्द्रको पनि उपाध्यक्ष, सूर्यबहादुरको पनि उपाध्यक्ष, राजेश्वर देवकोटाको पनि उपाध्यक्ष, कमल थापाको पनि उपाध्यक्ष, रविन्द्रनाथ शर्माको पनि उपाध्यक्ष । कसको होइन भनौं न ।

कमल थापासँग तपाईहरुको वैचारिक भिन्नताचाँहि रहेनछ हैन ? कार्यशैलीमात्रै चित्त नबुझेको हो ?
वैचारिक फरक पनि केही देखियो ।

थापाले पनि संवैधानिक राजतन्त्र भनेकै छन् त, केमा फरक देखियो ?
तपाईहरुले केही समय अगाडि देख्नुभयो होला, एउटा टीभीमा बोलेको  । उहाँ आफ्नो अनुकूल बोल्ने क्या । राप्रपा नेपालको नाम फेर्ने भने चन्द्रबहादुर गुरुङको हवाला दिइयो । मोहन श्रेष्ठको हवाला दिएर राप्रपा नेपालको नाम फर्ने, हिन्दु धर्मका बारेमा पनि सोच्ने, राजाका बारेमा पनि सोच्ने भनेर आयो नि । यो त हाम्रो केन्द्रीय समितिमा निर्णय भएको त होइन । कार्यसम्पादनमा पनि आएको छैन ।

तर, अधिवेशनको लाइन त तपाईहरुले भनेजस्तै पारित भएको छ हैन ?
त्यो त अधिवशेनमा हामीले उहाँहरुको खण्डन गर्‍यौं र त्यसपछि उहाँहरुलाई त्यसको विपरीतमा बोल्ने हिम्मत भएन ।

भनेपछि तपाईहरुको लाइन पनि राजतन्त्र, धर्म सापेक्षता नै हो ?
यसमा पनि कमल थापा कति प्रतिवद्ध छन् भन्ने हाम्रो प्रश्न हो । उनको कार्यव्यवहार जुनखालको सुरु भयो, उहाँको जुन बोलाई देखिन्छ, त्यसरी जे पनि बोलेर त भएन नि ।

संविधानसभामा पठाएको राप्रपा नेपालको टिम पनि फेर्नुपर्छ भन्ने पनि तपाईहरुको माग हो ?
सभासदको सम्बन्धमा हाम्रो केही माग छैन । अदालतमा मुद्दा परिराखेको छ, त्यसैले त्यो हाम्रो विषय हैन ।Kamal-thapa-new

कमल थापासँग तपाईहरुको खास माग के हो ? एक, दुई, तीन गरेर भन्नोस् । अब राप्रपा नेपाललाई एक ढिक्का बनाउन कमल थापाले के-के गर्नुपर्छ ?
कमल थापाले के गर्नुपर्छ, एक, दुई, तीन त उहाँले जान्नुपर्‍यो नि । सबै साथीहरुलाई समेट्नुपर्‍यो । यत्रो साथीहरु बाहिर छन् । यी साथीहरु किन बाहिर भए ? लु, म त हिजो चुनाव लडेर बाहिर भएँ रे, उहाँहरु किन बाहिर भए ? हँ ?

त्यसोभए एउटा अप्सन बाँकी नै रहेछ, कमल थापाले सबैलाई समेटे भने पार्टी फुट्दैन …… ।
हैन, विचार पनि छाडेको छ नि कमल थापाले । विचारधारामा पनि लाइनमा आउनुपर्‍यो । अधिराज्यभरिका सबै कार्यकर्ता राखेर छलफल गर्नुपर्‍यो । कार्यकर्ताको निर्णयअनुसार जानुपर्‍यो ।

पार्टीको नेतृत्व पनि परिवर्तन गर्नुपर्छ भन्ने तपाईहरुको माग हो कि कमल थापाकै नेतृत्वमा बस्न तयार हुनुहुन्छ ?
आवश्यक पर्‍यो भने नेतृत्व पनि परिवर्तन गर्नुपर्छ । उनले मात्रै मेरो गोरुको बाह्रै टक्का भन्न पाइन्छ त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment