Comments Add Comment

अर्काको खुट्टा तान्ने संस्कृति मौलायो : प्रचण्ड

२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपाली समाजमा अर्काको खुट्टा तान्ने र त्यसैमा रमाइलो मान्ने संस्कृति मौलाएको गुनासो पोखेका छन् ।

नेताहरु राष्ट्रिय स्वार्थमा भन्दा पनि आफ्नो संकीर्ण स्वार्थतर्फ केन्दि्रत हुने प्रवृत्ति देखा पर्न थालेको प्रचण्डको भनाइ छ । सोमबार व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने- ‘अरुलाई खुट्टा तान्न पाए खुशी हुने संस्कृति विकसित हुँदैछ ।….. हामी सीमित स्वार्थभन्दा माथि उठेका छैनौं ।’

‘मोदी आउँदा ताली पड्कायौं, भोलिपल्टै बिर्सियौं’

भारतीय प्रधानमन्त्री मोदीको भाषण सुनेर संसदमा धेरैले ताली पड्काए पनि जनयुद्धबाट आएको शक्तिलाई विश्वासमा लिएर अघि बढ्नुको साटो सरकार आफ्नो दुनो सोझ्याउनेतिर लागेको प्रचण्डले बताए ।

‘मोदीको भाषण सुनेर तालि पनि बजायौं, तर हामीले कति आत्मसाथ गर्‍यौं ?’ प्रचण्डले भने, ‘कैयौं राजनीतिक निर्णय गर्न सरकार किन उद्दत्त भएको देखिन्छ । राष्ट्रिय समस्या समाधान गर्नुभन्दा आफ्नो दुनो सोझ्याउनेतिर गएको आभाष देखिन्छ ।’

प्रचण्डले संसदमा लामो सम्बोधन गर्दै भने-‘संविधान बनाउने प्राथमिक काम नगरी मन्त्रालयको प्रशासनिक संयन्त्र मिलाउनेतिर सरकार लागेको छ, यस्तो गरेर हामी कसरी संविधान बनाउँछौं ?’

संविधान भनेको धर्मशास्त्र पुराण, गीता बनाउने हैन भन्दै प्रचण्डले यो निरन्तर परिवर्तनशील हुने बताए । ‘तर, आधारभूत सहमतिलाई छाडेर संविधान बन्न सक्दैन, उनले भने- ‘त्यसको आधारशिता भनेको अन्तरिम संविधान, बाह्रबुँदे सहमति, शान्ति सम्झौता र विभिन्न समयमा भएका चारबुँदे लगायतका सहमतिहरु हुन् ।’

एमाओवादी अध्यक्ष प्रचण्डले सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग अहिलेसम्म गठन नगरेकोमा आक्रोश व्यक्त गरे । विगतमा भएका सहमतिहरुको कार्यन्वयनमा उनले जोड दिए ।

सरकारले गर्नुपर्ने कामहरु नगरी मन्त्रालयमा आफ्नो संयन्त्र मिलाउने, नगरपालिकाहरु घोषणा गर्ने जस्ता काम गरिरहेको भन्दै संविधान निमार्णमा जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment