Comments Add Comment

डेरावालको जात सोध्दा घरबेटी प्रहरीको फन्दामा

मात्रिका पौडेल

२ भदौ, काठमाडौं । तपाईको घरमा कसलाई भाडामा राख्ने वा नराख्ने अधिकार तपाईलाई नै छ । तर, कोठा दिइसकेपछि जात सोधेर ‘डेरा नदिने’ भन्नुभयो भने जेल जानुपर्ने हुन सक्छ । काठमाडौंको मध्य बानेश्वरका एक घरमालिक अहिले यस्तै फन्दामा परेका छन् ।

आफ्नो घरको एउटा कोठा भाडामा दिन राजी भएर एक महिनाको भाडावापत ३ हजार रुपैयाँसमेत लिइसकेका कृष्ण थापाको परिवारले डेरावाल युवती दलित भएकै कारण ‘हुँदैन’ भनेपछि पीडित युवती कानुनी लडाइँमा उत्रिएकी छन् ।

सामान्य महिला थिइन् भने उनी कथित ‘तल्लो जात’को पीडा बोकेर फर्किन्थिन् होला । तर, यो घटनामा पीडित युवती पत्रकार हुन् । पत्रकार पनि सरकारी सञ्चारमाध्यम रेडियो नेपालकी समाचारवाचिका कमला रसाइली ।

कानुनको सहारा

उनले यो घटना आफूलाई मात्र परेको भनेर सहनुभन्दा बाहिर ल्याएर कारवाही गराउँदा भोलिदेखि अरु घरबेटीहरु छुवाछुतप्रति सचेत होउन् भन्ने सोचेकी छन् । उनले डेरा बस्न नदिने घरबेटीविरुद्ध तीनकुने प्रहरीवृत्तमा मौखिक जाहेरी दिएकी छन् ।

Jahari-final

कमलाको लिखित जाहेरी पनि तयार छ । प्रहरीले लिखित जाहेरी लिनुअघि पीडक भनिएका घरबेटीलाई कार्यालयमा झिकाएको छ । डीएसपी रमेश तामाङले बोलाउँदा नआए पक्राउ गर्ने चेतावनी दिएपछि थापालेे प्रहरी वृत्तमा आउने बताएका छन् । थापा आएपछि लिखित जाहेरी लिएर प्रक्रिया अघि बढाइने उनले बताए ।

‘मेरो यो लडाइँ एक घरबेटीविरुद्ध होइन, कथित दलित जाति भएकै कारण डेरा नपाउने र डेराबाट निकालिने विकृति विरुद्धको पाइला हो’ कमलाले अनलाइनखबरसँग भनिन् । उनीसँग माफी मगाएर मेलमिलाप गर्ने वा कानुनी लडाइँ लड्ने दुबै विकल्प छन् ।

कमलाले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन ०६८ अनुरुप घरवेटी कृष्ण थापा र उनकी पत्नीमाथि हदैसम्मको कारवाही र क्षतिपूर्तिको माग गरेकी छन् । साथै घरभाडा वापत दिएको रकम फिर्ताको माग गरेकी छन् ।

घटना कसरी भयो ?

kamala-rasaileeरामेछापको तिल्पुङकी स्थायी बासिन्दा कमला रसाइली काठमाडौं आएप्छि ललितपुरको कुम्भेश्वरमा बस्दै थिइन् । उनले ६ महिना लगाएर एकजना साथीमार्फत मध्य बानेश्वरमा कोठा पाइन् । महिनामा ३ हजार भाडा तिर्ने गरी कोठा भाडामा लिइन् । र, भदौ १ गतेदेखि बस्ने गरी भदौको अगि्रम भाडासमेत दिइन् ।

जब डेरा सर्ने बेला भयो, घरबेटीले सोधे -नानी कोठा त दिइयो, रेडियोमा काम गर्ने मान्छेलाई दिँदा खुसी लागेको छ, जात चाहिँ के पर्‍यो कुुन्नि ? कमलाले सहजरुपमा आफू रसाइली हुँ भनिन् ।

‘यो रसाइली भनेको कुन जाति हो ?’ घरबेटीको प्रश्नमा उनले सिधै बताइन्-हामी दलित हौं । त्यसपछि भड्किएकी घरबेटी आमैले ‘पानी नचल्ने जातलाई हामी डेरा दिदैनौं, हामीले दमै कामीलाई डेरा दिने गरेको छैन’ भन्दै पूजाआजा गर्दा समस्या पर्ने र पानी छोइछाइ हुने बताउँदै डेरा दिन अस्वीकार गरिन् ।

किन यस्तो गर्नुपर्‍यो ?

आफूले देशमा गणतन्त्र आइसकेको, जातिपाति नभएको र जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो भन्दा पनि घरबेटीले आफूमाथि अपमान गर्न नछाडेको कमलाले बताइन् । ‘त्यसपछि अब मैले पनि सहेँ भने जातीय भेदभावविरुद्धको अभियान भाषणमा मात्र सीमित हुन्छ भनेर यो कदम उठाएकी हुँ’ उनले भनिन् ।

आफ्नो उद्देश्य कुनै एक घरबेटीलाई कारवाही गराउने भन्दा पनि यस्तो मानसिकता बोकेका लाखौं मान्छेलाई सचेत गराउनु रहेको कमलाले बताइन् । ‘अरुले यो घटनाबाट पाठ सिकेर जातीय भेदभाव नगरुन् भन्ने मात्रै मेरो चाहना हो’ कमलाले भनिन् ।

घरबेटीको दाबी

जातीय भेदभावलाई सामान्य सम्झिएका घरबेटी कृष्ण थापा आफूविरुद्ध कमला कानुनी लडाइमा उत्रिएपछि फन्दामा परेका छन् । उनी अहिले आफूले दलित भएकै कारण डेरा नदिएको भन्ने आरोप अस्वीकार गर्दैछन् ।

‘अर्कै भाइ बस्ने भएकाले दिन नसकिएको’ दाबी उनले गरेका छन् । तर, अर्कै भाइलाई दिएको भए उनले किन कमलासँग एक महिनाको भाडा समेत लिएर भदौ १ देखिको सम्झौता गरे ? यो प्रश्नको जवाफ उनले दिन सकेनन् ।

त्यसो त काठमाडौंमा दलित भएकै कारण डेरा नपाउने समस्या कमलाले मात्रै होइन, अन्य धेरैले व्यहोर्दै आएको समस्या हो । काठमाडौंमा उसै पनि डेरा पाउन कठिन छ, त्यसमा पनि दलित समुदायका मानिसहरुमाथि डेरामा ठूलो विभेद हुँदै आएको सो समुदायका मानिसहरु बताउँछन् ।

माफी मागे घरबेटीले

यसैबीच घरबेटी कृष्ण थापा र लक्ष्मी थापाले महानगरीय प्रहरी वृत्तको कार्यालय तीनकुनेमा पुगेर आफूहरुबाट गम्भिर गल्ती भएको भन्दै माफी मागेपछि लिखित कागज गराएर कमलाले माफी दिएकी छन् । ‘मेरो उद्देश्य उनीहरुलाई जेल पठाउन थिएन, यस्ता घटना नहुन् भनेर उनीहरु जस्तालाई सचेत गराउने हो’ उनले भनिन् ।

 प्रहरीले लिखित कागज गराएर आइन्दा कसैमाथि पनि जातीय भेदभाव नगर्ने व्यहोरामा सही गराई कमलाको अनुमतिमा छाडिदिएको प्रहरी स्रोतले जनाएको छ । कमला रसाईलीबाट भाडा बापत लिएको ३ हजार रुपैयाँ उनीहरुले फिर्ता गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment