Comments Add Comment

हेलिकोप्टरबाट पहिरो पीडितलाई राहत वितरण

३ भदौ, दाङ । बाढी र पहिरोका कारण पीडित भएका जिल्लाको विकट स्थानका रुपमा रहेका पुरन्धरा-९ गङ्गटेमा जिल्ला प्रशासन कार्यालय दाङले हेलिकोप्टरबाट राहत पठाई वितरण गरेको छ ।

मंगलबार सो वडाका विभिन्न गाउँमा बाढी तथा पहिरोबाट पीडितका लागि १० क्विन्टल चामल, दुई बोरा दाल, एक बोरा चिनी, चिउरा, चाउचाउ, तेल, भाँडाकुँडा, औषधि, कम्बल लगायतका सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले जानकारी दिए ।

त्यसैगरी बाढीपहिरोले घर बगाएका परिवारलाई प्रतिपरिवार पाँच हजारका दरले नगद राहत पनि वितरण गरिएको प्रजिअ भट्टराईले बताए ।

बाढी तथा पहिरोका कारण त्यहाँ तीनजनाको मृत्यु भएको छ भने १७ घर बगाएको र ३० घर डुबेको बताएको छ ।

यसैबीच जिल्लाको उरहरी, फूलबारी, गोल्टाकुरीलगायतका गाविसमा बबई नदीबाट पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा तुलसीपुर उद्योग वाणिज्य सङ्घ, लायन्स क्लब तुलसीपुर, रोटरी क्लब तुलसीपुरलगायतका सङ्घसंस्थाले सङ्कलन गरेको राहत वितरण गरिएको छ ।

ती स्थानमा पनि चामल, दाल, पिठो, तेल, लत्ताकपडा, भाँडाकँुडा, चिउरा, चाउचाउ, कम्बल गरी रु तीन लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिमल रिजालले जानकारी दिए ।

बाढी तथा पहिरो पीडितका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले नगद र खाद्यान्न गरी रु पाँच लाख मूल्य बराबरको राहत वितरण गरिसकेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment