Comments Add Comment

इराक छिर्न सजिलो, फर्कन असम्भव !

इराकमा करिव १० हजार नेपाली कार्यरत छन् । तीमध्ये करीव आधा संख्यामा महिला छन् । उनीहरुको अवस्था बेचिए सो सरह भएको र नेपाल र्फकन नसक्ने अवस्था रहेको इराकका लागि विशेष दूत अर्जुनकान्त मैनालीको निश्कर्ष छ ।

पराष्ट्र मन्त्रालयका सहसचिव मैनालीको सुझाव छ,-‘सबै नेपाली युवाले बुझुन्, इराक भनेको जान सजिलो र तर प्राण गए पनि फर्किन गाह्रो मुलुक हो । अरुको भरमा परेर लहलहैमा नजानुस् । त्यहाँ गएका धेरै नेपाली दाजुभाइ पश्चाताप गरेर बसेका छन् । उनीहरुलाई चाहेर पनि ल्याउने अवस्था छैन । मानव तस्करले तपाईलाई पनि वारजोनमा लगेर बेच्न सक्छन् । त्यसैले होस गर्नुस् । इराकमा जाने सोच्दै नसोच्नुस् ।’

arjun-mainli

नेपाल सरकारले इराकमा विपत्तिमा परेका नेपालीको उद्धारका लागि पठाएको थियो । तर, तपाईलाई त इराक पुग्नै महाभारत भयो भन्ने सुनिन्छ नि ?

म जुलाई १ मा यताबाट कुवेत गएँ । सबैभन्दा पहिले त्यहाँबाट इराक छिर्ने भिसालगायतका कागजात लिनुपर्ने थियो । हुन त भिसा दिल्लीबाट पनि लिन सकिन्थ्यो, तर कुवेतमा जाँदा त्यहाँबाट इराकको थप अवस्था बुझ्न सजिलो हुने भएकाले हामी त्यता गएका थियौं । तर, त्यहिबेला इराकमा सरकार परिवर्तन भएकाले उताबाट मलाई पर्खिन भनियो । पर्खिँदा पखिर्ँदै दिन बितेपछि मसँग गएका साथीलाई कुर्दिस्तान पठाएर समन्वय गराएँ । त्यहाँबाट ११ जनाको तत्कालै उद्धार गरेर नेपाल पठाइयो ।

हामीले सुनेको इराक र तपाई त्यहीँ गएर हेर्दाको इराकमा के फरक पाउनुभयो ?
त्यहाँ फरक-फरक अवस्था छ । उत्तरी इराक विद्रोहीको कब्जामा छ । बग्दाद लगायतको केही भाग सरकारको नियन्त्रणमा छ । तर, त्यहाँ निकै आतंक छ । कुर्दिस्तान अलग स्वायत्त राज्य हो, जहाँ तुलनात्मक रुपमा राम्रो छ । तर, त्यहाँ एक ठाउँभित्र रहेको मान्छे, अर्को ठाउँमा जान लगभग असम्भव छ ।
बग्दादमाचाहिँ कस्तो अवस्था पाउनुभयो नेपालीहरुको ?
बग्दादकै कुरा गर्दा पनि म बाहिर जान पनि सकिँन, मलाई बाहिरबाट नेपाली भेट्न आउन सक्दैनन् । म ग्रीनजोनमै जाँदा पनि प्रोटोकल बोलाउनुपर्छ । विमानस्थलमा मलाई लिन इराकका दक्षिण एशिया डेक्सका डेपुटी डाइरेक्टर जनरल बुलेटप्रुफ गाडीसहित आए । अगाडि-पछाडि पूरै सुरक्षाकर्मी थिए । सीधै लगेर उनीहरुले व्यवस्था गरेको अल मन्सुर होटलमा राखे । त्यो होटल परराष्ट्र मन्त्रालयबाट करीव चार पाँच मिनेटको दूरीमा थियो । त्यहीँबाट मन्त्रालयमा गएर उपमन्त्रीलाई हाम्रो परराष्ट्रमन्त्रीज्यूको चिठी दिएँ । नेपालीहरुसँग सम्पर्क त भयो, तर उनीहरु भएका ठाउँमा जाने अवस्था छैन ।
विद्रोहीको बन्धकमा परेका नेपालीहरु पनि कोही छन् इराकमा ?
मुख्य गरी विद्रोहीको कब्जामा गएको उत्तरी इराकका टिक्रिट र मन्सुरमा केही नेपाली थिए । अधिकांशलाई हामीले निकालेर कुर्दिस्तान छिरायौं, त्यहाँबाट हामीले नेपाल पठायौं । ११ जनालाई उडायौं, दुई चारजना बाँकी थिए । उनीहरुलाई अनेक माध्यम लगाएर कुर्दिस्तान छिरायौं । पाँचजनालाई कुर्दिस्तानबाट उडाउन सकिएको छैन । २१ तारिखमा उडाउने कुरा छ ।
अहिले कुर्दिस्तानमा प्लेन चलेको छैन । अमेरिकाले आइसिएलाई बम खसाउन थालेपछि त्यहाँ अमेरिकन बाहेक अरु प्लेन उड्दैनन् । त्यहि भएर उनीहरु रोकिएका हुन् । त्यस क्षेत्रमा अरु नेपाली अड्किएको हामीलाई कुनै सूचना छैन ।

इराकमा नेपालीहरु कति छन् र उनीहरु कस्तो अवस्थामा छन् भन्ने त सूचना लिनुभयो होला नि ?
त्यो सम्भव छैन । इराकमा करीव दश हजार नेपाली छन् भनिन्छ तर आधिकारिक तथ्यांक छैन । किनकि अधिकांश अवैधानिकरुपमा त्यहाँ पुगेका छन् । बग्दादको ग्रीनजोन भन्ने ठाउँमा एक हजार जति छन् ।
त्यहाँ राष्ट्रपति भवन, अमेरिकी दूतावास लगायत महत्वपूर्ण व्यक्ति बस्ने ठाउँ हो । त्यहाँ अरु मान्छेभित्र जान पाउँदैनन र भित्रका मान्छे पनि बाहिर निस्कन पाउँदैनन् । त्यहाँभित्र रहेका नेपाली सुरक्षित छन् ।
ग्रीन जोन बाहिर करीव दुई हजार नेपाली होलान् । तर, तिनीहरु बाहिर निस्कन सक्दैनन् । केही समूह बनाएर मसँग भेट भयो । जानकारी लिने प्रयास पनि गरियो । सबैभन्दा बढी नेपाली चाहिँ कुर्दिस्तानमै छन् । उनीहरुमध्ये पनि धेरैको नेपाल  फर्कन  अवस्था छैन ।

arjun-mainali-1उनीहरु किन फर्कन सक्दैनन् ?

ग्रीन जोन बाहिर रहेकाहरु अधिकांश अवैधरुपमा पुगेका छन् । उनीहरुसँग प्रवेशाज्ञा, वर्क परमिटजस्ता कागजात छैनन् । कतिपयको पासपोर्टमा त इराक प्रवेश गरेको छाप समेत छैन । उनीहरु जुन घर वा कम्पनीमा काम गर्छन्, त्यहाँको साहुले दयालु भएर उनीहरुलाई आफ्नो गाडीमा राखेर अध्यागमनसम्म ल्याइदियो भने त आउलान् ।

किनकि अरु अपराध नगरी इराकले अवैध बसेकै आधारमा जेलमा हाल्दैन । नत्र आपत विपतमा परियो, साहुले दुःख दियो, शोषण गर्‍यो भनेर उनीहरु बाहिर निस्कने अवस्था छैन । अधिकांशको अवस्था यस्तै छ भन्ने सुनिन्छ । वास्तमा उनीहरु भगवान भरोसमा त्यहाँ बाँचिरहेका छन् ।

इराकमा भएका करीव दश हजार नेपालीमध्ये महिला पनि पुगेका छन् ?

महिलाको संख्या लगभग आधा छ भन्ने बुझियो । उनीहरु प्रायः सबै अवैधरुपमा त्यहाँ पुगेका छन् र हाउसमेडका रुपमा काम गरेका छन् । घरबाट बाहिर निस्कने, उनीहरुको सन्देश बाहिर ल्याउने त सम्भवै छैन । किनकि घरबेटीले एजेण्टमार्फत उनीहरुलाई पैसा तिरेर लगेको हुन्छ । घरबेटी नै दयालु भयो भने एउटा कुरा हो, नत्र उनीहरु बेचिएकै अवस्थामा छन् ।

यति भयावह अवस्था सुनाउँदै हुनुहुन्छ, नेपाल सरकारले उनीहरुका लागि केही गर्नु पर्दैन ?

तपाईको यो प्रश्न महत्वपूर्ण छ । मसँग पनि भेट भएकाहरुले यस्तै कुरा गरे । उनीहरुको चाहना सरकारले हाम्रो चाँडो उद्धार गरिदेओस् भन्ने छ । तर, हाम्रो त्यहाँ दूतावास छैन । दूतावास भएको भए आपत विपतमा परेकाहरुको उद्धार गरेर स्वदेश फर्काउने पहल गर्न सकिन्थ्यो । अहिले त कसलाई के भइरहेको छ भन्ने पनि पूरा जानकारी हुँदैन । हामी त्यहाँ भएका बेला पनि उनीहरु भेट्न आउने अवस्था थिएन ।

इराकमा जानुहुँदैन भन्ने पनि थाहा छ, सरकारले पनि रोकेको छ तर कसरी पुग्छन् त्यहाँ नेपालीहरु ?

धेरैजसोलाई इराक जाँदैछु भन्नेनै थाहा हुँदोरहेनछ । किर्गिस्तान भनेर कुर्दिस्तान पुर्‍याउँदा रहेछन् । अरु देश भन्दै इराक पुर्‍याएको पनि पाइयो । वास्तवमा नेपालीहरुको बानी दलाललाई विश्वास गर्ने । सरकारलाई विश्वास नगरी दलालको लहलहैमा पैसा खर्च गरेर जाँदा यस्तो अवस्था आएको हो । कहाँ जाँदैछु, कहाँको भिसा हो भन्ने कुरा सबै बुझेर सरकारी संयन्त्रमा सोधेर जाने हो भने यस्तो हुँदैन ।

यति भनेर सरकार पन्छिन मिल्ला र ?

मैले त्यसो भनेको होइन । सरकारले गर्ने त आफ्नो नागरिकका लागि गरिहाल्छ । तर, सरकारले गर्न नसकेको भनेको ठगी गरेर झुक्याएर वारजोनमा बेच्ने मानव तस्करलई कारवाही गर्न नसक्नु हाम्रो कमजोरी हो । त्यसमा सरकारले केही गर्न नसक्नुमा पनि उहाँहरुकै हात छ ।
आफ्नी छोरी इराकमा अलपत्र परी भनेर आउनुहुन्छ, तर को मार्फत गएको भन्ने उहाँहरुलाई थाहा हुँदैन । यसले गर्दा सरकारले कारवाही गर्न अप्ठेरो परेको छ । सरकारलाई विश्वास नगरी दलालको भर पर्दा यस्तो अवस्था आएको छ ।

भारतले धमाधम आफ्ना नागरिकलाई फिर्ता गरेको छ, नेपाल सरकारले पनि इराक सरकारसँग कुरा गरेर एकपटकलाई फिर्ता गराउन सक्दैन ?

योचाहिँ राजनीतिक प्रश्न भयो, मैले यसबारेमा केही भन्न सक्दिँन । भारतले त अहिले पनि दूतावासमार्फत काम गरिरहेको छ । अहिले उच्च अधिकारी विशेष दूत बनेर सुरेश रेड्डी गएका थिए । उनीहरुले घर फर्किन चाहनेहरुलाई आह्वान नै गरेर ५ ठाउँमा क्याम्प खडा गरेका छन् । उनीहरुको हवाइ टिकटलगायत सबै व्यवस्था सरकारले गरेको छ । उनीहरुसँगै काम गरेका नेपालीसँग मलाई पनि सम्पर्क गराइदिए । हाम्रा नेपालीहरु सुरक्षित नै छन् ती ठाउँमा ।
वैदेशिक रोजगारमा जान चाहने, विशेष गरी इराक जानेहरुलाई के भन्न चाहानुहुन्छ ?

अरुको भरमा परेर लहलहैमा नजानुस् । इराकमा छिर्न जति सजिलो छ, त्यहाँबाट फर्किन धेरै गाह्रो छ । प्राण गए पनि फर्किन सकिन्न । त्यहाँ हाम्रो दूतावास पनि छैन सहयोग गर्ने । अहिले त्यहाँ गएका धेरै नेपाली दाजुभाइ पश्चाताप गरेर बसेका छन् ।

उनीहरुलाई चाहेर पनि ल्याउने अवस्था छैन । मानव तस्करले तपाईलाई पनि वारजोनमा लगेर बेच्न सक्छन्, त्यसैले होस गर्नुस् । इराकमा जाने सोच्दै नसोच्नुस् । अन्यत्र पनि समस्या छन्, बुझेरमात्र जानुपर्छ ।

प्रस्तुती मात्रिका पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment