Comments Add Comment

एमालेको राहत कोषमा दुई दिनमै ५२ लाख

३ भदौ, काठमाडौं । नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका जनताको राहतका लागि खडा गरेको केन्द्रीय राहत कोषमा दुई दिनमै ५२ लाख भन्दा बढी जम्मा भएको छ ।
CPN_UML_officeकेन्द्रीय कमिटी सदस्यहरुबाट २५ लाख उठेको भोलिपल्टै एमालेका जनवर्गीय संगठनहरुले राहत कोषमा थप २६ लाखभन्दा बढी बुझाएका छन् । केन्द्रीय सदस्यहरुले सात हजारका दरले यसअघि नै कोषमा रकम जम्मा गरिसकेका छन् ।
महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित केन्द्रीय प्राकृतिक विपत्ति राहत कोषमा मंगलवार २६ लाख १० हजार जम्मा भएको एमालेले जनाएको छ ।
कसले कति पैसा दिए
कोषमा सबैभन्दा बढी पेशागत महासंघ नेपालले १० लाख रुपैयाँ योगदान गरेको छ । महासंघमा एमाले सम्वद्ध सरकारी कर्मचारी, पेशाकर्मी र बुद्धिजीवीहरु आवद्ध छन् । उनीहरुले कम्तिमा दुई दिनको तलब योगदान गरेको एमाले स्रोतले जनाएको छ ।
त्यस्तै एमाले सम्वद्ध कानुन व्यवसायीहरुले ३ लाख, गृहमन्त्री वामदेव गौतम नेतृत्वको अखिल नेपाल किसान महासंघले २ लाख, उद्यमी व्यवसायी महासंघले २ लाख र अनेरास्ववियुले २ लाख योगदान गरेको एमालेले जनाएको छ ।
एमालेको मोर्चा संगठनका प्रमुख शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय राहत कोषमा एकमुष्ठ रकम बुझाएको हो । बाँकी रहेका भातृ संगठनले पनि तत्कालै बुझाउने छन् ।
सुनकोशी पीडितलाई १२ लाख
एमालेको तर्फबाट यसअघि नै सिन्धुपाल्चोकका पहिरो पीडितलाई करीव १२ लाख रुपैयाँ बराबरको राहत वितरण गरिसकेको पार्टीले जनाएको छ । जसमा सिन्धुपाल्चोक जिल्ला कमिटी र सम्पर्क मञ्चबाट ५ लाख ५१ हजार, युवा संघ नेपालबाट नगद र जिन्सी गरी ४ लाख छ ।
त्यस्तै अनेरास्ववियुको तर्फबाट १ लाख २५ हजार,, कर्मचारीबाट ५१ हजार र एमाले केन्द्रीय सदस्य तथा सभासद शेरबहादुर तामाङको तर्फबाट एक महिनाको तलब ५० हजार हस्तान्तरण गरिसकेको महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment