Comments Add Comment

मोदीले किन गरिरहेका छन् यी हर्कत ?

Prakash-Raiप्रकाश राई

नेपालको संसदमा भाषण गर्ने विदेशी प्रथम राष्ट्र प्रमुख बने मोदी । नेपालले सिर्जना गरिदिएको यो ऐतिहासिक अवसरलाई मोदीले भरपुर प्रयोग गरे । मोदीले संसदमा भाषण गरिरहँदा दुई सन्दर्भमा नेपालका साँसदहरु खुसी भएर टेवल ठोकिरहे । एक, नेपाल सार्बभौम राष्ट्र हो भन्ने सन्दर्भमा । र, अर्को बुद्ध नेपालमा जन्मिएका थिए भन्ने सन्दर्भमा । यी सन्दर्भमा सांसदहरुले टेबल ठोकिरहँदा लाग्थ्यो अब चाँहि नेपाल त साँच्चै सार्बभौम राष्ट्र बन्यो त ! जसको अर्थ हुन्छ, हिजोसम्म नेपाल सार्वभौम राष्ट्र थिएन ।

अर्को, बुद्ध नेपालमा जन्मिएका थिए भन्ने कुरा इतिहाससिद्ध प्रमाणित कुरा हो । मोदीले बुद्ध नेपालमा जम्मिएको हो भन्दा हर्षको विषय कसरि हुन्छ ? मोदी वा कसैले बुद्ध भारतमा जन्मिएको हो भन्दा भारतमा जन्मेको हुने र नेपालमा जन्मिएको हो भन्दा नेपालमा जन्मिएको हुने हुन्छ र ? हो त ऐतिहासिक प्रमाणहरुले प्रमाणित गर्ने कुरा हो । र, प्रमाणित भइसकेको कुरा हो । त्यसैले मादीले बुद्ध नेपालमा जन्मिएको हो भन्दा खुसियाली मनाउनु शक्तिपूजक संस्कृति र मनोविज्ञानको संकेत मात्र हो ।

मोदीले संसदमा गरेको भाषणको अर्को प्रसंग थियो : युद्ध र बुद्धको । युद्धको बाटो छाडेर बुद्धको बाटामो हिँडेकाहरुलाई उनले बधाइ दिए । यो प्रष्ट छ, उनले नेपालका माओवादीहरुप्रति संकेत गरेका हुन् । नेपालमा शान्ति प्रक्रियाको माध्यमबाट जनयुद्धको व्यवस्थापन हुनु एक ऐतिहासिक घटना हो । यो त्यसबेलाको आन्तरिक र वाह्य दुबै राजनीतिक, सामाजिक, आर्थिक र अरु धेरै प्रकारका अवस्थाहरुको परिस्थिति जन्य घटना हो ।

यसै प्रसंगमा आएको सन्दर्भ थियो शस्त्रबाट शास्त्रमा प्रवेश गरेको । वास्तवमा शस्त्र पनि शास्त्रकै आधारमा चल्छ । शस्त्र कहिलेकाँहि देशको सार्बभौमिकता रक्षाका लागि चल्छ । कहिले अखण्डता रक्षाका लागि चल्छ, त कहिले वर्गीय शोषण र उत्पीडनको अन्त्यका खातिर चल्छ । यो सबै नै शास्त्रमा आधारित हुन्छ ।
modi-in-pashupati 2इतिहासमा चीन र भारतबीचको शस्त्रयुद्ध पनि शास्त्रमै आधारित थियो । बरु सत्य के हो भने शस्त्रको बाटो वाध्यात्मक बाटो हो, रहरको होइन । कतिपय सन्दर्भमा त्यो बाध्यात्मक आवश्यत्ताको बाटो पनि हो ।

निश्चितरुपमा युद्ध सबैका लागि हुँदैन । अझै वर्गीय युद्ध त सर्वहारा -शोषित, पिडित) वर्गले पुँजिपति (शोषक, उत्पीडक) वर्गको विरुद्ध लडिने लडाइँ हो । त्यसैले यो एउटा वर्गको पक्षमा अर्को वर्गको विरुद्ध लडिने लडाइँ हो । त्यसैले आफ्नो वर्ग स्वार्थको रक्षाका लागि यो विरुद्ध एउटा वर्ग सधैं लागिरहन्छ । मोदीको शस्त्र र शास्त्रको प्रसंगलाई सायद यही दृष्टिकोणबाट हेरिनु वस्तुसंगत हुन्छ ।

मोदी भ्रमणको अर्को महत्वपूर्ण पक्ष हो उनको हिन्दु धर्म पक्षधरता । उनी पशुपति गए । साउनको सोमबार पारेर पूजापाठ गरे । उनले पशुपतिको महिमालाई उँचो पारे । उनको पृष्ठभूमिले समेत यो कुरालाई प्रष्ट गर्छ कि उनी हिन्दु धार्मिक नेता हुन । उनको पार्टीका कतिपय नेताहरुले नेपाल धर्मनिरपेक्ष राज्य घोषणा हुँदा प्रकट गरेको असन्तुष्टिले उनीहरु नेपाल हिन्दु राष्ट्र होस् भन्ने चाहन्छन् भन्ने कुरा प्रष्ट हुन्छ ।

मोदीले नबोले पनि एउटा धर्म निरपेक्ष राष्ट्रको कार्यकारी सरकार प्रमुख अर्को धर्मनिरपेक्ष राष्ट्रमा आएर एउटा निश्चित धार्मिक स्थानमा धुमधाम पुजापाठ गर्नुले के संकेत गर्छ ? प्रष्ट छ । किनकि उनी स्वयंभु गएनन्, त्यो उनको धार्मिक स्थल थिएन ।

नेपालका राजनीतिक नेतृत्वले मोदीको भ्रमणलाई धेरै उचाइबाट हेरेका छन् । त्यो स्वाभाविक पनि होला । धेरै महत्वका साथ हेरेका छन्, त्यो आवश्यक पनि होला । तर, यसलाई अहिले कतिपयले ठूलो प्राप्तिका रुपमा हेरेका छन्, यो अतिरञ्जना मात्र हो ।

हो, निश्चित रुपमा नेपालले अग्रसरता लिँदा धेरै कुराको सम्भावना खुलेको जस्तो देखिन्छ । अहिले सबै कुराको परिणाम नेपालको भूमिकामा निर्भर हुनेजस्तो देखिन्छ । नेपालले चाहँदा आफ्नो स्वार्थ रक्षा गर्दै भारतबाट केही फाइदा लिन सक्ने अवस्था सिर्जना भएको हो कि भन्ने देखिन्छ । तर, त्यो मूर्तिकृत भइसकेको छैन ।

फेरि यो मोदीको व्यक्तिगत कारणले र चाहनाले वा उदारताले नभई अहिलेको विश्व परिस्थिति, क्षेत्रीय परिस्थिति र भारतको आफ्नै आवश्यकताको कारणले सिर्जना भएको हो । हामीले यसलाई अतिरञ्जनामा बुझ्नु आवश्यक छैन । यदि बुझियो भने त्यो गलत हुनेछ ।

अन्त्यमा,

बाहिरबाट भारतलाई गाली गरेर राष्ट्रवादी बन्न खोज्ने जबरजस्त एउटा प्रवृति नेपालको राजनीतिमा छ । भारतसामु लम्पसार पर्ने नेपाली राजनीतिक दलका नेताहरुको काँधमा टेकेर मनपरि गर्न खोज्ने भारतीय पक्षको एउटा हेपाहा प्रवृतिको कारण जन्मिएको यो प्रवृतिको नेपाली राजनेताहरुले एकता र शाहस प्रदर्शन गरे एक हदसम्म समाधान हुने संकेत देखाएका छन् मोदीले । यो उनको बाध्यात्मक परिस्थितिले निर्माण गरेको संयोग हो ।

असमान सन्धि, सम्झौताहरुको खारेजी, पञ्चशीलको सिद्धान्तमा आधारित सम्बन्धको शुरुवात हुन सक्दछ । तर, यो धेरै नेपाली राजनेताहरुको भूमिकामा भर पर्दछ । तर, यसको अर्थ यो होइन कि अब नेपाली पक्षले जे चाह्यो, त्यही हुन्छ ।

बरु यथार्थ के हो भने भारत अहिले त्यस्तो अवस्थामा छ कि उसले नेपालप्रतिको हेपाहा प्रवृति अनिवार्य परिवर्तन गर्न जरुरी छ । होइन भने यो दक्षिण एसियामा सुपरपावर बनेर विश्व राजनीतिको शक्तिशाली खेलाडी बन्न चुनौतीपूर्ण हुनेछ ।

त्यसैले नेपालको लागि यो समय उपयुक्त समय हो । तर, अहिलेसम्मको इतिहास हेर्ने हो भने यो परिस्थिति फेरि पनि कुकुर र कासीको कथामा परिणत पनि हुन सक्ने सम्भावना जीवितै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment