Comments Add Comment

मलेसियाका मानव संसाधनमन्त्री काठमाडौंमा

४ भदौ, काठमाडौं । मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइम नेपालको दुईदिने भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् ।

नौ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका मन्त्री जइमलले मलेसियामा रहेका नेपाली श्रमिकको व्यवस्थापन र उनीहरुकास समस्या समाधानका उपाय खोजीका बारे नेपाल सरकारका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ ।

Datuk Richard Riot Jaemनेपालमा रहँदा मन्त्री जइमले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसँग भेट्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा मन्त्री जइमले नेपाली अधिकारीहरुसँग द्विपक्षीय श्रम सम्झौता, नेपाली श्रमिकको हकहित संरक्षण, नेपालका वैदेशिक रोजगार व्यवसायीको त्यहाँका रोजगारदाता कम्पनीसँग प्रत्यक्ष सम्बन्ध स्थापना र मलेसियामा बन्दी जीवन बिताइरहेका नेपालीलाई चाँडो स्वदेश फर्काउने बारे छलफल हुने बताइएको छ ।

१३ वर्षदेखि मलेसियाले नेपालीलाई रोजगारी दिँदै आएको छ । हाल त्यहाँ करिब सात लाख नेपाली कार्यरत छन् । मलेसियाले बङ्गलादेशी कामदारमाथि प्रतिबन्ध लगाएपछि नेपाली श्रमिकको माग बढेको हो । सन् २०२० सम्ममा विकसित मुलुकको सूचीमा पर्न मलेसियाले भौतिक एवम् आर्थिक विकास बढाउन आप्रवासी कामदारलाई रोजगारी दिँदै आएको छ । हाल मलेसियामा ३० लाख आप्रवासी कामदार छन् ।

गत वर्ष मलेसिया सरकारले सार्वजनिक गरेको विवरणअनुसार नेपाली श्रमिकले सन् २०१२ मा झन्डै ६३ अर्ब विप्रेषणका रूपमा नेपाल पठाएका थिए । बङ्गलादेश र इन्डोनेसियापछि उक्त देशबाट सर्वाधिक विप्रेषण नेपाललाई प्राप्त भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment