Comments Add Comment

अफ्रिकाबाट आएकालाई पहिचान गर्नै गाह्रो

Ebola help desk machine

ज्ञानेन्द्र खड्का
५ भदौ, काठमाडौं । अफ्रिकामा फैलिएको इबोला भाइरस नेपालमा भित्रन नदिन सरकारले भदौ १ बाट त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेस्कको काम अफि्रकन भूमि टेकेर आएकाहरुलाई निगरानी गरी स्वास्य परीक्षण गर्नु हो । तर, अफ्रिकाबाट आएकाहरु हेल्प डेस्कमा सम्पर्क गर्न हिच्किचाउने गरेका छन् ।

इबोला छिर्ने प्रमुख नाका मानिएको त्रिभुवन विमानस्थलमा स्थापित हेल्थ डेस्कले इबोला संक्रमित पत्ता लाउन त्यति सहज छैन । जहाजमै इबोला हल्थ डेस्कबारे जानकारी गराउने व्यवस्था गरिए पनि यात्रुले हेल्थ डेस्कलाई ढाँटेर हिँड्ने गरेको गुनासो स्वास्थ्यकर्मीहरुको छ ।

‘हामीले फ्लेक्स बोर्डमा प्रष्ट लेखेका छौं, अफ्रिकाबाट आएकाहरुलाई अनिबार्य हेल्थ डेस्कमा उपस्थित हुन भनेका छौं’, अधिकृत दाहालले भने, ‘तर, सूचना दिँदा दिँदै पनि डेस्कलाई छलेर केही व्यक्ति छिर्ने प्रयास गर्दा हामीले रोक्न सफल भयौं ।’

सोमबार मात्रै अफ्रिकन भूमि टेकेर आएका र केही अफि्रकन नागरिकले हेल्थ डेस्कलाई छलेका थिए । अफ्रिकनहरुको अनुहारको बनोट र रंगका आधारमा डेस्कका चिकित्सकले उनीहरुलाई डेस्कमा लगेर स्वास्थ्य जाँच गरेर रेकर्ड राखेका थिए ।

‘हामीले इबोला हेल्थ डेस्कबारे विमानभित्रै पनि सूचना प्रवाह गरिरहेका छौं, यहाँ पनि आगमकक्षको प्रवेशद्वारमै फ्लेक्स बोर्ड राखेका छौं’, दाहालले भने, ‘त्यति गर्दा पनि हाम्रो आँखा छलेर जान खोज्छन्, इबोला भाइरस छिर्नै नदिन प्रत्येक यात्रुको यात्रा कागजातको आधारमा जाँच गर्नुपर्ने हुन्छ तर त्यो झन्झटिलो हुनसक्छ ।’

सरकारले हेल्थ डेस्कलाई अझै बैज्ञानिक प्रविधियुक्त बनाउन नसक्दा अफि्रकाबाट नेपाल आउने यात्रुले सजिलै ढाँट्न सक्ने अवस्था देखिएको हो । यात्रुको इच्छाअनुसार मात्र चेकजाँच हुनेखालको संयन्त्रलाई बाध्यात्मक बनाउन नसक्दा इबोला जाँच प्रभावकारी नबनेको चिकित्सक बताउँछन् ।

‘स्क्रिनिङ मेशीनले देखाएको ज्वरो र अन्य लक्षणका आधारमा अफ्रिकाबाट आएकालाई निगरानीमा राख्दै आएका छौं’, दाहालले भने, ‘ढाँट्न खोज्नेलाई प्रहरीको सहयोगमा फिर्ता बोलाएर स्क्रिनिङ गराएर मात्रै जान दिएका छौं, सकेसम्म कसैले नढाँटुन् भन्ने हाम्रो प्रयास हो, एकजना इबोला संक्रमित मात्रै छिरे भने त्यसको जोखिमको कल्पना पनि गर्न सकिन्न ।’

यसरी गरिँदैछ चेकजाँच

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षको बाटैमा राखिएको हेल्थ डेस्क अगाडि नेपाली र अंग्रेजीजमा बुझ्ने गरी लेखिएको छ-‘तपाईँ अफ्रिकन मुलुकबाट आउनुभएको छ भने कृपया हेल्थ डेस्कमा सम्पर्क गर्नुहोला ।’
हेल्थ डेस्कमा स्क्रिनिङ मेसिनसहित विहानैबाट मध्यरातिसम्म ५ जना चिकित्सक खटिएका छन् । प्रवेशद्वारमा राखिएको स्क्रिनिङ मेसिनले नेपाल छिर्ने यात्रुको तापक्रम देखाएको आधारमा चिकित्सकहरुले यात्रुलाई निगरानी गर्नुपर्ने अवस्था छ । त्यो मेसिनले कुनै यात्रुको तापक्रम सामान्य भन्दा बढी देखायो भने चिकित्सहरुले उनीहरुलाई रोकेर स्वास्थ्य जाँच गर्ने गरेका छन् ।

मनिटरमा तापक्रम बढी देखाएको व्यक्तिको पुनः अर्को मेसिनले पनि तापक्रम नाप्ने गरिएको छ । अफि्रकन भूमि टेकेर या अफि्रकामा बसेर आएको यात्रु भेटिए दुई पटकसम्म उसको तापक्रम जाँचेर सम्पर्क नम्बरसहितका आवश्यक विवरण राखी पठाइने गरेको इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाका अधिकृत कुमार दाहालले बताए ।

नेपाली सेनाको छुट्टै संयन्त्र
द्वन्द्वग्रस्त राष्ट्र लाइबेरिया, नाइजेरियाा र सिएरालियोनमा इबोलाले आतंक मच्चाएको छ । लाइबेरियामा शान्ति कायम गर्न नेपाली सेनाको टुकडी कार्यरत रहेको छ । शान्ति सेनामा कार्यरत रहेर नेपाल र्फकने सेनाका जवान पनि स्वास्थ्य निगरानीमा परेका छन् ।

लाइबेरियाबाट आउने नेपाली सेनाका जवानको त्रिभुवन विमानस्थलमा स्क्रिनिङ जाँच गरिन्छ । लाइबेरियाबाट आउने जवानलाई नेपाली सेनाले विमानस्थलबाट सिधै नगरकोट लगेर स्वास्थ्य निगरानीमा राखिरहेको छ । लाइबेरियबाट आएका नेपाली सेनाका केही जवानलाई सेनाले विमानस्थलबाट सिधै नगरकोट लगेर २१ दिनसम्म स्वास्थ्य निगरानीमा राख्न थालेको हो ।

हात नमिलाउनु

इबोला भाइरसबाट जोगिन चिकित्सकहरुले हात नमिलाउन सल्लाह दिएका छन् । चिकित्सकहरुले इबोला भाइरस संकमित विरामीको र्‍याल, प्रयोग गरेका कपडा र रगतबाट पनि अर्कोमा सर्ने भएकाले विरामी नजिक नजान सल्लाह दिएका छन् । साथीभाइसँग भेट्न परेमा हात नमिलाई नमस्ते मात्र गर्न चिकिस्तकहरुको सल्लाह छ ।
इबोलाको संक्रमण भइसकेपछि अरुले विरामीको स्याहार गर्न नसक्ने जनाउँदै इबोला संक्रमितलाई स्वास्थ्यकर्मीले मात्र स्याहार्न सक्ने चिकित्सकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment