Comments Add Comment

स्वदेशमै गाडी उत्पादन सुरु गर्न अर्थमन्त्रीको आग्रह

NADA-AGM

५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले नेपालमै गाडी उत्पादन गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपालमा गाडी उत्पादन गर्न निजी क्षेत्र तयार भए सरकारले जुनसुकै सहयोग गर्न तयार रहेको उनको भनाई छ ।

‘विदेशी गाडी भित्राउन ट्याक्स घटाउनुस् भन्ने मात्र होइन, स्वदेशमै गाडी उत्पादन गर्नेतर्फ सोच्नुहोस्’ अर्थमन्त्री महतले भने- ‘तपाईहरु गाडी उत्पादन गर्न चाहानुहुन्छ भने सरकार प्रोटेक्सन दिन तयार छ ।’

नेपाल अटोमोबाइल डिलर्स एशोसियशन (नाडा)को ३७औं वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै महतले सवारीसाधनमा बढी कर लगाउनु सरकारको रहर नभई बाध्यता भएको बताएका छन् । सवारी कर उठाएर देशभर सडक निर्माण गरी सरकारले अटो व्यवसाय बढाइदिएको उनको भनाई थियो । काठमाडौंको सडक विस्तार गर्नमात्र सरकारको ३ अर्ब रुपैयाँ खर्च हुने महतले बताए ।

‘२०४६ सालसम्म मुलुकमा जम्मा ७ हजार किलोमिटर सडक थियो, त्यसपछि काँग्रेसको नेतृत्वमा बनेको सरकारले सडक विस्तारलाई प्राथमिकतामा राखेर अहिले मुलुकभर ६० हजार किलोमिटर सडक पुर्‍यायौं’ महतले भने- ‘मुलुकको विकासका लागि सडकलाई पहिलो सर्त राखेर अगाडी बढ्दा मुलुकमा अटो व्यवसायले गती लिएको हो ।’

विदेशी दातृ निकायहरुलाई पनि आफु योजना आयोगको उपाध्यक्ष हुँदा आफ्नै पहलमा सडकमा लगानी बढाउन बाध्य बनाएको उनले बताए । ‘सरकारले काठमाडौं लगायत देशभर सडक विस्तार गरेर अटो व्यवासाय बढाइदिएको छ, नत्र अहिले कोटा तोकेर सवारी भित्राउनुपर्ने अवस्था हुने थियो’ उनले अटो व्यवसायीहरुलाई भने ।

NADA-AGM-3

सरकारले सबै गाडीमा उच्च कर नलगाएको बताउँदै महतले सर्वसाधारणको सरोकार रहने गाडीमा कम कर लगाइएको र महंगा बिलासी कारहरुमा बढी कर लगाइएको स्पष्ट पारे । उनले निश्चित मापदण्ड बनाएर गाडीको बढी भिडभाड हुने ठाउँमा बढी ट्याक्स र कम भिडभाड हुने ठाउँमा कम ट्याक्स लगाउन पनि सरकार तयार रहेको बताए । यसका लागी व्यवसायीले उपर्यूक्त कार्ययोजना बनाएर सरकारसँग छलफलमा आउनुपर्ने महतको भनाई छ ।

व्यवसायीहरुले सवारी साधन विलासी नभई आवश्यकता बनिसकेको बताउँदै कर घटाउन आग्रह गर्दै आएका छन् । तर, अर्थमन्त्री महतले सवारी साधन विलासी र आवश्यकता दुबै भएको दाबी गरेका छन् । ‘आर्थिक अवस्था राम्रो भएको मान्छेका लागि सवारी आवश्यकता बनिसकेको छ, तर आर्थिक अवस्था कमजोर भएकाहरुलाई अझै पनि सवारी साधन विलासी वस्तुकै रुपमा रहेको छ’ उनले भने- ‘आम मानिसलाई सवारी साधन आवश्यकता बनाउन उनीहरुको जिवन स्तर उकास्नु जरुरी रहेको छ ।’ मुलुक समृद्ध भई जनताको जीवन स्तर माथि उकासिएमा अटो व्यवासाय फस्टाउने महतले बताए ।

ट्याक्सीमा सुधार हुनुपर्‍यो

नेपालमा सञ्चालित ट्याक्सीहरु बस्दा पनि गन्हाउने बताउँदै अर्थमन्त्री महतले ट्याक्सीमा सुधार आवश्यक रहेको बताएका छन् । ट्याक्सीका लागि न्यूनतम मापदण्ड बनाएर तत्काल सुधारको काम नगरे विदेशमा समेत नेपालको पहिचान बिगि्रने उनले बताए ।

‘सडक विस्तार भएपछि थोत्रा गाडी गुडाउने होइन, ठूला तथा आकर्षक यातायात सञ्चालन गर्नुपर्छ’ महतले भने- ‘यहाँ त सुधार गर्नुपर्‍यो भन्ने वित्तिकै व्यवसायीहरु घेर्न आइपुग्छन् ।’ सवारीमा यूरो थि्र प्रविधि आइसकेका बेलामा नेपाली सडकमा धुवाँ निस्कने गाडी दौडिने गरेको उनको भनाई छ ।  शहर अनुसारका गाडी सञ्चालन गर्ने गरी न्यूनतम मापदण्ड तयार गर्न आवश्यक रहेको उनले बताए ।

NADA-AGM-2

साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सवारी कर घटाउन सरकारको ध्यानाकर्षण गरे । कर उच्च हुँदा चोरीका सवारीको विगविगी बढेको बताउँदै उनले कर घटाएमा सबै रोकिने दाबी गरे ।

मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको सवारी साधनमा उच्च कर लगाउन नहुने पाण्डेको भनाई छ । उनले कुना काप्चासम्म विकास भएमा सडक विस्तार हुने र अटो व्यवसाय बढ्ने बताए ।

त्यसैगरि, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले पनि सवारीमा कर घटाउनुपर्नेमा जोड दिए । राजधानी लगायत देशभर सडक विस्तार भएकाले सवारी अझै कम रहेको बताउँदै उनले डब्लुटिओको मान्यता अनुसार सवारी कर घटाउँदै लैजान सरकारलाई आग्रह गरे ।

नाडाका अध्यक्ष शेखर गोल्छाले सरकराले सवारी साधनको आयातलाई निरुत्साहित गर्न खोजिरहेको आरोप लगाए । सरकारले सवारी आयातलाई निरुत्साहित गर्न खोजे पनि वित्तीय संस्थाहरुले सुलभ व्याजदरमा सवारी कर्जा उपलब्ध गराउन थालेपछि सवारी प्रयोगकर्ता बढिरहेको बताए ।

केही वर्षदेखि अटोमोबाइल व्यवसाय स्थिर जस्तै रहेको बताउँदै अध्यक्ष गोल्छाले राजधानी लगायत देशभर विस्तार हुँदै गरेको सडक र बढ्दो रेमिट्यान्स्का कारण यस वर्ष सवारी साधनको आयातमा वृद्धि हुने अपेक्षा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment