Comments Add Comment

‘क्रिकेटर अनिललाई सुरुमा सानो भनेर हेपे, पछि डराए’

Nepal-U-16-cricket-team

५ भदौ, काठमाडौं । स्पिन बलिङकै कारण नेपालले एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि जितेको प्रशिक्षक वसन्त शाहीले बताएका छन् । नेपालको जीतसँगै १३ वर्षे बलर अनिल खरेल प्रतियोगिताकै होनहार खेलाडी घोषित भए ।

मलेसियालाई ३२ रनले पराजित गर्दै च्याम्पियन बनेको नेपाली टोली उपाधि लिएर बिहीबार मध्यान्ह काठमाडौं आइपुगेको छ । यू-१६ मा पहिलो उपाधि जितेको टोलीलाई विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामासहितका अधिकारीहरुले स्वागत गरे ।

नेपाली टोलीले विमास्थलमै ‘हिप हिप हुर्रे’ गर्दै जीतको खुसी मनाएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक शाहीले टिम स्पिरिट राम्रो रहेको र गेम प्लान अनुसार नै खेलाडीहरुले खेलेकाले जीत सम्भव भएको बताए ।

प्रतियोगितामा ‘बलर अफ दी टुर्नामेन्ट’ घोषित जितेन्द्रसिंह ठकुरी, होनहार खेलाडी (मोष्ट प्रोमिसिङ प्लेयर) घोषित अनील खरेलसँगै पवन सर्राफ र आशिष पोखरेल नेपाली टोलीका स्पिनर हुन् ।

प्रशिक्षक शाहीका अनुसार सुरुका खेलहरुमा १३ वर्षका अनील बलिङका लागि मैदानमा उत्रँदा विपक्षी टोलीले सानो भनेर हेप्थे । ‘ तर, उनले दिनदिनै विकेट लिएपछि फाइनल अघिको पार्टीमा उनलाई सबैले उचालेर सम्मान गरे’ शाहीले भने-‘अन्तिम खेलमा भने मलेसिया डराएर खेलेको थियो ।’

Nepal-U-16-cricket-team-1

अनिललाई भैरहवादेखि नै प्रशिक्षण दिँदै आएका शाहीले भने-‘टिम बनाउँदा अनिल सानो भयो भन्ने कुरा पनि नउठेको होइन तर, उनलाई मैले चिनेको थिएँ । त्यही भएर मलाई टिममा यो केटा चाहिन्छ भनेको हो ।’

भैरहवामा आफूले सिनियर टिमका खेलाडीहरुसँग खेलाउँदा समेत अनिलले उस्तै आत्मविश्वासका साथ खेल्ने गरेको प्रशिक्षक शाहीले सुनाए ।

बलिङमा अनिलको विशेषता एयर स्पीड भएको भन्दै प्रशिक्षक शाहीले उनको बलमा ब्याट्सम्यानहरु समेत झुक्किएको बताए ।

सहायक प्रशिक्षक राजु बस्न्यातले उमेर समूहमा नेपालको विगतदेखि नै बलिङ नै राम्रो भएको बताए । यद्यपि पि्रमियर क्रिकेटमा अन्य टोलीको भन्दा ब्याटिङ पनि नेपालको राम्रो रहेका बताए । ‘हामी कुनै एक खेलाडीमा भर परेका थिएनौं’ उनले भने-‘टिमलाई चाहिएका बेला एक न एक खेलाडीले राम्रो गरे । यो टिमको जीत हो ।’

प्रतियोगितामा सर्वाधिक १५ विकेट लिएर बलर अफ दी टुर्नामेन्ट घोषित जितेन्द्रले आफ्नोतर्फबाट सक्दो राम्रो गरेको बताए । ‘अझ मेहनत गरेर टिममा पर्ने प्रयास गर्छु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment