Comments Add Comment

मलेसियामा हाउसमेड पठाउन नेपाल तयार

Shram-Mantri-and-Malaysian-Mantri५ भदौ, काठमाडौं । नेपाली महिला कामदार पठाउन मलेसियाले गरेको आग्रहमा नेपालले सहमति जनाएको छ ।

मलेसियाले झण्डै ५ बर्षदेखि नेपाली हाउसमेड पठाउन आग्रह गरिरहेको भए पनि सुरक्षाको कारण देखाउँदै नेपालले अस्वीकार गर्दै आएको थियो ।

नेपाल भ्रमणमा रहेका मलेसियाली मानव संशाधन मन्त्री दातुक रिचार्ड रियट जइम र श्रमराज्यमन्त्री टेकबहादुर गुरुङवीच विहीबार सिहदवारमा भएको छलफलमा नेपाली पक्षले उनीहरुको सुरक्षाका लागि बेग्लै सम्झौता गरिएमा कामदार पठाउन तयार रहेको जवाफ दिएको छ ।

‘खाडी मुलुकहरुमा घरेलु महिला कामदार पठाइरहेका छौं भने मलेसियाजस्तो तुलनात्मकरुपमा खुला मुलुकमा पठाउँदा केही फरक पर्दैन’ श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले अनलाइनखबरसँग भने- उनीहरुको काम र सुरक्षाको ग्यारेन्टी हुने गरि सम्झौता हुनुपर्छ भनेका छौं, यसमा मलेसियाली पक्ष सकरात्मक छ ।’

मलेसियामा फिलिपिन्स, इन्डोनेसिया लगायतका मुलुकबाट धेरै हाउसमेड आपूर्ति हुन्छन् । तर, पछिल्लो दिनमा ती मुलुकले सुरक्षा र तलव लगायतका बिषयमा मलेसियालाई दबाब दिएपछि मलेसियामा हाउसमेडको अभाव देखिन थालेको छ ।

हाउसमेड लैजाने बिषयमा बेग्लै सम्झौता गर्न सहसचिव स्तरीय संयन्त्र बनाउने समझदारी भएको छ । ‘श्रम सम्झौता र हाउसमेडका बेग्लाबेग्लै सम्झौता हुन्छन्, त्यसका अन्तिम टुंगो यही संयन्त्रले लगाउने छ’ खड्काले भने ।

श्रम मन्त्रालयमा करीव सवा घन्टा भएको वार्तामा सन् २०१४ भित्र श्रम सम्झौता गर्ने गरि काम सक्ने भद्र सहमति भएको छ । यसअघि पटकपटक श्रम सम्झौताको अन्तिम खाका बनेर आदानप्रदान भएपनि सम्झौता हुन सकेको छैन् ।

वार्तामा नेपाली पक्षले मलेसियामा अबैधानिक बसेर घरफिर्तिको प्रतिक्षामा रहेका नेपाली कामदारलाई ‘फाष्ट ट्रयाक’ बिधिबाट नेपाल फकाईदिन आग्रह गरेको छ । मलेसिया सरकारको आह्वान अनुसार करिव ६ हजार नेपाली कामदार घरफिर्ति अभियानमा सहभागी भई नेपाल फर्किने प्रतिक्षामा छन् । उनीहरु झण्डै ६ महिनादेखि नेपाल फर्किने प्रतिक्षामा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment