Comments Add Comment

माओवादी मजदूरद्धारा ‘एक्स्प्लोर हिमालय’ घेराउ

५ भदौ, काठमाडौं । अखिल नेपाल क्रान्तिकारी मजदूर यूनियनले बिहीबार ठमेलस्थित एक्स्प्लोर हिमालयको कार्यालय घेराउ गरेका छन् । यूनियनमा आवद्ध क्रान्तिकारी पर्यटन मजदूरहरुले नाराबाजी गर्दै कार्यालय घेराउ गरेका हुन् ।

बद्री चपागाईंको नेतृत्वमा आएको मजदूर समुहले अशोक तामाङलाई स-सम्मान पुनरबहाली गर्नुपर्ने माग राख्दै कार्यालय घेराउ गरेको बताइएको छ । तर, एक्स्प्लोर हिमालयका प्रमुख सुमन पाण्डेले तामाङ आफुहरुको रेगुलर कर्मचारी नभएको दाबी गरे ।

‘तामाङलाई कहिलेकाहीँ गाइड नपुगेको बेलामा काममा लगाउने गरेका थियौं, त्यसमा पनि पछिल्ला दुई वर्ष उनले हामीसँग काम गरेका छैनन्’ पाण्डेले भने- ‘अहिले त्यहि विषयलाई लिएर प्रतिशोधका रुपमा युनियनमा आवद्ध मजदूरहरुले तामाङलाई पुनरबहालीको माग गर्दै कार्यालय घेराउ गरे ।’

मजदूरहरुले विहान ११ बजे करिव आधा घण्टा कार्यालय घेरेको थिए । कार्यालय घेराउका क्रममा उनीहरुले त्यहाँ कार्यरत कर्मचारीहरुलाई आतङ्कित बनाउने काम गरेको पाण्डेले गुनासो गरे ।

‘मेरो अफिसमा काम गर्ने कोही कर्मचारी मर्कामा परेको छ भने उसलाई क्षतिपूर्ती दिन म तयार छु’ पाण्डेले भने- ‘कहिलेकाँही गाइड नपुग्दा बोलाउने गरेको व्यक्तिले पुनरबहालीको माग राखेर कार्यालय घेराउ गर्नु गलत हो ।’ अहिले मजदूरले राखेको माग कसैले पनि सही छ भनेर नभनेको उनको दाबी छ ।

एक्स्प्लोर हिमालयमा युनियनमा आवद्ध मजदूरले आतङ्क मच्चाएको भन्दै ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) ले आपत्ती जनाएको छ । टानका पदाधिकारीको आकश्मिक बैठक बसेर क्रान्तीकारी मजदूरले आफ्ना सदस्य कम्पनीहरुको व्यवसाय धरासाय पार्न खोजेको निष्कर्ष निकालेको छ । यस्ता गतिविधिले पर्यटन उद्योग धरासायी हुने भन्दै टानले सरकारको समेत ध्यानाकर्षण गराएको छ ।

‘सधै मजदूर वर्गको हकहितमा काम गरिरहेको र उनीहरुको समस्या समधान गर्न निरन्तर सम्वादका लागी कार्यदल समेत गठन गसिकेको अवस्थामा एकाएक आफ्ना सदस्य कम्पनीमा आतङ्क फैलाउन काम भइरहेको छ’ टानले भनेको छ- ‘यस्ता अराजक प्रवृत्तिसँग सशक्त रुपमा प्रतिवाद गरि पर्यटन व्यवसायीको सुरक्षा गर्न सम्पूर्ण सदस्य कम्पनीहरुलाई प्रतिकारमा उत्रिन आहृवान गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment