Comments Add Comment

बाबुरामलाई दूर्गाको प्रश्न- धर्मनिरपेक्षता हटाउन खोजेको हो ?

६ भदौ, काठमाडौं । नयाँ संविधानका अन्तरवस्तुबारे युवा सभासदसँग छलफल गर्न सिंहदरबारमा बोलाइएको बैठकमा सभासद दूर्गा पौडेलले डा. बाबुराम भट्टराईलाई सोधिन्- ‘संविधानको प्रस्तावनामा धर्मनिरपेक्षतालाई अपरिवर्तनीयबाट हटाइएको सुनिएको छ, के नयाँ संविधानमा धर्म निरपेक्षता नराख्न खोजिएको हो ?’

Durga-paudelसंविधानसभा अन्तरगत गठित राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दूर्गाको प्रश्नमा कुनै जवाफ दिएनन् । युवा सभासदको कुरामात्रै सुन्ने र राय लिने उद्देश्यले बोलाइएको बैठकमा भट्टराईले सभासदद्वारा उठाइएको प्रश्नको जवाफ नफर्काउने नीति लिएका थिए ।
बरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहकी पत्नी एवं राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षसमेत रहेकी सभासद पौडेलले विहीबार सिंहबरबारमा भएको छलफलमा गणतन्त्र र धर्म निरपेक्षता दुबै ०६२/०६३ को जनआन्दोलनका उपलब्धी भएकाले संविधानको अपरिवर्तनीय खण्डमा धर्म निरपेक्षता र गणतन्त्रलाई छुटाउन नहुने सुझाव दिइन् ।

संघीयतालाई अपरिवर्तनीय नबनाउन माग

सभासद पौडेलले आफ्नो दल संघीयताको विपक्षमा भएको हुनाले संघीयतालाई अपरिवर्तनीय बनाउन नहुने बताइन् । यसअघि भएका छलफलहरुमा संविधानको प्रस्तावनामा राख्ने ‘अपरिवर्तनीय विषयहरु’मा सहमति भएको र त्यसमा धर्म निरपेक्षतालाई अपरिवर्तनीय नबनाउने सहमति भएको समाचार सार्वजनिक भएको थियो ।

नेतृ पौडेलले अनलाइनखबरसँग भनिन्- ‘धर्म निरपेक्षतालाई परिवर्तनीय र संघीयतालाई अपरिवर्तनीय बनाइएकोमा हाम्रो गम्भीर आपत्ति छ ।’
धर्म निरपेक्षतालाई परिवर्तनीय बनाउने हो भने हिन्दुराष्ट्रको माग गर्नेहरुलाई फाइदा हुने सभासद पौडेलको तर्क छ ।

कांग्रेस एमाले र एमाओवादीभित्रसमेत हिन्दुवादीहरु रहेको र उनीहरुले धर्म निरपेक्षतालाई संविधानमा सुनिश्चित नगर्ने षड्यन्त्र गरेको भन्दै राष्ट्रिय जनमोर्चाले आशंका व्यक्त गरेको एक नेताले बताए ।

विवादका चार विषय

समितिका सभासपति डा. बाबुराम भट्टराईले नयाँ संविधानका लागि चारवटा विषयमा आ-आफ्ना दलभित्र छलफल चलाएर सहमतिमा पुग्न युवा नेताहरुलाई आग्रह गरेका छन् । डा. भट्टराईले सूचीकृत गरेका चारवटा विवादका विषयमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणाली रहेका छन् ।

यी विषयमा सहमति खोज्न चाँडै सर्वदलीय छलफल गरिने डा. भट्टराईले सदका युवा नेताहरुलाई आश्वासन दिएका छन । एमाओवादी नेता डा. भट्टराईले संविधान निर्माण प्रक्रियामा सहमति जुटाउन विभिन्न पक्ष सँगको छलफललाई घनिभूत बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment