Comments Add Comment

डा.चित्रप्रसाद वाग्ले र शास्त्रीय सपनाको समाप्ति

शैलेश भट्टराई ­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­
डा. चित्रप्रसाद शर्मा वाग्लेका हातमा डाडु पनि थिएन । पन्यू पनि थिएन । त्यसैले तिनलाई सरकारले उपचार खर्च दिएन । ऊनी अकालमै परलोक भए ।  ऊनीसंग सरकार ढाल्ने तागत पनि थिएन अनि सरकार बनाउने ल्याकत पनि थिएन । त्यसैले ती दु:खीलाई सरकारले पत्याउने कुरै भएन ।

Sailesh-Bhattaraiपत्याएको भए अलिबार बाँच्थे । ती लगभग आफ्नो सम्पति सकाएर गए । परिवारलाई ऋण बोकाएर गए । आफू मेडिकल डाक्टर भएर के गर्नु ! यी दिवंगत डाक्टर चित्रप्रसाद शर्मा वाग्लेका कुरा भए । डा. चित्र विचित्रका थिए । अर्घाखाँचीका अनकन्टार ठाउँहरू उनका रोजाई थिए । उपचार नपाएर छटपटिएका मान्छे चित्रका मित्र थिए । झुत्रे, झाम्रे, राले, सिँगाने, गन्धे, फोहोरी यस्तै यस्तैको उपचार तिनी गर्थे ।

तर, हातमा डाडु-पन्यू हुनेहरू त्यसरी उपचार नपाएर अनि छटपटाएर मर्नु पर्दैन । त्यसरी मर्नु परेको पनि छैन । अनि सरकार ढाल्ने ताकत र सरकार बनाउने ल्याकत भएकाहरूको उपचार सरकारले डराएरै गर्छ । उस्तै परे त्यस्ताको उपचार सरकार आफैं घर आएरै गर्छ । तपाईं हामी सर्बसाधारणलाई इबोलाले बोलाए पनि , एड्सले अँठ्याए पनि, सार्सले सिध्याउन लागे पनि, स्वाइन-फ्लूले समाते पनि वा क्यान्सरले क्याप्प पारे पनि सरकारलाई केही फरक पर्दैन । अहिलेसम्म परेको पनि छैन ।

तपाईं हामी बिरामी भए केही हुन्न । हदै भए हाम्रा आफन्त र इष्टमित्र रोलान् । वहाँहरू बिरामी भए पहिला प्रजातन्त्र रुन्छ । त्यसपछि लोकतन्त्रको विल्लीबाठ हुन्छ । गणतन्त्र घरबारविहीन हुन्छ । अनि देशको दूर्दशा शुरू हुन्छ ।

हामी बिरामी भए हामी र हाम्रा नाता कुटुम्बलाई मात्रै पीडा होला तर वहाँहरू विरामी भए प्रजातन्त्रलाई पीडा हुन्छ । लोकतन्त्र लठिबज्र हुन्छ । गणतन्त्र मुर्च्छा पर्छ । अनि सिङ्गो देशलाई हार्ट अट्याक हुन सक्छ । हामी विरामी भए हद से हद होला हाम्रो सम्पति सकिएला र सडकमा आइएला तर वहाँहरू बिरामी भए देशको सम्पति सकिन्छ । सकिइरहेकै पनि छ ।

अनि देशै सडकमा आउने स्थिति भो भने त झन् के होला ? त्यसो भएको हुनाले आफ्नो माया भन्दा देशको मायाले वहाँहरू आफ्नो स्वास्थ्यप्रति एकदमै संवेदनशील हुनुहुन्छ । त्यही भएर त हाच्छिउँ आउनासाथ हंगकंग हुँइकिहाल्नु हुन्छ, आन्द्रा दुख्न पा’छैन टोकियो टेकी हाल्नुहुन्छ, सिंगान बगिरह्यो भने सिंगापुरको सवारी चलाई हाल्नुहुन्छ , वान्ता आए बैंककतिर बगी हाल्नुहुन्छ, दाँत दुखे दिल्ली दौडीनु हुन्छ, कपाल दुखे कोरिया कुदिदिनुहुन्छ । एक्लै होइन । समय खराव छ एकलै दोक्लै हिंड्नु पनि हुन्न । आफन्त, नातागोता, हुक्के, बैठके, ढोके त भै नै हाले । गोरू बेचेका साइनोका मान्छेहरू पनि संगसंगै लिएर जानुहुन्छ । यसरी स्वास्थयमा खेलाँची गर्ने बानी हराएको झन्डै पच्चीस बर्ष जति भयो ।

त्यसैले हे भगवान् वहाँहरू कहिल्यै विरामी नहुनुहोस् । सधैं निरोगी हुनुहोस् । कहिल्यै दु:ख नपाउनुहोस् । तपाईं हामी पनि यदि आफूलाई साँचिक्कै देशभक्त देखाउन चाहान्छौं भने, राज्यको ढुकुटी बचोस् भन्ने चाहान्छौं भने रोग जति जम्मै बरू आफू र आफ्नो परिवारलाई मात्रै लागोस् वहाँहरूलाई कहिल्यै नलागोस् भनेर कामना गरौँ । भाकल गरौँ ।

फेरि डा. चित्रकै कुरा एकछिन । उनको मृत्युले पंक्तिकारलाई एकदमै विचलित बनायो । ऊनी परलोक भएको बेला हरदम त्यही सोचिरहने भएकोले होला एक दिन सपनामा डा.चित्र आए । रुँदै डा.चित्रलाई सोधेंछु – ‘डाक्टर सा’प तपाईंको मृत्युले एकदम विचलित बनायो के गरौँ ?’ वहाँले भन्नुभो- ‘उपाय सजिलो छ । मेरो जसरी नमर्ने हो भने गर्नुपर्छ राजनीति र हुनुपर्छ नेता ।’ यति भनेर वहाँ अलप हुनुभो ।

Dr-chitra-pd-wagleवास्तवमा डा.चित्रको मृत्युले बनाएको स्पष्ट चित्र यही नै हो । डाक्टर, इन्जिनियर, पाइलट, बैज्ञानिक , वकील, व्यापारी यस्ता उस्ता बनेर काम छैन अब । छोराछोरी डाक्टर, ईन्जिनियर इत्यादि बनाउने सपना ‘शास्त्रीय सपना’ भो अब । चित्रको मृत्यु अघि मैले पनि मेरा छोराछोरीलाई त्यही बनाउने सपना देखेको थिएँ । तर अब म बदलिएँ । देख्न छाडें त्यस्तो क्लासिक सपना । तपाईं पनि बदलिनुस अब । भो नदेख्नुस त्यस्ता पाङ्दुरे सपना अब । अब आधुनिक सपना देख्ने गर्नुपर्छ । आधुनिक सपना यानेकी छोराछोरीलाई बेलैमा दलीय राजनीतिमा हुली हाल्ने । बेलैमा एउटा राम्रो दल समाउने राजनीतिमा लगाउने अनि उच्च स्तरको पदमा पुगेपछि त हाच्छिउँ आए हंगकंग, पेट दुखे टोकियो … … ..! छोराछोरी पढाउन स्वदेशी वा विदेशी छात्रवृत्ति हाजिर । चौबिसै घण्टा सेक्यूरिटी । गास, बास, कपासको त कुरै भएन ।

यसरी आधारभूत आवश्यकता मतलव गास, बास, कपास, शिक्षा, स्वास्थ्य ,सुरक्षा त स्वत: जीवनभरीलाई नै ग्यारेण्टी नै भै हाल्यो । यी जाबो आवश्यकता त वहाँहरूका श्वानहरूले समेत पूरा गरिरहेका हुन्छन् -शिक्षा बाहेक । त्यतिमात्रै होइन बेला बेलामा आर्थिक क्रान्तिको महसूस गर्न पाइन्छ । प्रजातन्त्र प्राप्ति पछिको पहिलो आर्थिक क्रान्ति अर्थात् पजेरो क्रान्ति भएको पनि दशकौं भैसक्यो । त्यतिले मात्रै अब स्टाटस् मेन्टेन गर्न गाह्रो भो । फेरि त्यो क्रान्ति प्रजातन्त्रकालको उपलब्धि हो । लोकतन्त्रकालको उपलब्धि खोइ त भन्दा छैन । त्यसैले अहिले हाम्रो लोकतान्त्रिक गणतन्त्र ‘पाँच-करोड क्रान्ति’ को संघारमा छ । त्यसको पहिलो चरण पूरा भइसकेको छ । यसपछिका अरू क्रान्ति त देख्नै बाँकी छ । गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा- जाबो यतिको ग्यारेन्टी होइन त्यो समाजवाद भनाउँदोमा पनि !

अनि कसले भन्छ नेपालमा समाजवाद आको छैन भनेर ? नेपालमा समाजवाद पूरापूर आइसक्यो । स्क्याण्डिनेभियन देशहरूको भन्दा उन्नत स्तरको समाजवाद आइसक्यो । खै कसलाई आयो भन्ने तुच्छ प्रश्नमा घोत्लिएर समय बर्वाद गर्नु हुन्न भन्ने पंक्तिकारको मान्यता छ ।

डा.चित्रले पंक्तिकारलाई सपनामा दिएको सल्लाह हाम्रा राजनीतिक दलहरूले पनि शायद सुनेजस्तो छ । त्यसैले राजनीतिमा धेरै भन्दा धेरै जनता लाग्नेछन् र ती लागेकाहरूको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्नुपर्छ भनेर प्रत्येक दलले पदाधिकारी तथा केन्द्रीय कमिटीको जम्बोकरण तीब्र बनाएका छन् ।

यही रफ्तारमा प्रगति हुँदै जाने हो भने आगामी पाँच दश बर्ष भित्रमा पार्टीमा लागेको प्रत्येक मान्छे कि त पदाधिकारी भित्र पर्छ कि त केन्द्रीय कमिटिमा । दश पन्ध्र बर्ष अगाडि एउटै महासचिव वा एउटै महामन्त्री वा अध्यक्ष पार्टी चलाउन काफी थियो भने अब जनसंख्या पनि बढेर होला , पार्टीका कार्यकर्ता पनि बढेर होला, अनि दश बर्ष अगाडीको प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रमा रूपान्तरण भएर होला अथवा सत्तारोहणको बरम्बारता बढेर होला एक जना अध्यक्षलाई साथ दिन पन्ध्र जना सह-अध्यक्ष ,पन्ध्र जना उपाध्यक्ष, सचिव त्यति नै अनि महासचिव, उप-महासचिव पनि त्यतिनै चाहिने भैसक्यो ।

दलको कोष पनि दिनानुदिन बढ्दै गएपछि कोषाध्यक्ष पनि त्यति नै संख्यामा चाहिहाल्यो । त्यति मात्र होइन, सह-महासचिव, सह-सचिव, उप-सचिव, मुख्य-सचिव,प्रधान-सचिव, सहायक-सचिव जस्ता पदहरूको दरवन्दी पनि सिर्जना पनि पक्कै हुनेछन् । यिनमा पनि प्रत्येकमा पन्ध्र जना त घटीमा भर्ना भै हाल्छन् । पदाधिकारी नै यति धेरै भएपछि केन्द्रीय सदस्यको त झन् कुरै नगरौं । बाटोमा कुनै दलको कुनै कार्यकर्ता भेट्नु भो भने उ कम्तिमा केन्द्रीय सदस्य पक्कै हुनेछ । यहींबाट थाहा हुन्छ, हाम्रो राजनीतिमा कति सम्भावना बढेको छ भनेर । भर्खरै नेपाल भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा जल देखि जडीबूटी सम्मका अनेकन् सम्भावनाहरू केलाए तर यो सम्भावनाको चर्चा चाहिं कता सेलाए कता सेलाए । कुरै उक्काएनन् ।

हाम्रो बहुदलीय लोकतान्त्रिक गणतन्त्र अझ परिष्कृत हुँदै गएपछि एउटै दलमा दुई वा सो भन्दा बढी अध्यक्षहरू पनि हुनेछन् । यसलाई अन्यथा लिनु हुन्न किनभने यसले हाम्रो लोकतन्त्रको सुन्दरतामा थप निखार ल्याउनेछ जसरी दुई ठाउँबाट चुनाव हारेका मान्छेलाई कार्यकारी बनाउँदा हाम्रो लोकतन्त्रको सुन्दरताले संसार हल्लाएको थियो । अध्यक्ष दुई वा सो भन्दा बढी भएर के भो त पार्टी त एउटै हुने हो । हाम्रा दलहरू खासगरी ठूला दलहरूलाई अब फूटमा विश्वास पटक्कै छैन । बरू गूटमा विश्वास अटूट छ ।

किनभने टूटफूटले भन्दा अटूट गूटले कुर्सीको मोलमोलाइमा पुट दिन्छ भन्ने कुराको तत्वज्ञान वहाँहरूलाई अब भैसक्यो । त्यसैले एउटै दलमा बरू दुई वा सो भन्दा बढी अध्यक्ष राखेर भएपनि पार्टी चाहिं फुट्ने छैनन् । त्यसैले पनि राजनीतिमा लागौं उज्ज्वल भविष्य बनाऔं भनेको हो । डा.चित्रको उपचारको अभावमा भएको निधनको सन्देश पनि शायद यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment