Comments Add Comment

बालुवाटारमा प्रचण्डको हैसियतबारे छलफल

९ भदौ, काठमाडौं । सत्ता साझेदार चार दलको बैठकमा उच्चस्तरीय राजनीतिक समिति गठन गरेर आफूलाई संयोजक बनाउनुपर्ने एमाओवादी अध्यक्ष प्रचण्डको मागबारे छलफल भएको छ ।

Prachandaसुशील कोइराला प्रधानमन्त्री भएपछि सत्ता साझेदार चार दलको बैठक पहिलो पटक बसेको थियो । बालुवाटारमा बसेको बैठकले प्रचण्डको हैसियतको समीक्षा गर्दै राजनीतिक समिति गठन अवश्यक नभएको ठहर गरेको छ । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले, राप्रपा र नेकपा मालेका नेता सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेस र एमाले नेताहरुले आफूहरु राजनीतिक समिति गठनका लागि तयार नभएपछि एमाओवादी नेताहरु वार्तामा बस्दैनौं भन्दै उठेर हिँडेको जानकारी गराए ।

लगत्तै राप्रपा अध्यक्ष पशुपतिसमशेर राणासहितका नेताहरुले प्रचण्ड शान्ति प्रक्रिया र संविधान निर्माणको एक पक्ष भएको भन्दै केही हैसियत दिनुपर्छ कि भन्ने प्रस्ताव राखेका थिए । राप्रपा नेताहरुको प्रस्तावपछि बैठकमा सहभागीहरुले प्रचण्डको हैसियतको समीक्षा गरेका हुन् ।

प्रचण्ड तेस्रो ठूलो दलको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको संसदीय दलको नेता र पूर्वप्रधानमन्त्री समेत भएकाले प्रचण्डका लागि अर्को कुनै समिति बनाएर संयोजक दिनु नपर्ने चार दलको ठहर छ ।

अधिकारसम्पन्न राजनीतिक समिति बनाउँदा संविधानसभाको टोपी हुने र सल्लाहकारको हैसियतको बनाउँदा कुनै औचित्य नहुने भएकाले प्रचण्डले समिति गठनको माग गर्नु अनुचित भएको नेताहरुको ठहर छ ।

‘उहाँले अहिले पनि चाहेको बेला सत्तारुढ दल र सरकारसँग छलफल गर्न पाउनुभएकै छ, फेरि किन अर्को समितिको संयोजक चाहियो र ?’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने-‘देखाउनका लागि हो भने हामीलाई मान्य हुँदैन ।’

प्रचण्डको मागअनुसार उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने हो भने अग्रगामीका नाममा वैद्य माओवादी र मधेसीलाई थप्न लगाउन सक्ने र अन्ततः यो समिति संविधान निर्माणको बाधक हुने चार दलको निश्कर्ष छ ।

संविधानका अन्तरवस्तुमा साझा धारणा बनाउने

सत्ता साझेदार चार दलले नयाँ संविधानका अन्तरवस्तुबारे साझा धारणा बनाउने भएका छन् । संविधान लेखन प्रक्रिया विवादास्पद विषयमा प्रवेश गरेको र अबका दिन निणर्ायक हुने भएकाले सत्ता साझेदारहरुले साझा धारणा बनाएर अघि बढ्नुपर्ने बैठकको निष्कर्ष छ । यद्यपि विषय प्रवेश गरेर पनि यसबारे छलफल हुन सकेन । आगामी बैठकमा छलफल हुने बताइएको छ ।

सरकारको आलोचना

बैठकमा राप्रपा र मालेका नेताहरुले सरकार गठन भएको सात महिनापछि मात्र आफूहरुसँग परामर्श गरेको भन्दै आलोचना गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले भने आफू बिरामी भएकाले बाहिर रहेको भन्दै सत्ता साझेदार दलहरुसँग छलफल नहुनु गलत भएको बताए । दुई दलले एमाओवादीसहितका दलहरुसँग वार्ता र छलफल गर्दा समेत आफूहरुलाई पनि सहभागी गराउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment