Comments Add Comment

साँझमा बालुवाटार पुगेर प्रचण्डले रौद्र रुप देखाए

९ भदौ, काठमाडौं । कांग्रेस र एमालेसँग वार्तामा नबस्ने भन्दै आइतबार रिसाएर बालुवाटारबाट बाहिरिएका एमाओवादी अध्यक्ष प्रचण्ड सोमबार साँझ साढे ६ बजे थप आक्रोशित मुद्रामा बालुवाटार प्रवेश गरे ।

बिरामी अवस्थामा रहेका प्रधानमन्त्रीलाई प्रचण्डले यसरी थर्काए कि उनको रौद्र रुप देखेर कोइराला अवाक् बन्न बाध्य भए । प्रधानमन्त्रीले टेलिफोनमा निकैबेर आग्रह गरेर फकाउँदै प्रचण्डलाई बालुवाटारमा बोलाएका थिए ।

Susil-prachandaप्रधानमन्त्रीले बोलाउँदा सुरुमा आउँदिन भनेका प्रचण्डले कांग्रेस सभापतिको हैसियतमा नभई प्रधानमन्त्रीको हैसियतमा मात्रै कुरा गर्ने भन्दै निम्तो स्वीकार गरेका थिए । उनी आधा घण्टा बालुवाटार बसेर लाजिम्पाट फर्किए ।
एमाओवादीसँग भएको चारबुँदे समझदारी कार्यान्वयन नगर्ने सत्तारुढ दलले बताएको भोलिपल्ट प्रधानमन्त्री कोइराला र प्रमुख विपक्षी दलका नेता प्रचण्डबीच भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटमा प्रचण्ड कडा रुपमा प्रस्तुत भएका थिए भने प्रधानमन्त्री रक्षात्मक देखिएका थिए ।

भेटमा प्रचण्डले चारबुँदे सहमति कार्यान्वयन नभए मंगलबारदेखि सदन संघर्ष सुरु गर्ने प्रधानमन्त्रीलाई चेतावनी दिएका हुन् । ‘आफैंले हस्ताक्षर गरेको सहमतिबाट कांग्रेस र एमाले पछि हट्नुले परिर्वतनविरोधी शक्तिले टाउको उठाएको देखिन्छ’ प्रचण्डले प्रधानमन्त्रीलाई भने-‘शान्ति प्रक्रिया पूरा हुन नदिने, संविधान बन्न नदिने र मधेसी तथा जनजातिलाई अधिकार नदिने कार्य सामान्य होइन, गम्भीर र दुभाग्र्यपूर्ण हो ।’

प्रचण्डले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भने-‘जनजाति र मधेसी चुप लागेर बस्दैनन् । चारबुँदे कार्यान्वयन सहमति नभए जुनसुकै मूल्य चुकाउन हामी तयार छौं । हामी सदनमा मात्रै हैन, सडकमा पनि संघर्ष गर्न बाध्य हुनेछौं ।’

आफ्नो नेतृत्वमा रहेको मोर्चाले चारबुँदे कार्यान्वयन नगर्ने कांग्रेस र एमाले नेताको भनाइलाई गम्भीर रुप लिएको भन्दै प्रचण्डले प्रधानमन्त्रीको हैसियतले भोलि नै सम्बोधन नभए सदनमा संघर्ष अघि बढाउने चेतावनी दिएका छन् ।
आफूले उच्चस्तरीय समितिको नेतृत्व नखोजेको प्रचण्डले प्रधानमन्त्रीलाई बताएका छन् ।प्रचण्डको भनाइ उधृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनाखबरसँग भने- ‘व्यक्तिगत रुपमा प्रचण्डले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व खोजेको भन्नु षड्यन्त्र हो, यसो भनेर जनजाति र मधेसीलाई अधिकार नदिने ? मैले चाहियो भनेको हैन, जनजाति र मधेसीलाई, महिलाहरुलाई अधिकार चाहियो भनेको हो ।’

भेटका क्रममा प्रधानमन्त्री कोइरालाले आफूले मंगलबार नै एमाले नेतालाई बालुवाटार बोलाएर चारबुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल गर्ने प्रचण्डलाई आश्वासन दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment