Comments Add Comment

दूध चुसाउँदै, विद्यार्थी पढाउँदै

१० भदौ, बुटवल । भर्खरै बन्दै गरेको नयाँ भवन । भित्री कोठाहरु राम्रोसँग फिनिसिङ पनि गरिएका छैनन् । त्यही भवनको कक्षा कोठाभरि विद्यार्थीहरु भुइँमा ओछ्याइएको कार्पेटमा बसेर अध्ययन गरिरहेका छन् ।

कक्षा कोठाको एक छेउमा विद्यार्थीकै नजिकै एक शिक्षिका काखमा बच्चा च्यापेर दूध चुसाउँदै छिन् । उनी बच्चालाई दूध चुसाउने र विद्यार्थीहरुलाई पढाउने काम एकसाथ गर्छिन् ।

teacher-with-child

झट्ट हेर्दा अचम्मजस्तो लाग्ने यो दृश्य रुपन्देहीको दक्षिणी भेग मर्चवार क्षेत्रस्थित फरेना गाविसको बिजगौरीमा रहेको जनता निम्न माध्यामिक विद्यालयको हो ।

विद्यालयकी शिक्षिका संगीता हरिजन यसरी नै दिनहुँ विद्यार्थीहरुलाई अध्यापन गराउँछिन् । तीन महिनाको दूधे नानीलाई दूध चुसाइरहनुपर्ने र बच्चालाई विद्यालयसम्म ल्याइदिने वा हेर्ने मान्छे नभएपछि उनले दूधे नानीलाई काखमै च्यापेर पढाउन थालेकी हुन् ।

वाल शिक्षाअन्र्तगत वाल शिक्षकका रुपमा कार्यरत संगीताले सरकारी सुविधा अनुसारको दुई महिना सुत्केरी विदा लिएकी थिइन् । तर, त्यसपश्चात आफ्नो दूधे नानीलाई घरमा छोड्ने अवस्था नरहेकाले दिनहँु नानी बोकेरै विद्यालयमा आउने गरेको उनले बताइन् ।

‘नानी सानो छ, छोडेर हिँड्ने बेला अझै भएको छैन’ उनले भनिन्-‘बेला बेलामा दूध चुसाइरहनुपर्छ । त्यसैले नानी लिएरै विद्यालय आउँछु ।’

संगीतामात्रै होइन, विद्यालयकै अर्की शिक्षिका प्रमिलाकुमारी गौड पनि वच्चा लिएरै विद्यालय जान्छिन् । गौडको बच्चा संगीताको भन्दा केही ठूलो अर्थात घरमा छोड्न सक्ने अवस्थाको भए पनि घरमा हेर्ने मान्छे नभएका कारण बच्चा बोकेरै विद्यालय आउने गरेको उनी बताउँछिन् ।

भैरहवा घर भएकी गौड सोही गाउँमा डेरा लिएर बस्दै आएकी छिन् । भाडामा बस्दै आएका कारण कोठामा बच्चा हेर्ने कोही नभएको उनले बताइन् ।

विद्यालयमा दुई शिक्षिकाका बच्चाहरुका लागि सुत्ने छुट्टै व्यवस्था छैन । अफिस कोठाको भुइँमा सानो कार्पेट बिच्छ्याएको छ, त्यसैमा उनीहरुले आफ्ना बच्चा सुताउने गरेका छन् ।

विद्यालय व्यवस्थापनले पनि शिक्षिकाका बच्चा सुताउनका लागि छुट्टै व्यवस्था गरेको छैन । विद्यालयले भौतिक पूर्वाधार र आर्थिक अवस्था पनि नाजुक रहेकोले शिक्षिकाहरुको बच्चाका लागि व्यवस्थित स्थानको व्यवस्था गर्न नसकिएको प्रध्यानाध्यापक सोमईप्रसाद चौधरीले बताए ।

-सञ्जय विश्वकर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment