Comments Add Comment

त्रिभुवन विमानस्थलमा आतंकवादी छिरेको सूचना, फेरि विमान अपहरण हुन सक्ने चेतावनी

Airport
११ भदौ, काठमाडौं । भारतीय कम्पनीको कुनै एउटा जहाज १४ वर्षपछि फेरि अपहरणमा पर्नसक्ने मोबाइल सन्देश प्राप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता ह्वात्तै बढाइएको छ ।

आईसी ८१४ लाई झैं काश्मिरी मुजाहिद्दिन समूहले काठमाडौं-नयाँदिल्ली, कलकत्ता, बनारस, बागडोग्रा सेक्टरको कुनै जहाजलाई आफ्नो कुत्सित उद्देश्य परिपूर्तिका निम्ति कब्जामा लिनसक्ने संकेतसहितको एसएमएस पठाइएको थियो । यस कामका निम्ति केही आतंककारी काठमाडौं छिरिसकेको सूचनाअनुसार अघिल्लो शुक्रबार दिउँसो ३ बजे सुरक्षासम्बन्धी बैठक बसेर कठोर निर्णय लिइएको छ । विषयवस्तुको संवेदनशीलता नै यस्तो कि उक्त बैठक साँझ साढे ५ बजेसम्म चलेको थियो । जापानले सन् १९४१ मा पर्ल हार्वर (हवाई अखण्डा)माथि आक्रमण गर्नसक्ने सूचना प्राप्त हुँदा त्यहाँस्थित ड्युटी अफिसरले नपत्याएर ‘आइ वान्ट कन्फरमेसन’ भनी बेवास्ता गरेकै कारण डिसेम्बर १४ को बिहान ७:५५ बजे अमेरिकामाथि भयंकर क्षति हुन पुगेको -जहाज डुवेर २३ सय नागरिकको ज्यान गएको प्रसंग अझै आलै रहेको जनआस्था साप्ताहिकमा खबर छ ।

शुक्रबारको बैठकपछि एयर इण्डिया, स्पाइस, जेट, इन्डिगो विमानसेवाका कर्मचारीहरुलाई बोलाएर आन्तरिक सुरक्षामा हेलचेक्रयाइ नगर्न भनिएको छ भने उनीहरुसँग १० दिन अगाडिदेखि आगामी एक सातासम्म यात्रुहरुको बुकिङ लिष्ट मागेर प्रत्येक यात्रुको पृष्ठभूमि अध्ययन गरिँदैछ । नेपालका नेता र व्यापारीहरुले सानसौकतका निम्तिसमेत प्रयोग गर्ने भीआईपी कक्षमा कडाइ गरिएको छ । सीआईपी कक्षा उपलब्ध गराउने काम हालका निम्ति रोकिएको छ । आफन्त लिन यसअघि पहुँचवालालाई जहाजको ढोका र अध्यागमनसम्म भिजिटर्स पास उपलब्ध गराउने गरिएकोमा अब त्यसलाई कष्टम अराइभलसम्म सीमित गरिएको छ ।

नेपालगन्ज, विराटनगर, भद्रपुर, सिमरा सेक्टरमा उडान गर्ने बुद्ध र यति एयरलाइन्सलाई पनि भारतीय मूलका शंकास्पद यात्रुहरुमाथि निगरानी गर्न भनिएको छ । यसरी नै अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी भागमा अवस्थित हेलिप्याड पार्किङमा नयाँ सुरक्षा चेकपोष्ट खडा गर्न लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment