Comments Add Comment

साढे तीन खर्ब पुग्यो दश वस्तुकै आयात

१० भदौ, काठमाडौं । विदेशबाट आयात भएका दशवटा वस्तुहरुले कुल आयातको आधा हिस्सा ओगटेका छन् । गत आर्थिक वर्षमा ७ खर्ब ८ अर्ब ७६ करोडको वस्तुहरु आयात भएकोमा दशवटा वस्तुको हिस्सा ३ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा नेपालमा पेट्रोलियम पदार्थको आयात एक खर्ब ३३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । जुन नेपालबाट भएको कुल निर्यात भन्दा ४३ अर्ब रुपैयाँ बढी हो । नेपालबाट ९० अर्ब २९ करोड रुपैयाँको कुल वस्तु निर्यात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पेट्रोलियमको पदार्थको आयात उच्च हुँदा भारततर्फको कुल आयात ४ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यसको अलवा सुनचाँदी, अटोमोबाइल, फलाम, औषधि, चामल, मेसिनरी तथा पार्टपूर्जा, फलामको पाता, कच्चा सोयाविन तेल र सञ्चार उपकरण तथा पार्टसको आयात उच्च रहेको छ ।

Majar Export Goods 2070÷071

राष्ट्र बैंकका अनुसार गत आवमा २४ अर्ब ७९ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ भने १२ अर्ब ७१ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ । गत वर्ष सुनको आयात ५.१ प्रतिशतले घटेको छ भने चाँदीको आयात ४४.७ प्रतिशतले बढेको छ । सुनको भाउमा व्यापक उतार चढाव आएपछि सुन खरिद बिक्रीमा प्रभाव परेको व्यवसायी बताउँछन् ।

भारत तथा अन्य देशबाट नेपाल भित्रिने सवारी तथा पार्टसमा उच्च वृद्धि भएको छ । यस अवधिमा ३९ अर्ब ३२ करोड रुपैयाँ बराबरको सवारी तथा पार्टस आयात भएका छन् । जसमा भारतबाट ३२ अर्ब ९६ करोड र अन्य मुलुकबाट ६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष भारतबाट २६ अर्ब २९ करोड र अन्य मुलुकबाट ३ अर्ब ५९ करोड रुपैयाँको सवारी तथा पार्टस आयात भएको थियो ।

चामलको आयात पनि ४६.४ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड रुपैयाँ पुगको छ भने अन्य मेसिनरी तथा पार्टको आयात २६ अर्ब ४३ करोड, औषधि १८ अर्ब २७ करोड, फलाम २४ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

फलामका पाताको आयात ११ अर्ब ६७ करोड, कच्चा सोयाविन तेल १४ अर्ब ७७ करोड र सञ्चार उपकरण तथा पार्टस १४ अर्ब रुपैयाँ बराबरको अयात भएको छ । भारतबाट आयात हुँदै आएको चिनी बाहेक अधिकांश वस्तुहरुको आयात बढेको छ । चिनीमा मुलुक आत्मनिर्भर बन्दै जान थालेपछि गत आवमा चिनीको आयात ९४.४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment