Comments Add Comment

सत्ताधारी नेताहरु उपचारका लागि विदेश जाँदै

susil-kp-jn
११, भदौ काठमाडौं । असोज मसान्तभित्र नयाँ संविधानको एकीकृत मस्यौदा ल्याउने कार्यतालिका वेवास्ता गर्दै सत्तारुढ दलका शीर्ष नेताहरु उपचार र तीर्थाटनका नाममा विदेश जाने क्रम शुरु भएको छ ।
संविधानमा सहमति जुटाउने प्रमुख दायित्व बोकेका प्रधानमन्त्री एबम् कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि विदेश जाने तयारीमा छन् ।

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभाको मौका पारेर अमेरिकाको न्यूयोयर्कमा क्यान्सरका नियमित उपचारका लागि जाने तयारीमा छन् । उनी असोज पहिलो साता अमेरिका जानेछन् ।

खनाल बेलायतको साटो अमेरिका
नेकपा एमालेका बरिष्ठ नेता एबम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि स्वास्थ्य उपचारका लागि बेलायतको साटो अमेरिका रोजेका छन् ।
खनाललाई भिटामिन डी को कमीले हुने रोग देखिएकाले थप उपचारका लागि आज बेलायत जाने कार्यक्रम थियो ।
उनीसँगै स्वकीय सचिव मिलन अमात्य र निजी चिकित्सक पनि बेलायत जाने टिकट समेत काटिएकोमा एकाएक बेलायत भ्रमण रद्द गरेर अमेरिका जान लागेको स्रोतले जनाएको छ ।

बेलायतमा भन्दा अमेरिकामा राम्रो उपचार हुने सुझाव आएकाले त्यहाँका अस्पतालमा बुझेर केही दिनपछि अमेरिका जाने निधो भएको खनाल निकट स्रोतले जनाएको छ ।
खनालको स्वास्थ्य उपचारका लाग्ने बिल बमोजिमको खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेको छ । परराष्ट्र मन्त्रालयले यसको व्यवस्था मिलाइसकेको स्रोतले जनाएको छ ।

ओली पनि जादै
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली पनि स्वास्थ्य उपचारका लागि पुनः दिल्ली वा बैंकक जाने तयारीमा छन् । उनको दिल्लीमा मृगौला प्रत्यारोपणपछि नियमित फलोअपका लागि जाने गरेका छन् ।

पछिल्लो समयमा हातमा संक्रमण बढेकाले उनी पार्टीका महत्वपूर्ण काम सकेर केही दिन उपचारका लागि विदेश जान लागेको स्रोतले जनाएको छ ।
ओलीको पनि यसअघि बैंकक र दिल्लीमा भएको उपचार खर्च सरकारले व्होरेको थियो ।

subash nembangसभाध्यक्ष अशन्तुष्ट
संविधासनभा सहमति जुटाएर पहिलो मस्यौदा नआएसम्म विदेश भ्रमणमा नजान आफूले गरेको आग्रह नेताहरुले वेवास्ता गरेकोमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भने अशन्तुष्ट बनेका छन् ।
उनले आफ्नो अशन्तुष्टि नेताहरुलाई भेटेरै पोखेको स्रोतले जनाएको छ । नेताहरुले सहमति जुटाएरमात्र उपचारका लागि जाने आश्वासन उलनाई दिएका छन् ।

भदौ तेस्रो साताभित्र संविधानमा नमिलेका विषयमा सहमति जुटाएर असोज मसान्तभित्र पहिलो एकीकृत मस्यौदा जारी गर्ने कार्यसूची छ ।
मस्यौदा जारी नभएसम्म नेताहरुलाई विदेश भ्रमणमा नजान र सकेसम्म जिल्ला भ्रमणमा समेत नजान उनले आग्रह गरेका छन् ।
तर उनको आग्रह वेवास्ता गर्दै एमालेकै अर्का नेता माधवकुमार नेपाल अहिले सपरिवार कैलाश मानसरोबारको तीर्थाटनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment