Comments Add Comment

चार दललाई बालुवाटारमा जुटाउन प्रधानमन्त्री असफल

१२, भदौ काठमाडौं । बालुवाटारमा बुधबार बिहानै वैद्य माओवादीसहित चार दलको बैठक राख्ने प्रधानमन्त्री सुशील कोइरालाको प्रयास असफल भएको छ । बैठकमा आउन गरेको आग्रह एमाओवादी अध्यक्ष प्रचण्डले नमानेपछि प्रधानमन्त्रीको प्रयास असफल भएको हो ।

Susil-koirala‘मोहन वैद्यसहित चारदलको बैठक गरौं भन्दै प्रधानमन्त्रीले टेलिफोन गर्नुभएको थियो,’ प्रचण्डनिकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर, प्रचण्डले पहिले चारबुँदे सहमति कार्यान्वयन गर्नोस् अनिमात्र आउँछौं भनेर निम्तो अस्वीकार गर्नुभयो ।’

नेकपा-माओवादीका सचिव देव गुरुङले पनि प्रचण्डले कांग्रेस एमालेसँग वार्ता गर्न नमानेका कारण प्रधानमन्त्रीले बोलाएको चार दलीय बैठक बस्न नसकेको बताए । ‘एमाओवादीले कांग्रेस र एमालेसँग वार्ता अस्वीकार गरिरहेकाले आज विहान चार दलको बैठक भएन,’ गुरुङले अनलाइनखबरसँग भने, ‘अब फेरि प्रधानमन्त्रीले बोलाएपछि होला ।’

वैद्यको सकारात्मक संकेत

मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा मोहन वैद्य र प्रधानमन्त्री कोइरालावीच दुईपक्षीय भेटवार्तापछि चार दलको बैठक बस्ने टुंगो भएको थियो ।

माओवादीले राख्दै आएको सर्वपक्षीय राजनीतिक सभाका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बुधबार बिहानै कांग्रेस, एमाले, एमाओवादी र माओवादीको संयुक्त बैठक डाक्ने आश्वासन वैद्यलाई दिएका थिए । वैद्य पक्षले जुनसुकै बेला वार्तामा बस्न सकारात्मक रहेको बताएका थिए ।

प्रचण्डको चेतावनी

यसअघि बालुवाटारमा भएको तीन दलीय बैठकमा कांग्रेस र एमालेले चारबुँदे समझदारी तोडेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग वार्ता नगर्ने घोषणा गरिसकेका छन् ।

प्रचण्डले मंगलबार व्यवस्थापिका संसदमा बोल्दै चारबुँदे समझदारी कार्यान्वयन नभए शुक्रबार बस्ने संसदको बैठकसमेत अवरुद्ध गर्ने चेतावनी दिएका छन् । यसअघि प्रचण्डले सोमबार साँझ प्रधानमन्त्री निवासमै पुगेर कोइरालालाई चारबुँदे सहमति कार्यान्वयन नगरिए मधेसी र जनजातिहरु चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

उच्चस्तरीय राजनीतिक समिति गठन गरी त्यसको नेतृत्व आफूले पाउनुपर्ने माग राख्दै आएको एमाओवादीले कांग्रेस र एमालेसँग वार्तामा बस्न सहमति नजनाएसम्म वैद्य माओवादीसहितको चारदलीय बैठक राख्ने प्रधानमन्त्रीको प्रयास फलदायी नहुने देखिएको छ ।

वैद्य नेतृत्वको माओवादीले भने उच्चस्तरीय राजनीतिक समिति आफूहरुको चासोको विषय नभएको भन्दै जुनसुकै बेला बोलाइए पनि वार्तामा सहभागी हुन तयार रहेको बताएको छ ।

कार्यतालिकामा बाबुरामको जोड

संवैधानिक राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईका अनुसार कार्यतालिका अनुसार सहमति गर्ने समय डेढ साताभन्दा बढी छैन । यही समय सीमाभित्र वैद्य माओवादीसँग वार्ता गरी सहमति कायम गर्न आफूले प्रधानमन्त्रीसँग आग्रह गरेको भट्टराईले बताएका छन् ।

डा. भट्टराईले मंगलबार बेलुका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समितिको सभापति बनाएर भए पनि चाँडो वैद्य माओवादीसँग वार्ता प्रक्रिया अघि बढाउन सुझाव दिएको बुझिएको छ ।

त्यसो त बालुवाटारमा मोहन वैद्यसँग भएको छलफलमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भदौ २१ भित्र सहमति गरिसक्नुपर्ने समयसीमा रहेको बताएका थिए । नेता पौडेलको भनाइप्रति टिप्पणी गर्दै वैद्यले गोलमेच सम्मेलन गर्ने हो भने संविधानसभाको कार्यतालिका स्थगित गर्नुपर्ने तर्क गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment