Comments Add Comment

एनआरएनले दैवीप्रकोप उद्धारका लागि आपतकालीन संयन्त्र बनाउन सघाउने

shesh-ghale-and-sushil-koir

१२ भदौ, काठमण्डौं । गैरआवासीय नेपाली संघले दैवी प्रकोप उद्धारका लागि स्थायी प्रकारको आपतकालीन संयन्त्र बनाउन नेपाल सरकारलाई सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर यस्तो स्थायी संयन्त्र निर्माण गर्न प्रस्ताव गर्दै त्यसका लागि सघाउन एनआरएन तयार रहेको बताएका हुन् ।

हालै सुनकोशी र पश्चिम नेपालमा आएको बाढी पहिरोको उदाहरण दिँदै घलेले स्थायी प्रकारको ‘द्रुत उद्धार कार्यदल’ गठन नगरे क्षति कम गर्न नसकिने प्रधानमन्त्रीलाई सुझाव दिएको गैरआवासीय नेपाली संघले जनाएको छ । ‘यदि त्यस्तो उद्धार कार्यदल बनाउन सरकारले अग्रसरता लिन्छ भने गैरआवासीय नेपाली संघ प्राविधिक तथा आथिक सहयोग गर्न तयार छ’ अध्यक्ष घलेले प्रधानमन्त्रीसमक्ष भने ।

जवाफमा प्रधानमन्त्री कोइरालाले त्यस्तो कार्यदलको आवश्यकता महसुस भएको भन्दै एनआरएनको सहयोग नेपाल सरकारका लागि अत्यावश्यक रहेको बताए ।

आठ लाख नगद र ४२० थान कम्मल प्रदान 

हालै देशमा आएको प्राकृतिक प्रकोपले पुर्‍याएको धनजनको क्षतिबाट सम्पूर्ण एनआरएन मर्माहत भएको भन्दै संघले तत्काल राहतको लागि आठ लाख नगद तथा ४२० थान कम्वल प्रदान गरेको र थप सहयोग गर्न पनि तयार रहेको अध्यक्ष घलेले जानकारी गराए ।

करिव एक महिनासम्म उत्तर अमेरिकाका विभिन्न शहरमा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेर फर्किएका अध्यक्ष घलेले त्यहाँ रहेका गैरआवासीय नेपालीहरु आफ्नो सीप र पूँजी नेपाल लगानी गर्न उत्सुक रहेकाले नेपाली नागरिकताको निरन्तरताका विषयमा सरकार र सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने बताए ।

पहिलो संविधानसभाले यस विषयमा कायम गरेको सहमति नै यस संविधानसभाले अनुकरण गर्नेमा आफू तथा समस्त अमेरिकावासी नेपालीहरु विश्वस्त रहेको उनले बताए ।

नेपालीहरुको बढी घनत्व रहेका देशसँग दोहोरो कर प्रणालीको अन्त्य गर्ने पहल भएमा नेपालमा लगानीका लागि एनआरएनहरुलाई प्रोत्साहन मिल्ने भन्दै त्यसका लागि पहल गर्न अध्यक्ष घलेले आग्रह गरे ।

प्रधानमन्त्री कोइरालाले गैरआवासीय नेपालीहरुको विषयप्रति सरकार संवेदनशील रहेको र यसलाई संवोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताउँदै सबै राजनीतिक दलहरुलाई यसबारे जानकारी गराउन र सहमतिका लागि कोसिस गर्न सुझाव दिएको एनआरएन सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment