Comments Add Comment

कफीले बढाउँछ स्मरण शक्ति

coffee
गर्भवती महिलाहरुले कफी पिउँदा उनीहरुको गर्भमा रहेको बच्चालाई भविष्यमा रक्तक्यान्सरको डर हुने समाचार सार्वजनिक भएको थियो केही हप्ता अघि । उक्त अनुसन्धानपछि कफीलाई धेरैले हानिकारक पेय पदार्थ ठाने । तर कफी हानिकारिक मात्र छैन । यसका धेरै लाभ पनि छन् । पछिल्लो अनुसन्धानले कफीको सेवन मानिसको स्मरण शक्ति मजबुत बनाउन सहयोगी हुने तथ्य पत्ता लगाएको छ ।
अमेरिकामा गरिएकेा अनुसन्धान अनुसार कफीमा हुने क्याफाइन तत्वले मस्तिष्कको स्मरण शक्ति बढाउँछ । एकपटक कफी खाएपछि मस्तिष्कमा त्यसको प्रभाव कम्तिमा २४ घण्टा रहने अनुसन्धानकर्ताहरुको दाबी छ । यो अनुसार परीक्षाको अघिल्लो रात सुत्ने बेलामा कफी पिउनु निकै फलदायी हुने तर्क गरिएको छ ।
अमेरिकाको म्यारिल्याण्डस्थित जोन हप्किन्स विश्वविद्यालयका शोधकर्ता मिचेल यासाको नेतृत्वमा रहेको टोलीले नियमित रुपमा कफि नपिउने मानिसहरुको एक समूहमा कफीले स्मरण क्षमतामा पूराउने प्रभावका विषयमा अनुसन्धान गरेको थियो । त्यसक्रममा उनीहरुलाई केही तस्वीरहरुको अध्ययन गर्न दिइयो र ५ मिनेटपछि २ सय मिलिग्राम क्याफाइन ट्याबलेट खान दिइयो । अर्को समूहलाई भने खान दिइएन ।
अर्को दिन दुबै समूहका व्यक्तिहरुलाई अघिल्लो दिन देखाइएको तस्वीरका विषयमा भन्न लगाइयो । त्यस क्रममा कफीको ट्याब्लेट खाएका मानिसहरुले अघिल्लो दिन अध्ययन गरेको तस्वीर बारेका कुराहरु राम्रोसँग भन्न सके ।
क्याफाइन तत्वले हाम्रो मस्तिष्कमा हुने अस्थायी स्मरणलाई एकतित्र गरेर स्थायी स्मरणमा रुपान्तरण गर्न सहयोग पूराउँछ । तर कफीले मस्तिष्कमा गर्ने खास जैविक रसायनिक प्रतिक्रियाका विषयमा भने अध्ययन गरिएको छैन ।
तर कफीले स्मरणशक्ति बढाउँछ भन्दैमा त्यसको बढि सेवन गर्न नहुने विज्ञहरुको सुझाव छ । दैनिक २ सय मिलिग्राम क्याफाइन बराबरको कफी अर्थात् बढिमा २ कप पिउनु पर्याप्त हुन्छ र त्यसभन्दा बढि पिइयो भने त्यसले कुनै फाइदा गर्दैन । विज्ञहरुका अनुसार कफीको सेवनले अल्जाइमरको जोखिम समेत कम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment