Comments Add Comment

सभासद मनोनयनमा पैसावाल र परिवार नै प्यारो

Savasad-1

मात्रिका पौडेल
१३ भदौ, काठमाडौं । मन्त्रिपरिषदले मनोनयन गर्ने २६ मध्ये शुक्रवार मनोनित १८ जना सभासदहरु नेताका नातेदार र धनाढ्य व्यापारीसमेत समेटिएका छन् ।

नेपाली कांग्रेसबाट मनोनित नामप्रति कांग्रेस नेताहरुलेनै तीब्र विरोध जनाएका छन् । ‘हाम्रा नेताले सभासद पदलाई पैसामा बेचे’ कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले भने ।

यो पनि पढ्नुस् : सरकारद्वारा १८ सभासद मनोनित, गणेश थापा सभासद बने (सूचीसहित)

कांग्रेसबाट सभासद मनोनित भएकामध्ये उमेश श्रेष्ठ र अनिलकुमार रुङटा अरबपति व्यवसायी हुन् । श्रेष्ठ शैक्षिक व्यापारी हुन् भने रुङटा घरानिया व्यवसायी हुन् ।

श्रेष्ठ संस्थापन पक्षको र जगदम्बा स्टिलका पार्टनर रुङटा देउवा पक्षको कोटामा परेका हुन् । ‘उनीहरुलाई सभासद बनाउन २ करोड भन्दा माथिको चलखेल भएको छ’ कांग्रेस निकट स्रोतले भन्यो । श्रेष्ठले केही दिनअघिसम्म एमाओवादी कोटाबाट सभासद बन्न लबिङ गरिरहेको एमाओवादीका एक नेताले बताए ।

कांग्रेसबाट मनोनित भएकामध्ये राधेश्याम अधिकारी दुवैपटक मन्त्रिपरिषदबाट मनोनित हुने भाग्यमानी सभासद हुन् । रुक्मिणी कोइराला कांग्रेसको खानदानी कोइराला परिवारकी सदस्य हुन् ।

शिववहादुर खड्का रामेछापका पूर्वजिविस सभापति तथा पुराना कांग्रेस नेता हुन् । उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनकी बहिनी मीना पाण्डे कांग्रेस केन्द्रीय सदस्य हुन् भने भाइ रामचन्द्र खड्का रामेछाप कांग्रेसका सभापति छन् ।

रेशम बानियाँ म्याग्दीका पुराना कांग्रेस कार्यकर्ता हुन् भने सुकदेव सुतिहार इन्जिनियर र सूर्यदेव दास उराव जिल्लास्तरका कार्यकर्ता हुन् ।

एमालेमा महासचिवकी पत्नी छानिइन्

एमालेबाट मनोनितमध्ये मीरा ध्वजु महासचिव ईश्वर पोखरेलकी पत्नी हुन् । उनी एमालेको अखिल नेपाल महिला संघकी सचिव पनि हुन् ।

त्यस्तै पेम्बा भोटे जनजाति महासंघका महासचिव हुन् । उनी हिमाली जिल्ला बाजुराको अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्छन् ।

अग्नि खरेल यस अघि पनि समानुपातिक सभासद थिए, उनी अध्यक्ष केपी ओलीका विश्वासपात्र हुन् । ओलीले उनलाई संसदीय दलको प्रमुख सचेतक बनाउन चाहेका छन् ।

त्यस्तै झापा आन्दोलनका योद्धा तथा नख्खु जेल ब्रेकका योद्धा नरेश खरेल पनि एमाले कोटामा सभासद बनेका छन् । पूर्वकानुन सचिव उदय नेपाली श्रेष्ठ पनि एमालेको कोटामा परेका छन् ।

डा. राजन भट्टराई नवनिर्वाचित एमाले केन्द्रीय सदस्य हुन् भने गंगा डाँगी पूर्व केन्द्रीय सदस्य र पर्तमान धिमाल मोरङका जिल्लास्तरीय कार्यकर्ता हुन् ।

कमल थापाले भाइलाई छाने

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नै कान्छा भाइ गणेश थापालाई सभासद बनाएका छन् । थापा अखिल नेपाल फुटवल संघका अध्यक्ष हुन् र संघमा भ्रष्टाचार गरेको अभियोगमा संसदकै लेखा समितिले उनीमाथि छानविन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment