Comments Add Comment

केपी ओली धुन्धुकारी शैलीमा अघि बढे : योगेश भट्टराई

yogesh

ज्ञानेन्द्र खड्का
१४ भदौ, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकलौटी ढंगले पार्टी चलाएको आरोप एमालेका सचिव योगेश भट्टराईले लगाएका छन् । नवौं महाधिवेशनबाट अध्यक्ष बनेपछि पार्टीलाई एक बनाउने बाचा गरेको महिना नबित्दै ओलीले भुलेको सचिव भट्टराईले आरोप लगाए ।

‘अध्यक्ष धुन्धुकारी शैलीमा अघि बढ्नुभएको छ, यो शैलीले पार्टी ध्वस्त बनाउँछ’, सचिव भट्टराईले भने, ‘अलोकतान्त्रिक, हेपाहा र मिचाहा प्रवृत्ति पार्टीमा टिक्दैन । अध्यक्ष साँघुरो घेरामा रहेर गुटबन्दीलाई मलजल गर्नतिर लाग्नुभएको छ ।’

पार्टीमा सन्तुलनलाई पनि ध्यान नदिई आफ्नालाई काखी च्याप्दै अघि अध्यक्ष ओली बढेको बताउँदै सचिव भट्टराईले पार्टीका संस्थागत निर्णय लत्याइँदा पार्टी व्यक्तिको पोल्टामा जान थालेको जिकिर गरे ।

‘पार्टीको समीकरणलाई नजरअन्दाज गरी एकलौटी रुपमा पार्टी चलाइएको छ, आफ्न गुटका योग्यलाई पाखा लगाएर चाकडी चाप्लुसी गर्नेलाई काखी च्याप्ने काम भएको छ’, सचिव भट्टराईले भने, ‘यो शैलीमा अघि बढ्दा दुघर्टना हुन्न भन्ने अध्यक्षले बुझ्न जरुरी छ, अध्यक्षको कार्यशैलीको हामी कडा ढंगले प्रतिवाद गर्छौं ।’

सभासद नियुक्तिमा मनपरि भयो
२६ सभासद मध्ये एमालेका भागमा परेका ८ सभासद मनोनयनमा अध्यक्ष ओलीले मनपरि गरेको आरोप नेपाल पक्षले लगाएको छ ।
आठ सभासद मनोनयनका लागि पदाधिकारी बैठकमा छलफल भएको थियो,सो छलफलमा दुबै पक्षका नेताहरुबाट अध्यक्ष ओलीले नाम मागेका थिए । संसदीय दल र पदाधिकारीको बैठकमा अध्यक्षले सबैसँग नाम लिएर प्रस्ताव बनाई पदाधिकारी बैठकमा पेश गरेर निर्णय विपरीत सीधै आफ्ना मान्छे सभासदमा मनोनयन गरेको आरोप नेपाल पक्षको छ ।

‘सभासद हुनेको नाम फाइनल गरेर पदाधिकारी बैठकमा ल्याउने निर्णय थियो’, सचिव भट्टराईले भने, ‘पार्टीमा नाम पेश नगरी सिधै मनोनय गरिएको छ, पार्टीभित्र निर्णय गरेर अघि बढ्नुपर्नेमा आफूखुसी अघि बढ्ने प्रयासको प्रतिरोध गर्छौं ।’

सुकुम्बासी आयोग र संसदीय समितिमा एकलौटी निर्णय

यसैगरी ७२ वटा जिल्लामा भएको सुकुम्बासी आयोगका अध्यक्षको नियुक्तिमा संस्थापन पक्षले चाकडी र चाप्लुसी गर्नेलाई प्राथमिकता दिएको नेपाल पक्षको आरोप छ ।

त्यसैगरी संंसदीय समितिका सभापति नियुक्तिमा पनि संस्थापन पक्ष एकलौटी अघि बढेको भन्दै नेपालपक्ष प्रतिकारमा उत्रने निष्कर्शमा पुगेको छ । नेपाल पक्षले अध्यक्ष ओलीले पार्टी बल्खुबाट चलाउने भन्दा बालकोटबाट चलाउन थालेको आरोप लगाएको छ ।

‘सुकुम्बासीका अध्यक्ष, संसदीय समितिका सभापति नियुक्ति र ८ सभासद मनोनयन प्रक्रियाप्रति हाम्रो असहमति छ’, सचिव भट्टराईले भने, ‘हाम्रा असहमति हामी पार्टी केन्द्रमा लिखितरुपमा दर्ता गराउँछौं, अध्यक्ष ओली नसच्चिए खबरदारी गर्न कार्यकर्तामा जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment