Comments Add Comment

बाबुरामको बिदाइपछि प्रचण्ड र वैद्यको एकता

Gokul-karkiगोकुल कार्की

प्रचण्डलाई आलोचना गरिने कोण

पहिलो कोण : त्यो शक्ति, जसले समग्र जनयुद्धको धुवाँदार बिरोध गर्दथ्यो र आज पनि गरिरहेको छ । जनयुद्दको प्रमुख नेता भएको कारणले त्यो शक्ति यानिकी पुरातनबादीदेखि लिएर संसदबादीसम्मले उनलाई आँखाको कसिंगर ठान्ने गर्दछ ।

दोस्रो कोण : त्यो शक्ति जसले सँगसँगै जनयुद्ध लड्यो । हातमा हात, काँधमा काँध मिलाउँदै हरेक दुख सुखमा साथ निभायो । र, अन्त्यमा क्रान्ति सम्पन्न नहुँदै क्रान्तिका लागि चाहिने आवश्यक औजार बुझाएको भन्दै प्रचण्डसँग रुष्ट बनेको छ । नेकपा-माओवादी लगायत यो कोणमा पर्दछन् ।

अब हामीले प्रचण्डको बिरोध पहिलो कोणसँग मिलेर गर्ने कि दोस्रो कोणसँग ? यसले नै हाम्रो कित्ता निर्धारण गर्छ । हामी अग्रगामी हौँ कि पश्चगामी ?

बिरोध जुन कोणबाट भए पनि हामीले तालीचाहिँ मजैसँग ठटाउने गरेका छौं,सिर्फ एउटा शर्तमा, त्यहाँ प्रचण्डको आलोचनाचाहिँ भएकै हुनुपर्छ । उनलाई १७ हजार मान्छेको हत्यारा भनेर पुरातनबादीले आरोप लगाउँदा पनि हामी सजिलैसँग त्यसमा रमाउने बहाना प्राप्त भएजस्तो गर्छौं  । के यो सही हो त ? त्यो आरोपको हामीले संयुक्त रुपमा प्रतिकार गर्नु पर्छ कि पर्दैन ?

मान्छे त राज्यपक्षबाट धेरै मारिएका थिए । तर, पनि तत्कालीन मूल नेतृत्वलाई १७ हजार मान्छेको हत्यारा भन्दाखेरि  रमाउनु भनेको आफैले गरेको  १० बर्षे जनयुद्दको अपमान भयो कि भएन ?

माओवादी बिग्रनुका कारण

बास्तवमा माओवादी बिग्रिएको धोबीघाट भेलाबाट नै हो, जसले डा.भट्टराईलाई प्रधानमन्त्री बनाउने आधार निर्माण गरायो । उनी प्रधानमन्त्री नबनेको भए सायद माओवादी आजको हदसम्म बदनाम नहुन पनि सक्थ्यो । बिप्पा- एयरपोर्ट सम्झौता, सुकुम्बासी लखेटिएको, जनसेना विघटन आदि विवादस्पद कुराहरु हुने थिएनन् होला । त्यो नभएको भए माओबादी फुट्दैनथ्यो होला ।

माओवादी नफुटेको भए आज यो बेग्लैखालको शक्तिमा रहन्थ्यो होला । वास्तवमा प्रचण्ड-बैद्य त पहिलादेखि नै नजिक नै थिए । सैदान्तिक टक्कर त बैद्द्य-भट्टराई वीचमै थियो । तर, पनि विपरीत ध्रुबवीचअप्राकृतिक मिलन कसरी सम्भव भयो ? सबै बिगारेको धोबिघाटले नै हो ।

मलाई पद-प्रतिष्ठाको लोभ छैन भन्दै पदकै लागि तानाबाना बुन्दै हिँड्ने डा.भट्टराईले सोझा बैद्य खेमालाई फसाएकै हुन् । आफु प्रधानमन्त्री बन्ने आधार तैयार गरेकै हुन् । संबिधानसभा -२०७० को संबैधानिक समितिको सभापतिको थिए भनेर भोलि हाजिरी जवाफमा सोधियो भने सबैको मुखबाट ‘डा.बाबुराम भट्टराई’ भन्ने उत्तर आउने पक्का भएपछि उनी आजभोलि माघ-८ मा संबिधान बन्छ भन्दै हिंड्न थालेका छन् ।

 संबिधान त बन्छ तर ०४७ कै जस्तै, जनयुद्दले स्थापित गर्न चाहेको जस्तो जनमुखीखालको कुनै पनि हालतमा बन्दैन भन्ने यथार्थलाई  बुझेर पनि त्यस्तो संबैधानिक समितिको सभापति बन्न र्‍याल काढ्नु भनेको पदलोलुपता नभएर के हो त ?

गल्ती सबैले महशुस गर्नै पर्छ । यद्दपि आज सो पार्टी हेटौडा पुगेर सम्पूर्ण रुपमा संसदवादमा चुर्लुम्म भैसकेको छ । प्रचण्ड भनेको सिद्दान्त नभएको मान्छे भनेको सुनेको छु, यदि सत्य हो भने हेटौडाबाद पनि डा.भट्टाराईकै सिद्दान्त हुनुपर्छ ।  केही समय अगाडि मात्रै उनले खाई-पाई आएको पार्टी उपाध्क्ष पद त्याग गरेका थिए । आलोचकहरुले उनको यो कदमलाई रास्ट्रपति खाने आधार तयारको रुपमा अर्थ्याएका थिए । तर चुनाबी (कथित संबिधानसभा २०७० को) परिणामले उनको यो सपनामाथि बज्रपात भयो । त्यसैले हुन् सक्छ उनि अहिले अध्यक्ष पदप्रति लालायित हुन पुगेका छन् । र, अध्यक्ष हुन नपाएमा पार्टी फोरेर भए पनि नयाँ शक्तिको अध्यक्ष बन्ने अभियानमा छन् ।

सन्दर्भ संबिधानसभा चुनाव-२०७० बाट नै उठान गरौँ । निश्चय नै आफ्नो हारमा जसलाई पनि दुख लाग्छ । एमाओबादी अनि उसका समर्थकहरुलाई पनि चुनाबी परिणामले दुखी बनायो नै । तर, बाबुराम पक्ष भने यो हारलाई आफ्नो गुटको पक्षमा बहार ल्याउने एउटा राम्रो अवसरको रुपमा परिभाषित गर्ने-गराउने चेष्टामा  लाग्न थाल्यो । जतिखेर चुनाबमा धाँदलीका संकेतहरु देखिँदै थिए, बाह्य धाँदलीका कारणले पार्टी हारेको निष्कर्ष निकालिँदै थियो, एउटा अन्तराष्ट्रिय गुरुयोजनामै पार्टीलाई हराइएको भनेर दावी बिरोध गरिँदै थियो, स्वतन्त्र छानबिन आयोगको कुरा गरिँदै थियो। यसको विपरीत बाबुराम भने पार्टी हित बिपरीत आन्तरिक कारणले नै हारेको, हाम्रो संगठन राम्रो नभएर हारेको आदि भनेर शत्रु हसाउनमै व्यस्त थिए ।

जबकि, एमाओवादीको कट्टर आलोचक पार्टी नेकपा-माओबादीको केन्द्रिय कमिटी बैठकले समेत एमाओबादी यो लेभलले हार्ने पार्टी हैन भनेर भनिसकेको छ । तर, बाबुरामको नियत के हो, उनका सामाजिक सञ्जाललाई नियाल्ने हो भने पनि त्यसलाई बुझ्न सकिन्छ । राजनीतिको कखरा पढ्ने जसले पनि अब सहजै अनुमान लगाउन सक्छ, बाबुरामको यो जन्म कुर्सीकै लागि हो भन्ने कुरा प्रमाणित गराउन चाहन्छन्  । अध्यक्ष पदकै लागि हो भन्ने देखाउन चाहन्छन्  ।

संकटकै बेलामा नेतृत्वमाथि प्रहार गर्ने हो । यो भन्दा राम्रो अवसर फेरि जुर्ला-नजुर्ला, न्वारानदेखिको बल लगाउनुको अभिप्राय पनि यही नै हो ।

जसको नीति, उसको नेतृत्व नभएर पार्टी पराजित भएको सो गुटको आरोप छ । जनविद्रोहमा जाने  पालुंगटारको म्यान्डेट बिपरित भट्टराईको मूर्दा शान्तिमा परिणत नीति कार्यक्रम लागु गर्नुको परिणामलाई अँध्यारो कुनामा लुकाएर भएभरको दोषको भागिदार अध्यक्षमाथि थुपारेका छन् । अध्यक्षले बहुमतमा रहेको मोहन बैद्यको कार्यनीतिलाई उपेक्षा गरेर आफ्नो कार्यनीतिलाई लागु गरेकोमा धन्यबाद दिनु त कता हो कता, उल्टै दिल दिमागले सहयोग गर्ने अध्यक्ष माथिको यो बिष वमन साँचै नै  हृदय कुँडाउने खालको छ ।

जहाँसम्म पार्टी हार्नुको कारण छ, बस्तुबादी भएर विश्लेषण गर्ने हो भने बाबुरामकै प्रधानमन्त्रीकालमा पार्टी घनघोर रुपले अलोकप्रीय हुन पुग्यो । बिप्पाको कुरा, एयरपोर्ट भारतलाई दिने कुरा, सुकुम्बासी बस्तीमा डोजर् कुदाएको कुरा, सामन्तको जमीन फिर्ता गरेका कुरा, जनसेना बिगठनका कुरा, यी तमाम घटनाहरु  एमाओबादीलाई अलोकप्रीय गराउन पर्याप्त थिए । र, यी सबै कुकाम बाबुरामकै प्रधानमन्त्री कार्यकालमा हुन् गए । यिनै बिषयबस्तुमाथि असहमति जाहेर गर्दै जनयुद्झ लड्ने प्रमुख शक्तिलाई लिएर नेकपा-माओबादीले छुट्टै पार्टी गठन गर्यो । यी कारणले एमाओबादी कमजोर भयो । मधेशवादी जस्तो अवसरवादी गुटलाई साथ लिएर प्रधानमन्त्री हुनै पर्ने त्यस्तो के बितेको थियो ? तिनीहरुको जस्तोसुकै शर्तलाई पनि मानेर बाबुरामले कुन त्यस्तो अमृतरस पान गर्नुपर्ने थियो, कुन अमृतसागरमा डुबुल्की मार्नुपर्ने थियो ? अर्थमन्त्री हुँदाको त्यति राम्रो इज्जत-प्रतिष्ठालाई ध्वस्त गरेर त्यो प्रधानमन्त्रीको भाष्मसुरे कुर्सीको चाकडी किन त्यति सारो गर्नुपर्थ्यो ? पार्टीलाई तहस–नहस बनाउने आफु अनि दोषको भागिदार चै बिचरा छविलालमाथि तेर्स्याउने , यो कहाँको न्याय हो ? यो त छविलालको छविमथिकै नाङ्गो हमला हो ।

वास्तवमा एमाओवादीले चुनाव हार्नुमा बाह्य करणको साथसाथै प्रशस्त रुपमा आन्तरिक कारणहरु पनि छन् । सबैभन्दा ठूलो आन्तरिक कारण भनेको बाबुरामको संसदमोही कार्यनीति हो । एकपछी अर्को गर्दै उनको कार्यनीति खसीको टाउको झुन्ड्याएको मासु पसलमा गएर कुकुरको मासु खरिदमा व्यस्त देखिन थाल्यो  । जसलाई तमाम क्रान्तिकारी तप्काले अस्विकार गरिसकेका छन् । कुकुरकै मासु किन्ने हो भने त पुरातनबादी-संसदबादीहरुकै पसलतिर गए पनि भै हाल्यो नि, किन नयाँ पसलमा धाउनु भन्नेखालको धारणा पनि जबर्जस्त ढंगले निर्माण भएको छ ।

तर, बाबुरामले आफुलाई सुधार्नुको सट्टा अध्यक्षलाई निरन्तर प्रहार गर्नु एकखालको पापाचरण नै मान्नुपर्ने हुन्छ । गोपाल किरातीको भनाइ सापट लिएर भन्नु पर्दा, बाबुराम भट्टराई भनेको प्रचण्डको मृत्युमा आफ्नो जीवन खोज्ने पापी मन भएका मान्छे हुन् ।

पार्टी सुध्रिने सम्भावना

पार्टीलाई यो हदको दलदलमा फसाएर आजभोलि यिनी नयाँ शक्ति निर्माण गर्ने अभियानमा जुटेका छन्, त्यो पनि बर्गीय दुश्मन चरित्रका दुष्टहरुसँग मिलेर । सारसङ्ग्रहबादी जस्तो बनेर  राम्रै राम्रो अङ्ग जोडेर एउटा  उँट त जन्मेला, तर त्यसलाई त्यत्ति आकर्षक मानिंदैन । जनताले आज पनि मेघजस्तो अश्वलाई नै रुचाउँछन् ।

तर, जे होस् मुख फोरेर भन्न नसके पनि पार्टीभित्रका अधिकांश कार्यकर्ता-शुभचिन्तक बाबुरामले नयाँ शक्ति खोलेर आफ्नो कित्ता छिटो भन्दा छिटो निर्धारण गरुन् नै भन्न चाहन्छन् । सधैको लिखिर लिखिर अनि सधैको किचलो- भाँडभैलो उछाल्नु  भन्दा उत्तम यो नै समस्याको एउटा सही  निकास हुन सक्छ । मोदीको बिदाइसँगै सो पार्टीभित्र समानान्तर कमिटीले पुन निरन्तरता पाएको छ । ७५ जिल्लामै सो अभियान पुरा भएपछि नयाँ शक्तिको शंख फुकियोस्, शुभकामना छ ।

यिनै घटना-प्रतिघटनाहरुको सेरोफेरो बिचमा नेकपा-माओबादीसंग पटक–पटक पार्टी एकीकरणको कुरा बाहिर सार्बजनिक भएको छ । तर त्यसको लागि उसले हेटौडाबाद त्याग्नुपर्छ र पालुंगटारलाई अपनाउनु पर्छ भन्ने शर्तहरु राखिएका कुराहरु आएका छन् ।अनि मात्र दुई पार्टी एक बन्न सक्ने भनिएको छ । हुन पनि हो, सबै पोयाहरु नमिलीकन डोरी बाटिँदैन । बलियो बनाउने हो भने त डोरी गतिलैसँग बाट्नुपर्रयो । एक्ला-एक्लै बाँडिएर कोही पनि बलियो बन्न सक्दैन । नियत साफ गर्दै हेटौडाबाद छाड्छन् भने एकीकरणमा खराबी के छ र ? तर पनि आशा राखौं, बाबुरामको नयाँ शक्तिले एमाओबादीभित्र जकडिएको संसदबाद एबम हेटौंडाबाद आफुसँगै लिएर जानेछ । र, सोही दिन मात्रै एनेकपा माओबादी र नेकपा-माओबादीको मिलनको आधार तैयार हुनेछ ।

तर, यो एकीकरणको बिषयमा, पोयालाई बलियो बनाउन डोरी बाट्ने कुरामा पनि बिरोध भएको छ । यो बिरोधमा पनि दुइटा कोणहरु छन्:-

पहिलो कोण:- जो नेकपा-माओबादी र एमाओबादी दुवै पार्टीभित्र घुसपैठ भएका बाहिरिया अवान्छित तत्वहरु, जसले दुई माओबादीलाई आपसमा भिडाएर आफ्नो स्वार्थलाई रक्षा गर्न चाहन्छन् । बर्तमानमा नेकपा-माओबादी र तिनका नेताहरुलाई चिल्लो घस्दै देवत्वकरण गर्ने अनि हीरा काट्ने हीरैमा राखेर भन्या झैं नेकपा-माओबादीलाई प्रयोग गरेर  प्रचण्डहरुलाई पहिलो निशाना बनाउने र सफल भएपछि नेकपा-माओबादीलाई नै क्रमिक रुपले सिध्याउने रणनीतिका साथ देखा परेका छन् । तिनीहरुले दुई पार्टी बिचमा खेलेर सम्बन्धमा दरार उत्पन्न गराइरहेका छन् । तिनले खाली पुराना कुराहरु कोट्याई-कोट्याई माओबादी कार्यकर्ताहरुलाई भड्काउन चाहिरहेका छन् ।

दोश्रो कोण: क्रान्तिप्रति अत्यन्तै इमान्दार तह र तप्का, जसले आफुहरुलाई फेरि धोका होला कि भन्ने चिन्ताले यो एकताको बिरोध गरिरहेका छन् । जस्तो कि तपाई सारा मित्रहरु, जो हज्जारौं सहीदको बलिदान खेर गएकोमा आक्रोषित हुनुहुन्छ, चिन्तित हुनुहुन्छ  । त्यत्रो संकटबाट उतारेर स्थापित गरेको पार्टी नेकपा-माओबादी कतै रसातालमा नफसोस् भन्ने चिन्ताले यो एकताको  बिरोध गरिरहनुभएको छ ।

त्यसैले, त्यो बिरोध भित्रको नियत खुट्याउन सक्ने क्षमता भयो भने मात्रै हामी सही गन्तब्यसम्म पुग्न सक्छौं । कसैले भड्काएको भरमा हामी उत्तेजित नबनौं । यथार्थ के हो, आफैले नियालौं । एक्ला एक्लै भौंतारिनु भन्दा नजिकका मित्रशक्तिहरुलाई साथमा लिएर हिँड्नुमा नै हामी सबैको कल्याण सम्भव छ ।

(लेखक वैद्य माओवादीका कार्यकर्ता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment