Comments Add Comment

सभासद मीरा भन्छिन्- ईश्वर पोखरेलकी पत्नी हुनु अपराध हो ?

Mira Dhoju-Ishwor Pokhrel
र्इश्वर पोखरेल र मीरा ध्वजु । तस्बीर : मीरा ध्वजुको फेसबुकबाट

१५ भदौ, काठमाडौं । मन्त्रिपरिषदबाट संविधानसभा सदस्यमा मनोनित भएकी मिरा ध्वजुले आफू एमाले महासचिव ईश्वर पोखरेलकी श्रीमती भएर होइन, आफ्नै राजनीतिक संघर्ष र योग्यताले सभासद बनेको दाबी गरेकी छन् ।

एमालेबाट २६ सभासदको कोटाभित्र सिफारिस भई मन्त्रिपरिषदबाट मनोनित मीरा ध्वजुलाई एमाले महासचिव पोखरेलकी श्रीमतीको रुपमा प्रचार गरिएपछि उनले गुनासो गरेकी हुन् ।

आफ्नो राजनीतिक संघर्षको इतिहासलाई अवमूल्यन गरेर ईश्वर पोखरेलकी श्रीमतीको रुपमा मात्र हेर्दा आफूलाई दुःख लागेको उनले बताइन् ।

०३७ सालकी सदस्य

‘म ०३६ सालदेखि नेकपा एमालेको पूर्णकालीन कार्यकर्ता भएर हिँडेकी हुँ, ईश्वर पोखरेलसँग त ०४० सालमा बिहे भएको हो’ ध्वजुले अनलाइनखबरसँग भनिन् ‘म यो पार्टीको ०३७ सादेखि सदस्य छु’ ।

३६ वर्षको राजनीतिक जीवनमा पहिलोपटक पार्टीबाट सार्वजनिक पदको अवसर पाएको दाबी गर्दै ध्वजुले नेताकी श्रीमती भएर राजनीति गर्दा धेरै पीडादायी भएको अनुभव सुनाइन् । ध्वजु एमालेको नवौं महाधिवेशनसम्म पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्यका साथै  अखिल नेपाल महिला संघकी सचिव पनि थिइन् ।

नेतासँग बिहे गर्नु नै अपराध हो ?

mira dhosjuभूमिगत राजनीतिकै बेला एमालेका धेरै नेताले काठमाडौंका नेवार महिला कार्यकर्तासँग विहे गरेका थिए । त्यही लटमा मीरा र ईश्वरको अन्तरजातीय बिहे भएको थियो ।

‘म ईश्वर पोखरेलकी श्रीमती हुनु नै अपराध हो भने अलग कुरा हो, नत्र मैले सभासद हुनका लागि के-के योग्यता पुर्‍याउनुपर्ने हो ? आलोचकले जवाफ दिउन्’ उनले भनिन् ।

सभासद मनोनयनबारे सर्वोच्च अदालतले छुटेका जनजातिबाट वा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गरेकाहरुबाट सभासद चयन गर्न आदेश दिएको थियो । राष्ट्रिय वीजनमा महत्वपूर्ण योगदान गरेको आधार खुलाइनुपर्ने सर्वोच्चले भनेको थियो ।

ध्वजुलाई राष्ट्रिय जीवनमा योगदान पुर्‍याएको भन्दा पनि आदिवासी जनजाति महिलाको कोटाबाट सभासद मनोनयन गरिएको हो ।

पञ्चायतले जागिर खोस्यो

आफूले कम्युनिस्ट पार्टीको राजनीतिमा लागेवापत पञ्चायती शासकबाट जागिर खोसिएको बताउदै उनले भनिन् -‘म ०३६ देखि ०६२/६३ सम्मका हरेक आन्दोलनमा सक्रिय सहभागी भएकी राजनीतिक कार्यकर्ता हुँ ।’

राजनीतिमा लागेका महिलालाई उनको श्रीमानसँग जोडेर अवमूल्यन गर्ने प्रवृति विरुद्ध सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्ने उनले बताइन् । उनले सञ्चारमाध्यमलाई महिलामैत्री बन्न सुझाव दिइन् ।

विश्वका अन्य देशमा श्रीमान श्रीमती दुवै राजनीतिमा हुँदा पनि श्रीमतीलाई अघि बढ्न सहज भएको भन्दै उनले अमेरिकी राष्ट्रपति विल क्लिन्टन र हिलारी क्लिन्टनको उदाहरण समेत दिइन् ।

बोहोरा दम्पती अपवाद

एमालेमै पनि कतिपय नेताका श्रीमान श्रीमतीले समान अवसर र हैसियत पाए पनि केही आफ्नो मनोनयनमा नकारात्मक टिप्पणी भएको ध्वजुले बताइन् ।

एमालेबाटै अमृत बोहोरा र अष्टलक्ष्मी शाक्य दुवैजना समानुपातिकबाट सभासद छन् । एमालेले यसपटक श्रीमान श्रीमती दुवैलाई संविधानसभामा उम्मेदवार नबनाउने नीति पास गरेर धेरैलाई बञ्चित गरे पनि बोहोरा दम्पतीको हकमा लागु भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment