Comments Add Comment

‘झोला’ चलचित्र बनाउँदा भोग्नुपरेका झमेला

बुढो पुस्ताका मान्छेहरुले नेपाली फिल्मलाई बेवास्ता गरिरहेका बेला निर्देशक यादव भट्टराईले सानोतिनो क्रान्ति नै गरे । क्रान्ति यस अर्थमा कि उनले बनाएको फिल्म ‘झोला’ हेर्न ८० वर्ष पार गरेका हजुरआमाहरु पनि हलमा पुगे लौरो टेक्दै ।

नेपाली फिल्म निर्माण भएको ५० वर्ष पूरा भए पनि आम दर्शक नेपाली फिल्मप्रति आकषिर्त हुन सकेका छैनन् । कतिपय निर्देशकहरु नै स्वीकार्छन् कि ५० वर्ष उमेर पार गरेकाहरु कहिल्यै नेपाली फिल्म हेर्दैनन् ।

पछिल्लो समय यस्ता धेरै दर्शक भेटिए, जसले कहिल्यै नेपाली फिल्म हेरेका थिएनन् । तर, उनीहरुले झोला हेरे ।

ओस्कार अवार्डमा समेत नेपालका तर्फबाट सहभागी भएको ‘झोला’ कसरी निर्माण भएको थियो ? निर्देशक यादवकुमार भट्टराईकै शब्दमा :

चलचित्र झोलाका निर्देशक भट्टरार्इ । तस्वीरः अनलाइनखबर
चलचित्र झोलाका निर्देशक भट्टरार्इ । तस्वीरः अनलाइनखबर

विसं ०५९ सालतिर हुनुपर्छ, म नेपाल टेलिभिजनमा लोकगीत सम्बन्धी ‘भाका’ भन्ने कार्यक्रम चलाउथें । म आफ्नै कामले प्रज्ञा प्रतिष्ठान पुगेको थिएँ । मलाई कसैले सुनायो, कृष्ण धरावासीको नयाँ कथा आएको छ रे । त्यो दामी पनि छ रे ।

मैनाली कथा प्रतियोगिताका लागि लेखिएको त्यो कथा पछि समकालीन साहित्यमा प्रकाशित भएको रहेछ । मैले पहिलो पटक समकालीन साहित्यमै ‘झोला’ शीर्षकको कथा पढें । पहिलो पटक त्यहीँ बसेर पढें मात्रै, किताब घरमा ल्याउन पाइएन ।

काका, काकी, हजुरबा हजुरआमाहरु र फुपूहरुबाट सती प्रथाका बारेमा प्रसस्तै सुनेको थिएँ । सती कसरी जान्छन् र उनीहरुको मनोदशा कस्तो होला भन्नेमा मोटामोटी जानकारी मात्रै थियो । तर, सतीकै विषयमा लेखिएको धरावासीको कथा वास्तवमै बेजोड लाग्यो । कथा पढिसक्दा सती जान लागेकी महिलासँग कुरा गरेजस्तै भयो ।

दशैंमा धरावासीलाई भेटें

कथा पढ्नेवित्तिकै मलाई लाग्यो । अब यसलाई सिनेमा बनाउनुपर्छ । मैले केही साथीहरुसँग यो कुरा शेयर पनि गरें । साथीहरुले सबैभन्दा पहिला धरावासीसँग अनुमति लिनुपर्ने कुरा गरे ।

त्यही वर्ष हो, दशैंमा घर गएका बेला धरावासी दाइको घर झापा गएँ र झोलामाथि फिल्म बनाउने कुरा गरें । उहाँले हुन्छ भन्दै एउटा शर्त राख्नुभयो । ‘जीवन्त बनाउन सक्छस् भने मात्रै बना ।’ मैखिक अनुमति लिएपछि म आफ्नै काममा लागें ।

एक वर्षपछि ०६० सालमा झोला शीर्षकमै अरु केही कथा थपिएर पुस्तक आयो । पुस्तककै रुपमा बजारमा आएपछि झोलाको चर्चा क्रमशः बढ्न थाल्यो । आफूलाई मन परेको कथाले बजारमा चर्चा पाउन थालेपछि लेखकसँग लिखित सम्झौता गर्नुपर्छ भन्ने कुरा आयो । ०६३ सालमा लिखित सम्झौता गरें ।

दीपक आलोकले एक वर्षमा पटकथा तयार पारे 

कथाकारसँग अनुमति लिएर मात्रै सिनेमा सम्भव थिएन । धरावासीसँग अनुमति लिए लगत्तै पटकथाका लागि स्व. निर्देशक दीपक आलोकलाई दिएँ । उहाँले एक वर्ष लगाएर पटकथा संवाद तयार गर्नुभयो । दीपक आलोकले तयार पारेको पटकथा लगेर धराबासीलाई देखाएँ । उहाँले पढेर राम्रो छ भन्नुभयो ।

झोलासँग सम्बन्धित कतिपय ऐतिहासिक तथ्यको आधिकारिकताका बारेमा म काम गर्दै थिएँ, केही व्यक्तिहरु आए, हामी फिल्ममा लगानी गर्छौं भनेर । तर, उनीहरुले लगानी गर्ने प्रस्तावसँगै विषयवस्तु तोडमोड गर्नुपर्ने प्रस्ताब पनि राखे । मैले मानिँन ।

हामीलाई धेरै खाले तनाब थियो । फिल्मको विषयप्रति आम मान्छेको चासो बढ्दै थियो । तर, हामीले उपयुक्त निर्माता पाएका थिएनौं । त्यहीबेला धरावासी दाइले पनि खै फिल्म बनाउन सुरु गरेको भनेर प्रेसर दिन थाल्नुभयो ।

उहाँलाई पनि कतिपयले त्यो यादवले फिल्म बनाउलाजस्तो छैन है भन्दारहेछन् । त्यहीबेला सीता भाउजूको निधन भयो । भाउजूको निधन भएको एक वर्षजति म उहाँको वरिपरि नै परिँन ।

झोलामा रमेश बुढाथोकीको प्रवेश

पछि मैले सुनें, झोलामाथि रमेश बुढाथोकीले फिल्म बनाउन लागे । धरावासी दाइलाई गएर सोधें । उहाँले भन्नुभयो ‘तिमीलाई धेरैपटक सम्पर्क गर्न खोजें सम्भव भएन, मैले त बुढाथोकीलाई बनाऊ भन्दिँए ।’

रमेश बुढाथोकीलाई फिल्म बनाउन अनुमति दिएको कुरा थाहा भएपछि असाध्यै पीडा भयो । किनकि झोलासँग मेरो एक हिसाबले जीवन जोडिएको थियो । झोलाकै लागि भनेर मैले पाँचवर्ष भन्दा बढी समय खर्च गरिसकेको थिएँ । यसै पनि आफ्नो सेड्युल अनुसार काम नभएकोमा तनाब भएको थियो, त्यसमाथि नयाँ तनाव थपियो ।

रमेश बुढाथोकीले धरावासीवाट अनुमति पाए पनि कानुनीरुपमा सबैभन्दा बलियो म नै थिएँ । विवादकै वीचचमा पनि हामीवीच बेला बेलामा संवाद हुन्थ्यो । नायक राज तिमल्सेनाले हामीवीच विवाद मिलाउन निकै ठूलो सहयोग गरे । अन्ततः हामी यसमा सफल भयौं ।

ड्रेस नपाएर सास्ती

कुरा मिल्यो । निर्माता पनि भेटियो । कलाकार भेटिए । तर, पनि अन्य फिल्मजस्तो सहजै सुटिङ सम्भव थिएन । भेषभुषा पनि हाम्रा लागि सबै भन्दा ठूलो चुनौतिको विषय थियो । एकसय वर्ष अगाडिको भेषभुषा कस्तो थियो भनेर भेटिएका जति तस्बीरहरु हेर्यौं । तर, तस्बिर धेरैजसोे काठमाडौकै हुन्थे ।

काठमाडौमा खिचिएको तस्बिर हेरर गाउँको डे्रसअप थाह पाइँदैनथ्यो । ९०/९५ वर्षका बाजेहरुलाई पनि सोध्यौं र तत्कालीन समाजले चाँगाको दौरा सुरुवाल लाउने गरेको थाहा भयो ।

सती जाने पात्रका विषयमा हामीसामु प्रसस्त चुनौती थिए । सती प्रथाको विधि र संवेदना भएर मात्रै पुग्दैनथ्यो । सती जाने मान्छेले के सोचिरहेको छ ? उसको सन्तानले पाउने दुःख के हो ? त्यो समाजमा भएका पण्डितका चरित्र अनि सतीको अनुहार हेर्न चाहने स्त्रीको मनस्थितिलाई पनि विचार गर्नुपर्ने थियो । सती केबल संस्कार मात्रै नभएर सतीसँग सम्पत्तिको पनि सम्बन्ध गाँसिएको थियो ।

दीपक क्षेत्रीलाई तीन महिना दार्‍ही काटन दिइँन

कलाकार जुटाउन पनि सजिलो थिएन । कतिपय कलाकार मान्दैनथे भने कतिले गर्न सक्दैन थिए । हामीले पहिलोपटक दीपक क्षेत्रीसँग गएर कुरा गर्‍यौं । उहाँले कथा सुनेलगत्तै सम्वाद पनि नभएको मान्छेको भूमिका निर्वाह गर्दिँन भन्नुभयो ।

दोस्रो भेटमा गएर फकायौं । सम्वाद भएका फिल्म खेलेर पो तपाईले के गर्नुभएको छ र भनेपछि उहाँ काम गर्न सहमत हुनुभयो । उहाँले काम गर्ने सहमति जनाएपछि तीन महिना दाहृी काट्न दिइँन ।

गरिमा गोरी देखिने चिन्ता

हिरोइनको सवालमा पनि साथीहरुले गरिमाको कुरा ल्याए । मेरो खासै चिनाजानी थिएन । मैले गरिमाको छाला अलि गोह्रो हुन्छ कि भनें । पछि साथीहरुको सल्लाहमा गरिमासँगै काम गर्ने सहमति भयो । निकै राम्रो अभियन गरिन् उनले ।

चलचित्र झोलाको एक दृश्य
चलचित्र झोलाको एक दृश्य

घाटको सुटिङमा कलाकारलाई सास्ती

सय वर्ष अगाडिको समाज देखाउनु आफैंमा चुनौतीपूर्ण काम थियो । कथा पूर्वको थियो, त्यसकारण ठाउँ पनि पूर्वतिरै पाए राम्रो भनेर हामीले धेरैतिर ठाउँ खोज्यौं तर, पाइएन । हामीलाई खरको छानो लगाएका घरहरु चाहिएका थिए । तर, सबैतिर जस्ता लगाएको घर मात्रै भेटिन्थे ।

हामीले घाटको सुटिङ त्रिशुलीको इन्द्रेणी घाटमा गरेका थियौं । सुटिङ गर्दा कलाकारहरुले निकै दुख पाए । हामी त जुत्ता लगाएर हिँड्थ्यौ । तर, कलाकारहरु खाली खुट्टा हिँडनुपर्थ्यो ।

फिल्म सुटिङ गर्न बिजुली नभई नहुने तर, हाम्रा दृश्यहरुमा बिजुली बत्ति देखिनै नहुने । धेरै ठाउँमा बिजुलीको तार टाँगिएकाले ठाउँ पाउनै गार्हो भयो ।
धादिङको धुवाकोट गाविसको कात्तिके टारमा हामीले सुटिङ गरेका थियौं । समग्रमा उक्त ठाउँ हामीले खोजेको जस्तै थियो ।

सुटिङ गर्नका लागि हरेक दिन पाँचघण्टा जति हिँड्नु पर्थ्यो । सुत्ने ठाउँहरु त्यस्तै अप्ठ्यारा थिए । कयौं दिन त हामी गोठमै सुत्यौं ।

दर्शकमार्फत पाएको खुशी

अहिले झोला हेरेर जति दर्शक सन्तुष्ट हुन्छन् । उनीहरुमा देखिएको सन्तुष्टिले मलाई खुुसी बनाउँछ । दर्शकलाई यो हदसम्मको खुसी बनाउन हाम्रो सिंगो टिमले प्रयास गरेको थियो ।

(निर्देशक भट्टराईसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment