Comments Add Comment

खाद्य संस्थानको गोदाममा राखेको चामल कुहिन थाल्यो

chamal

१६ भदौ, ओखलढुङ्गा । दुर्गम गाउँवासीलाई खाद्यान्न आपूर्ति गर्ने उद्देश्यले ओखलढुङ्गा सदरमुकाममा स्थापना गरिएको नेपाल खाद्य संस्थानको गोदाममा पानी चुहिन थालेको छ ।

गोदाम घर जीर्ण बनेर पानी चुहिन थालेपछि यहाँको खाद्य संस्थानको गोदाममा बर्सेनि चामल कुहिने समस्याले सताउँदै आएको छ ।

सर्वसाधारणलाई सरकारी अनुदानमा खाद्यान्न उपलब्ध गराउनका लागि ४० वर्षअघि बनाइएको गोदाम घर जीर्ण बनेको हो । विसं २०३१ मा ओखलढुङ्गामा खाद्य संस्थानको कार्यालय स्थापना भएपछि गोदाम घर निर्माण गरिएको थियो । बारम्बार गोदाम घर मर्मतसम्भारका लागि केन्द्रीय कार्यालयलाई अनुरोध गरे पनि चासो नदिएपछि समस्या समाधान गर्न नसकिएको कार्यालयका शाखा प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।

अहिले गोदाम घर अँध्यारो र अव्यवस्थित भएका कारण मुसाले समेत सताउँदै आएको छ । जीर्ण बनेको गोदाम घरको झ्याल, ढोकामा लगाइएका काठपात मक्किन थालेका छन् भने पर्खालसमेत लड्ने अवस्थामा पुगेको छ । यहाँको शाखा कार्यालयले आव २०६९/०७० मा भवन मर्मतका लागि लागत अनुमानसमेत बनाएर केन्द्रीय कार्यालयमा पठाएको भए पनि हालसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन ।

खाद्य संस्थानले जीर्ण गोदाम मर्मतसम्भारका लागि चासो नदिएकाले कुहिएको चामल खानु परेको स्थानीयको गुनासो छ । पानी चुहिने गोदाम घरभित्र पाल हालेर चामल राखिएको भए पनि पानीले भिजेर चामल कुहिने गरेको छ । गोदाम घरको छानो प्वाल परेर पानी चुहिँदा भण्डारण गरिएको खाद्यान्न जोगाउनै मुस्किल परेको कारण बर्सेनि कुहिएको चामल वितरण गर्नुपर्ने बाध्यता रहेको खाद्य संस्थानका एक कर्मचारी बताउँछन् ।

यो वर्ष दुई क्विन्टल चामल कुहिएको छ । गोदाम घरमा पानी चुहिँदा अघिल्लो वर्ष पनि चार क्विन्टल चामल कुहिएको थियो । जीर्ण गोदाम मर्मत नगरिए कार्यालयसँग मौज्दात रहेको ६ सय ३० क्विन्टल पनि सड्ने अवस्थामा पुगेको कार्यालयले जनाएको छ । ओखलढुङ्गालाई एक हजार ९ सय क्विन्टल चामल खाद्य संस्थानले उपलब्ध गराउँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment