Comments Add Comment

अफ्रिका पसेका महामहिम अरुण धिताल हराए !

मात्रिका पौडेल

१६ भदौ, काठमाडौं । गत ०७० साल चैतमै कार्यकाल सकिए पनि दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अरुणप्रकाश धिताल नेपाल फर्कन मानेनन् ।

राजदूत अरूण धिताल ।
सम्पर्कविहीन भएका राजदूत अरूण धिताल ।

साउनसम्म काठमाडौं नफर्किएपछि उनलाई परराष्ट्र मन्त्रालयले दुई पटकसम्म ताकेता गर्‍यो । तर, राजदूत धिताल अहिले नेपाल सरकारको सम्पर्कमै छैनन् ।

त्यस्तै फ्रान्सका राजदुत मोहनकृष्ण श्रेष्ठ पनि कार्यकाल सकिएको जानकारी परराष्ट्र मन्त्रालयले स्मरण गराउँदा समेत उनी फर्किएनन् । उनले हृदयघात भएका कारण त्यसको उपचार सकेरमात्रै फर्किने जानकारी मन्त्रालयलाई पठाएका छन् ।

मानवीयताका आधारमा परराष्ट्र मन्त्रालयले श्रेष्ठलाई साउन महिनाभरको म्याद दिएको स्रोतले जनाएको छ । उनी सम्पर्कमा आएनन् ।

तर, उनीनिकट स्रोतले हालसालै फर्किएको दावी गरेको छ । समाचार प्रकाशित भएको झण्डै ६ घण्टापछि उनले फोन गरेर नेपाल अाएको जानकारी दिए । (राजदूत मोहनकृष्णले भने- म फ्रान्सबाट फर्किएँ)

यी दुबै राजदूतहरु कुनै राजनीतिक दलको कार्यकर्ता भएर राजनीतिक नियुक्ति पाएका होइनन् । दुबै परराष्ट्र मन्त्रालयका ‘करिअर डिप्लोम्याट’ हुन् ।

कूटनीतिक इतिहासका कलंक

murari-sharma
राजदूतबाट शरणार्थी बनेका मुरारीराज शर्मा

नेपालको कुटनीतिक इतिहासमै सबैभन्दा घीनलाग्दा पात्र बनेका छन् मुरारीराज शर्मा । उनले आफ्नो नैतिकता र मर्यादा त बाँकी राखेनन् नै, मुलुकै बेइज्जत गरे । बेलायतको राजदूत रहेका शर्माले स्वदेश फर्किन मानेन् । बरु, बेलायतमै शरणार्थी बने ।

शर्मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा सन् २००८ को फेबु्रअरीमा बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका थिए । शर्मालाई कुटनीतिक मर्याद विपरीत काम गरेको भन्दै प्रचण्ड सरकारका पालामा हटाइएको थियो ।

राजदूतबाट हटाइएपछि उनलाई स्वदेश फर्किन र बुझबुझारथ गर्न परराष्ट्र मन्त्रालयले पटक-पटक पत्राचार गर्‍यो । तर, शर्माले भने आफ्नो ज्यान नेपालमा असुरक्षित रहेको भन्दै राजनीतिक शरणार्थीका लागि आवेदन दिए ।

मुलुकले विश्वास गरेर राजदूत बनाएका व्यक्तिले मुलुकप्रति गद्दारी गर्दै बेलायतमा शरणार्थी भए । यो घटनालाई नेपाली कुटनीतिक इतिहासकै कलंक मानिएको छ ।

पात्र होइन प्रवृति

परराष्ट्रका कर्मचारीको आकर्षण भनेकै विदेशस्थित नियोगमा पोष्टिङ पाउनु हो । त्यसमा पनि राजदूत भएपछि मान, सम्मान र दाम सबै पाइने भएकाले आकर्षण हुने नै भयो ।

तर, अरुलाई कुटनीतिक मर्यादा सिकाउनुपर्ने करिअर डिप्लोम्याटहरु आफैं भने कुटनीतिक मर्यादा र नैतिकता बिर्सिएर कार्यकाल सकिएपछि पनि हत्तपत्त स्वदेश फर्किन नचाहने रोग नै बनिसकेको छ ।

केही वर्षअघि कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेल, कतारकी मायाकुमारी शर्माले पनि यस्तै अटेरी गरेका थिए ।

सरकारले के गर्छ ?

सामान्यतः कुनै पनि राजदूतको चार वर्षे कार्यकाल सकिन ६ महिनाअघि नै मन्त्रालयले यसबारे सम्बन्धित दूतावासमा पत्राचार गरेर जानकारी गराउँछ । यसको अर्थ सम्बन्धित व्यक्तिले आफ्नो परिवारको व्यवस्था गर्ने, फर्किन तयारी थाल्ने, महत्वपूर्ण काम सिध्याउने र फर्किने मिति तोक्ने भन्ने हो ।

मोहन कृष्ण श्रेष्ठ
राजदूत मोहनकृष्ण श्रेष्ठ

राजदूत र तिनका परिवारको कार्यकाल सकेर फर्किने बेलाको हवाइ यातायात लगायत सबै सुबिधा सरकारले नै व्यहोर्छ । तर पनि दुई चार दिन वा एक दुई महिना भने पनि अटेर गरेर उतै बस्न किन चाहान्छन् त उनीहरु ? यो प्रश्नको एउटै जवाफ छैन ।

कोरियाका लागि पूर्वराजदूत कमल कोइराला व्यक्तिको नैतिकता र कुटनीतिक मर्यादा जोडिएको विषय भएकाले आफू एक दिन पनि कार्यकालभन्दा बढी विदेशमा नबसेको बताउँछन् ।

‘मलाई पनि कतिपयले दुईचार महिना लम्ब्याउनुस् न भनेका थिए । तर, मेरो नैतिकताले एक दिन पनि बस्न दिएन’ कोइरालाले अनलाइनखबरसँग भने । 

किन यसो गर्छन् ? 

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार जति दिन अटेर गरेर बस्यो, त्यति नै अवधिको तलब सुबिधा र भत्ता पाइने भएकाले कतिपय राजदूतले लोभ देखाउने गरेका हुन् ।

राजदूतले डलरमा तलब पाउँछन्, जुन एक कार्यकालमा कम्तिमा ५० लाखसम्म हुन्छ । अझ श्रीमान-श्रीमतीले समेत डलरमा तलब पाउँछन् । ‘कोही साँच्चिकै बिरामी हुन्छन्, कसैका छोराछोरीको पढाइको शैक्षिक सत्र सकिएको हुँदैन यस्ता महत्वपूर्ण केसमा मन्त्रालयले हेर्छ’ ती अधिकारीले भने ‘तर नियतवस यस्ता प्रवृति दोहोरिने गरेका छन् ।

राज्यको दाम, आफ्नो काम

राजदूतको हैसियतमा उपचार गराउँदा कुटनीतिक सुविधा पाइने र खर्च पनि सरकारी कोषबाट गराउन पाइने भएकाले समेत कतिपयले रोगै नलागे पनि कार्यकाल सकिनै लाग्दा विदेशका महँगा अस्पतालमा स्वास्थ्य जाँच गराउने गरेका पनि पाइएको छ ।

कतिपय राजदूतले भने आफ्नो पदीय मर्यादा विपरीत व्यापारसमेत गर्ने गरेकाले उनीहरु हत्तपत्त फर्किन अटेर गर्छन् । कतिपयले परिवारका सदस्यलाई उतै जागिर लगाएका हुन्छन् ।

व्यापारमा राजदूत

पछिल्लो समयमा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा उतै व्यापार व्यवसायमा लागेको पाइएपछि मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो ।
आफैं प्रत्यक्ष व्यापारमा संलग्न हुँदा अप्ठेरो पर्ने भएकाले परिवारका सदस्य तथा निकटस्थमार्फत लामाले व्यवसाय सञ्चालन गर्ने गरेको समेत पाइएको परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेले बताएका छन् ।

कतिपय युरोपेली तथा खाडी मुलुकका राजदूतले पनि गैरआवासीय नेपालीहरुसँग मिलेर उतै व्यापार व्यवसाय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment