Comments Add Comment

गच्छदारको प्रश्न- शीर्षनेताले राजतन्त्र फर्काउन खोजेको हो ?

१६ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सिंहदरबार परिसरमा सोमबार आयोजित बैठकमा प्रमुख दलका शीर्ष नेतालाई सोधे- ‘राजतन्त्र फर्काउन खोजेको हो ?

Bijay-kumarसंवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिकोे बैठकमा गच्छदारले नयाँ सविधानमा धर्म निरपेक्षतालाई संशोधनीय खण्डमा राख्ने प्रमुख दलहरुको प्रस्तावमा आपत्ति जनाएका हुन् ।

गणतन्त्र र धर्म निरपेक्षतालाई अपरिर्वतनीय नबनाउने हो भने हिन्दु राज्य र राजतन्त्र फर्कने बाटो खुला रहने गच्छदारको भनाइ थियो । प्रमुख दलका नेताहरुलाई औंलाले देखाउँदै उनले भने-‘हिन्दुवादी र हिन्दु पार्टीको मत बढेको छ, यसले उनीहरुकै मत बढाउँछ ।’

क्रान्तिकारी भनिएका शक्तिहरु समेत यसमा मौन बसेको गुनासो गर्दै गच्छदारले भने- ‘यसमा ठूला दलहरु बोल्नुस् ।’
तर, बैठकमा उपस्थित एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले गच्छदारलाई कुनै जवाफ दिएनन् ।

बरु एमाले सभासद केशव बडालले ०६२/६३ को आन्दोलनका लागि सहमति गरौं भन्दा दुई हप्तासम्म हस्ताक्षर गर्न नमान्ने नेताहरु यही बैठकमा रहेको भन्दै क्रान्तिकारी भन्नेहरु देखिसकिएको बताए ।

जनजातिको असहमति

यसअघि जनजाति पार्टीहरुका सभासदहरुले पनि धर्ननिरपेक्षता, संघीयता, समानुपातिक समावेशीलाई अपरिर्वतनीय धारामा राख्न माग गरेका थिए ।

तर, कांग्रेस, एमाले र एमाओवादीसहितका दलहरुको सहमतिमा तयार पारिएको प्रस्तावमा राष्ट्रियता, जनतामा निहित सार्वभौमसत्ता र अखण्डतालाई मात्र नयाँ संविधानमा अपरिर्वतनीय धारामा राख्ने उल्लेख छ । गणतन्त्र, धर्मनिरपेक्षतासहितका विषय भने संसदबाट दुई तिहाइले संशोधन गर्न सक्नेछन्, जसलाई जनमत संग्रहबाट अनुमोदन गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment