Comments Add Comment

आमाको ऋण उठाउन ‘अपहरणकारी’ बने सुशान्त

ज्ञानेन्द्र खड्का

१६ भदौ, काठमाडौं । सोमबार बिहानै काठमाडौंका प्रहरीको सञ्चार सेटमा थानकोटबाट मानिस अपहरणमा परेको खबर आयो । एकाबिहानै आएको खबरले थानकोट, कलंकी र कालीमाटी क्षेत्रका प्रहरीवृत्तमा दौडादौड सुरु भयो ।

थानकोटस्थित घरबाट कलंकीमा रहेको काष्ठमण्डप कलेजतर्फ हिँडेका विद्यार्थीलाई माइक्रोबसमा हालेर अपहरण गरेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई दिएपछि बिहानै प्रहरीहरु अपहरणमा प्रयोग गरिएको माइक्रो बस खोज्न जुटे ।
अपहरणकारीले प्रयोग गरेको माइक्रो बसबारे आएको सूचनाले प्रहरीले अपहरणकारी पेशेवर भएको निचोड निकालेको थियो । माइक्रो बसले सडकको रुट परिवर्तन गरेको सूचनाका आधारमा प्रहरीले त्यस्तो निचोड निकालेको थियो ।

माइक्रोबस घरी कीर्तिपुर, घरी सतुंगल त घरी सातदोबाटो पुगेको सूचना प्रहरी सेटमा आइरहेको थियो ।

करिब दुई घण्टाको रस्साकस्सीपछि प्रहरी अपहरणकारीले लगेको माइक्रोसम्म पुग्न सफल भयो । अपहरणमा प्रयोग भएका माइक्रो बसका मालिकमार्फत प्रहरी अपहरणकारीसम्म पुग्न सफल भयो ।

छ हजार रुपैयाँ भाडा तिरेर ललितपुरको लेले लैजान रिजर्भ गरिएको माइक्रोलाई प्रहरीले अन्ततः कीर्तिपुरको चाँदनीचोकबाट पक्रियो ।

प्रहरीका अनुसार सुशान्त पोखरेल नाम गरेका अपहरणकारीले उनका साथी अमीत श्रेष्ठको घर रहेको लेलेतर्फ अपहरित वीरेन क्षेत्रीलाई लैजान खोजेका थिए ।

माइक्रोमा चालक र सहचालकसहित थानकोट-४ का अपहरणकारी १९ वर्षीय सुशान्त पोखरेल र अपहरित २३ वर्षीय वीरेन क्षेत्रीसमेत चार जनामात्रै सवार थिए ।

कीर्तिपुरतर्फबाट लेलेतर्फ जाने बाटो अप्ठ्यारो रहेको भन्दै माइक्रो चालकले नमानेपछि सुशान्तले वीरेनलाई उनकै घरमा फर्काएर छाडिदिन खोजेको प्रहरीको भनाइ छ ।

‘माइक्रो मालिकमार्फत ड्राइभरलाई सम्पर्क गरेर कीर्तिपुरबाट फर्काउन सकेकाले लेले पुग्न पाएनन्’, महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी यज्ञविनोद पोखरेलले अनलाइनखबरसँग भने, ‘माइक्रो चालकले पनि आफ्नो गाडी अपहरणमा प्रयोग भएको कुरा पछिमात्रै थाहा पाएछन्, शुरुमा साथी हो भनेर ढाँटेछन् । ड्राइभरले अपहरण थाहा पाएपछि उनलाई मार्ने धम्की दिइएछ ।’

दुई घण्टासम्म प्रहरीलाई हैरान बनाउने सुशान्त ललितपुरस्थित एक कलेजका १२ कक्षाका विद्यार्थी हुन् । अपहरणका नाइके सुशान्तलाई देखेपछि प्रहरीले शुरुमा पत्याएन ।

अपहरणमुक्त भएपछि वीरेन कलेजतर्फ लागेका छन् भने अपहरणमा संलग्न वीरेनसहितका युवा अहिले कालीमाटी प्रहरीवृत्तको हिरासतमा छन् ।

डीएसपी पोखरेलका अनुसार अपहरणको योजना सुशान्त आफैंले बनाएको प्राराम्भिक अनुसन्धानबाट खुलेको छ । ‘अहिलेसम्मको अनुसन्धानमा सुशान्त एक्लैले योजना बनाएको खुलेको छ’, डीएसपी पोखरेलले अनलाइनखबरसँग भने ।

लेनदेनका कारण अपहरण

सुशान्तकी आमा सीतादेवीले वीरेनकी आमा मीना खत्रीलाई करिब २ वर्षअघि पाँच लाख रुपैयाँ सापटी दिएकी थिइन् । बैंकबाट निकालेर दिएको रकम मीनाले फिर्ता नगर्दा सुशान्तकी आमा तनावमा थिइन् ।

सुशान्तका बुबा वैदेशिक रोजगारी गरेर कतारबाट आइतबारमात्रै घर फर्केका थिए । बुबालाई समेत थाहा नदिई आमाले दिएको सापटीले घर डुब्न लागेपछि आफूले अत्तालिएर वीरेनलाई उठाउने निष्कर्शमा पुगेको सुशान्तको भनाइ छ । नाताले दिदी बहिनी पर्ने सीता र मीनाबीच सानैदेखि उठबस थियो ।

‘वीरेनकी आमालाई ममीले बैंकबाट २१ प्रतिशत ब्याज तिर्ने गरी लिएको पाँच लाख रुपैयाँ कागज नगरिकन दिनुभएको थियो, त्यो पैसा उठाउन ममी धेरैपटक प्रहरीमा धाउनुभयो’, सुशान्तले डीएसपी पोखरेलकै अगाडि सुनाए, ‘फसेको पैसा उठाइदिन निवेदन लिएर ममी थानकोट चेकपोष्ट र हनुमानढोकामा पटक-पटक पुग्नुभयो, तर प्रहरीले आमाको कुरा सुनेनन् ।’

आफूले ११ कक्षामा कलेज टप गरेको बताउने सुशान्तले ऋण लिएको बैंकले घर लिलाम गर्न लागेपछि १२ कक्षाको परीक्षा बिगारेको बताए ।

‘वीरेनकी आमा गाउँबाट गायव भएको तीन महिना भइसकेको छ, पटक-पटक खोज्दा पनि भेटिइनन्, गाउँका अरुको पनि लाखौं डुबाइदिएकी छन्’, कालीमाटी प्रहरीमा रहेका सुशान्तले अनलाइनखबरसँग भने, ‘वीरेनकी आमासम्म पुग्न उसलाई उठाएको हुँ, वीरेनलाई केही गर्ने योजना थिएन, तर, गल्ती भइसकेकाले कानूनी सजायँ भोग्न तयार छु ।’

यसरी बन्यो अपहरणको योजना

घर डुब्ने अवस्थामा पुगेपछि वीरेनलाई उठाउन सुशान्तले तीन दिनअघिबाट योजना बनाएको बताए । केही महिनादेखि सम्पर्कमा नआएकी मीनासम्म पुग्ने सजिलो बाटोका रुपमा सुशान्तले वीरेनलाई प्रयोग गर्न खोजे । तर, उनी मीनासम्म नपुगी प्रहरीको खोरमा पुगेका छन् ।

सुशान्तले दुई वर्षअघिदेखि परिचित केही साथीलाई वीरेनलाई उठाएर फसेको पैसा उठाउन साथ मागेका थिए । साथीहरुको साथ पाएपछि वीरेनलाई उठाउनैका लागि दुईदिन अघिमात्रै थप दुईजनासँग सुशान्तले परिचय गरेका थिए ।

चारजना साथीहरुको सहयोगमा थानकोटबाट लेले जान रिजर्भ गरिएको माइक्रोमा वीरेनलाई उठाइएको थियो । कलेज जाँदै गरेका वीरेनलाई उठाउन २८ वर्षीय छिरिङ्ग शेर्पाले सहयोग गरेका थिए ।

अपहरण गरेपछि माफी

वीरेनलाई उठाएर लेले लाने क्रममा आफूले गल्ती महसुस गरेको सुशान्तको भनाइ छ । वीरेनलाई अपहरण गरेपछि सुशान्तले उनलाई गोद्न एउटा बलियो लठ्ठी समेत माइक्रोमा हालेका थिए । तर, त्यो लठ्ठीले वीरेनलाई नकुटेको उनको भनाइ छ ।

‘गाडीमै हुँदा गल्ती गरेको महसुस भयो, आमालाई भेटाइदे भन्दै शुरुमा एक झप्पु हानेँ’, सुशान्तले सुनाए, ‘तर, पछि गल्ती भएको महसुस भएपछि हात जोडेर माफी मागेँ, अनि उसैको घरतर्फ पुर्‍याउन लाँदै गर्दा प्रहरीको फन्दामा परिहालियो ।’

कालीमाटी प्रहरीवृत्तको हिरासमा रहेका सुशान्तले सानै उमेरमा गम्भीर गल्ती गरेकाले सजायँ भोग्न तयार रहेको दोहोर्‍याए ।

‘मेरा बाबुआमाको सम्पत्ति त डुब्यो, मैले राम्रो गरेर के होला र ?’, सुशान्तले सुनाए, ‘बुबाले सुन्नुभयो भने गाली गर्नुहुन्छ, त्यो गाली पनि सहन तयार छु, घर जोगाउन खोज्दा आफैं डुबेँ ।’

यी हुन् अपहरणकारी

कालीमाटीवृत्तका डीएसपी पोखरेलका अनुसार अपहरणका नाइके सुशान्त आफैं हुन् । उनलाई साथ दिनेहरु पनि उनीजस्तै किशोर नै रहेका छन् ।

वीरेनको अपहरणमा दोलखाको माली घर भई थानकोट-२ मा बस्ने छिरिङ्ग शेर्पा, मकवानपुर घर भई मातातीर्थ बस्ने २३ वर्षीय अश्विन अधिकारी, ललितपुरको लेले-१ घर भई नरदेवी बस्ने २२ वर्षीय अमित श्रेष्ठ रहेका छन् ।

प्रराम्भीक अनुसन्धानमा सुशान्तसहितका किशोरहरु यसअघि अपराधिक क्रियाकलापमा संलग्न नदेखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment