Comments Add Comment

एन्फा कप आजदेखि सुरु, उद्घाटनमा मनाङ मर्स्याङ्दी र झापा फुटबल क्लब भिड्ने

१७ भदौ, काठमाडौं । एन्फा कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । दशरथ रंगशालामा दिउँसो १ बजेदेखि सुरुहुने प्रतियोगिताको उद्घाटन खेलमा गत वर्षको ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले मोफसलको झापा फुटबल क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका ६ र मोफसलका दुई गरी आठ टोलीको सहभागिता रहने छ । नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा मनाङ मस्र्याङ्दी क्लब, झापा फुटबल क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र थ्रिस्टार क्लब तथा समूह ‘बी’ मा सङ्कटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लब छन् ।

त्यस्तै ‘ए’ डिभिजनमा रहेका सरस्वती युवा क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब र हिमालयन शेर्पा क्लबले प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । गत वर्ष भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विवादित विषयमा उक्त चार क्लबले चित्तबुझ्दो जवाफ नदिएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिबन्ध लगाएको छ ।

यही भदौ २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेता टोलीले पाँच लाख रुपैयाँ पाउने छन् ।

त्यस्तै सेमिफाइनलिस्टले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पाउने एक खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने फरवार्ड, मिडफिल्ड, डिफेन्स र गोलरक्षक र प्रक्षिकले जनही ५० हजार प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगितामा करिब सात हजार दर्शकले मात्र खेल हेर्न पाउने छन् । रङ्गशाला निर्माणाधीन हुँदा सीमित दर्शकले मात्र खेल हेर्न पाउने आयोजक एन्फाले जनाएको छ । रङ्गशालाको विशिष्ट श्रेणीतर्फ र उत्तरपट्टि साधारण प्यारापिटतर्फबाट मात्र दर्शकले खेल हेर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment