Comments Add Comment

केपी ओलीको मोबाइलमा माधव नेपालका २० ‘मिस्ड कल’ !

१७ भदौ, काठमाडौं । कैलाश मानसरोवरको तीर्थाटन गरेर फर्किर्एलगत्तै एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल सोमवार पार्टी पदाधिकारीको बैठकमा कसैले नसोचेको ढंगले प्रस्तुत भए ।

फाइल फोटो
फाइल फोटो

नेता नेपाल यति आक्रोश र आवेगमा थिए कि बैठकको अध्यक्षता गरिरहेका कार्यवाहक अध्यक्ष बामदेव गौतम के गरौं, कसो गरौंको अवस्थामा पुगेको प्रत्यक्षदर्शी एक पदाधिकारीले भने ।

अध्यक्षमा पराजत भएपछि नेपाल एमालेको केन्द्रीय सदस्यमात्रै हुन् । तर, उनलाई अनौपचारिकरुपमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता झलनाथ खनालपछिको तेस्रो बरियता दिइएको छ ।

निहुँ खोजे भिड्ने चेतावनी

कार्यवाहक अध्यक्ष गौतमले पदाधिकारी बैठकमा नेपाललाई आमन्त्रित सदस्यका रुप्मा बोलाएर संविधानमा न्याय प्रणालीका बारेमा पार्टीको धारणा बनाउन खोजेका थिए ।

तर, नेपालले भने बैठक शुरु हुनासाथ पाखुरा सुर्किएरै भिड्न तयार रहेको चेतावनी दिए । नेपालले शुरुमै आक्रोशमिश्रति स्वरमा भने-‘तपाईहरुको मनमा के छ, म त्यहीअनुसार जान तयार छु ।’

अध्यक्ष ओलीले पार्टीलाई गुटबाट चलाएका दृष्टान्त पेश गर्दै नेपालले भने- ‘निहुँ खोजेको हो भने म भिड्न तयार छु, तर यो पार्टी कसैको पेवा र बपौती होइन ।

किन रिसाए नेपाल ?

नेपाल यसरी रिसाउनुको कारण भने अध्यक्ष ओलीले आफूलाई गन्दै नगनेको कारण पनि रहेछ ।
आफूसँग ५६ भोटले जितेका अध्यक्षले पार्टीभित्र सन्तुलन मिलाउनुको साटो गुटका मान्छे च्यापेकोमा नेपाल आक्रोशित बनेको उनी निकट केन्द्रीय सदस्य राजेन्द्र राईले बताए ।

सभासद मनोनयन, संसदीय समितिका सभापति चयनदेखि सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला समिति गठनसम्मका काम ओली र गौतमले एकलौटी गरेको भन्दै नेपाल सबैभन्दा बढी आक्रोशित छन् ।

ओलीले अपमान गरे : नेपाल

संसदीय समितिका चार सभासद एमालेले पाउने भएपछि नेपालले ओलीसँग दुई/दुईजना बाँडौं भन्ने प्रस्ताव राख्न फोन गरे । तर, ओलीले आफूसँग कुरै गर्न नचाहेको र अपमान गरेको नेपालले बताएका छन् ।

‘मैले १५/२० पटक फोन गर्दा पनि ओलीले उठाएनन्, पीए रमेश आचार्यले कुरा गराउँछु भनेर पनि ओलीले मसँग कुरा गर्नै चाहेनन्’ नेपालको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

को-को थिए माधवका सिफारिस ?

ओलीले कुरा गर्न नमानेपछि नेपालले बिष्णु पौडेलमार्फत ओलीलाई संसदीय समितिका सभापति दुई-दुईजना गरौं भन्दै आफ्नो पक्षका प्रकाश ज्वाला र श्रीमाया थाकाली वा गरिमा शाहको नाम राख्न सन्देश पठाएका थिए ।

‘तर अध्यक्षले प्रकाश ज्वालाको मात्र नाम राखेर अरु एकलौटी गर्नुभएको उहाँको गुनासो छ’ राईले अनलाइनखबरसँग भने । सुकुम्बासी र सभासद मनोयनमा पनि ओली गौतम समूहले एकलौटी गरेको उनले बताए ।

सभासद मनोनयनका लागि पनि नेपाल पक्षले इमेलमार्फत करीव डेढ दर्जनको नाम पठाएकोमा एकजनामात्र समावेश गरेर ओलीले एकलौटी गरेको सचिव योगेश भट्टराईले बताए ।

नेपाल पक्षले नरेश खरेल, माया ज्ञवाली, विश्वकान्त मैनाली, रामप्रसाद श्रेष्ठ, नन्दलाल शर्मा, लोकवहादुर हमाल, झिल्लु तिवारी, धनहादुर थामी, कृष्ण चेपाङ, लोकवहादुर धिमाल, तेन्जी शेर्पा, डा. गोविन्दवहदाुर थापालगायतको नाम सिफारिस गरेको थियो ।

ओली पक्षको दाबी

ओली पक्षले भने नेपाल पक्षबाट नरेश खरेल, उदय नेपाली श्रेष्ठ र पर्तमान धिमाल गरी ३ जनालाई मनोनित गरिएको र ५ जना संस्थापन पक्षका मनोनयन भएको दाबी गरेको छ ।

सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समितिमा बामदेव गौतम पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । तर, गौतम पक्षले भने नेपाल पक्षका २० जना भन्दा बढीलाई अध्यक्ष बनाइएको दाबी गरेको छ ।

मुख्य चूरो यस्तो रहेछ

माधव नेपाल आक्रोशित हुनुको अर्को कारण भनेको स्थायी समिति तथा पोलिटव्यूरोमा संस्थापन पक्षले बलमिच्याइ गर्न लागेको आशंका पनि हो ।

ओलीले महाधिवेशन सकिएको डेढ दुई महिनासम्म पनि पोलिटब्यूरो तथा स्थायी समिति गठन नगरी एक व्यक्तिको लहडमा पार्टी चलाउन खोजेको आरोप नेपालको छ ।

पदाधिकारीले समेत स्थायी समिति सदस्य हुनु चुनाव लड्नुपर्ने कुरा ओली पक्षधर केन्द्रीय सदस्यहरुले उठाएपछि नेपाल थप आक्रोशित भएका हुन् ।

‘बिधान तोडमरोड गरेर अर्कैखालको स्थायी समिति बनाउने खेल भइरहेको छ रे, पदाधिकारीलाई नै स्थायी समितिमा नराख्ने गरी छलफल हुँदैछ रे, यस्तो हो भने म चुप लागेर बस्दिँन’ सोमबारको पदाधिकारी बैठकमा नेपालको भनाइ थियो ।

एमाले स्रोतका अनुसार विधानको विवाद अझै टुंगिएको छैन । नेपाल पक्ष महाधिवेशनको स्टेरिङ कमिटीले सहमति गरेको विधानमा तलमाथि गर्न नहुने पक्षमा छ ।

ओली-गौतम पक्ष भने पोलिटव्यूरो सदस्य हुन एक कार्यकाल केन्द्रीय सदस्य भइसकेको हुनुपर्ने प्रावधान हटाउन चाहन्छ ।
यो बिधानअनुसार पोलिटव्यूरो सदस्य हुन योग्य सदस्य ओली पक्षमा कम छन्, जसले गर्दा पोलिटब्यूरोमा अध्यक्ष ओली अल्पमतमा पर्न सक्छन् । स्थायी समितिमा पनि ओली पक्षलाई अल्पमतमा पार्न सकिने नेपाल पक्षको ठहर छ ।

ओली-गौतमपक्षको अड्को

नेपाल पक्षले विधान जस्ताको तस्तै लागु हुनुपर्ने अडान राखेपछि ओली गौतम पक्षधर केन्द्रीय सदस्यहरुले त्यसो हो भने पदाधिकारी पनि स्थायी समितिमा पदेन सदस्य हुन नपाउने तर्क गरेका छन् ।

केन्द्रीय सदस्य खिमलाल भट्टराईले अनलाइनखबरसँग भने-विधानमा पदाधिकारी स्वतः स्थायी समिति सदस्य हुने भन्ने छैन, त्यसो भए स्थायी समिति सदस्यका लागि पदाधिकारीले पनि चुनाव लड्नुपर्छ ।

केन्द्रीय कमिटीमा ओली गौतम पक्षको भारी बहुमत रहेकाले उनीहरुले यो दावी गरेको स्रोलते जनाएको छ । तर नेपालले यस्तो अवस्था आउन आफूले नदिने भन्दै ओलीसँग भिड्न तयार रहेको चुनौति दिइसकेका छन् ।

पेचिलो बन्ने संकेत

नेपालको पछिल्लो आक्रोश र बिधान लगायतका दस्तावेजमा सहमति नजुट्नुले एमालेको आगामी असोज १० देखि बस्ने तेस्रो केन्द्रीय कमिटी बैठक निकै पेचिलो बन्ने देखिएको छ ।

ओलीलाई अब सहज ढंगले काम गर्न नदिने निष्कर्षमा नेपाल पक्ष पुगेको छ । ‘उहाँलाई सहयोग गर्न खोजिएको हो, तर पार्टी चलाउन जान्नुहुन्न गुटमात्र चलाउने योग्यता रहेछ भन्ने देखियो’ राईले भने ‘उहाँको शैली अलि बिन्दास र मनमौजी खालको छ, पार्टी चलाउन यस्तो स्वभाव काम छैन ।

ओली गौतम मनमुटाब

सुकुम्बासी अध्यक्ष नियुक्ति र सभासद मनोनयनपछि अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमबीच पनि मनमुटाव देखिएको स्रोतले जनाएको छ ।

गौतम निकट केन्द्रीय सदस्य दलवहादुर राना मन्त्री रहेको भूमिसुधार मन्त्रालयले गठन गरेका सुकुम्बासी आयोगका अध्यक्षहरुमा अधिकांश गौतमलाई बिभिन्न कालखण्डमा साथ दिएकाहरु छन् ।

सुकुम्बासीमा गौतमले सल्लाह नगरि एकलौटी गरेको ओली पक्षको बुझाइ छ भने गौतमले सभासद मनोनयनमा आफ्नो कुनै सिफारिसनै नरहेको भन्दै अशन्तुष्टि जनाएका थिए ।

पदाधिकारी बैठकमा पनि गौतमले यस विषयमा आफूलाई जानकारी नभएको भन्दै अध्यक्ष आएपछि छलफल गरौंला भन्दै नेताहरुलाई बाहिर हल्ला नगर्न आग्रह गरेका थिए ।
महासचिवको दावी
यसैबीच एमाले महासचिव ईश्वर पोखरेलले भने पार्टीमा जटिल खाले समस्या नरहेको दावी गरेका छन् ।
महासचिव पोखरेलले पदाधिकारी बैठकमा नेपालले दिएको अभिव्यक्तिलाई आबेगको आक्रोश भन्दै यसको समाधान हुने बताए ।

पोखरेलले भने- यो आवेगको अभिव्यक्ति हो, अध्यक्ष आएपछि उहाँको कुराको सम्बोधन हुन्छ भनेर कार्यवाहक अध्यक्षले भनिसक्नुभएको छ ।

उनले अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच कुनै मनमुटाव नभएको र दुवैजनासँग सल्लाहमा आफूले महासचिवको हैसियतमा पार्टी संगठन सञ्चालन गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment