Comments Add Comment

कांग्रेस नेताहरुले हुँदैन भनेपछि बालुवाटारमा बैद्य माओवादीको बबाल

१७ भदौ, काठमाडौं । नयाँ संविधानका मुख्य अन्तरवस्तुमा सहमति जुटाउन सर्वपक्षीय भेला गर्ने सैद्धान्तिक सहमतिबाट नेपाली कांग्रेसका नेताहरु पछि हटेपछि बालुवाटारमा बसेको चार दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

एमाओवादीले बैद्यको मागको समर्थन गरेको छ भने एमालेले पार्टीको धारणा बनाउन बाँकी रहेको बताएको छ ।

जेठ २६ गते बसेको चार दलको बैठकमा नेताहरु बैद्य माओवादीको माग अनुुसार सर्वपक्षीय भेला गर्न सैद्धान्तिक रुपमा सहमत भएका थिए ।

त्यसको विधि र प्रक्रियाबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस, एमाले, एकीकृत नेकपा माओवादी र बैद्य माओवादीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

4-party-meeting

आफ्नै निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस सभापति समेत रहेका कोइरालाले बैद्य माओवादीले जेठ २६ गतेको बैठकमा राखेको आठबुँदे प्रस्तावबारे जानकारी गराए ।  सर्वपक्षीय भेला गर्न सकिने भएकाले छलफलमा बोलाएको भन्दै उनले सहमति गरेर नै संविधान जारी होस् भन्ने आफूले चाहेको बताए ।

लगतै बैद्य माओवादी नेताहरुले संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सर्वपक्षीय भेला गर्नु पर्ने भन्दै त्यसबारे यसअघि पेश गरेको ८ बुँदे पेश गर्दै तीन दलको धारणा मागेका थिए ।

तीन दलले के भने ?

जवाफमा एमाओवादीका अध्यक्ष प्रचण्डसहितका नेताहरुले सर्वपक्षीय भेला गर्ने प्रस्तावमा आफूहरुको सहमति रहेको बताएका थिए ।

जेठ २६ को बैठकमा नै एक साताभित्र अर्को बैठक गर्ने भनिएपनि सरकारले नै बैठक नबोलाएको भन्दै माओवादी नेताहरुले सरकारले कमजोरी गरेको बताए ।

त्यस लगत्तै बोलेका एमाले नेता माधवकुमार नेपालले बैद्य माओवादीको प्रस्तावबारे आफूलाई थाहा नभएको बताएपछि बैठकले नयाँ मोड लिएको थियो । माओवादी माग ठिकै जस्तो भएपनि संविधासभाको प्रक्रिया निकै अघि बढेकाले समय घर्किसकेको नेपालको भनाइ थियो ।

एमालेकै कार्यवाहक अध्यक्ष बामदेव गौतमले यसबारे पार्टीको धारणा बनाउन बाँकी रहेको बताए । जेठ २६ को बैठकपछि आफूहरु महाधिवेशनमा केन्द्रीत भएकाले छलफल गर्न नपाएको भन्दै अब धारणा बनाउने बताए ।

बैठकमा उपस्थित वरिष्ठ नेता उबम् पूर्व अध्यक्ष झलनाथ खनाल भने मौन बसेका थिए ।

तर, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नरहरि आचार्य र महेश आचार्यले भने सर्वपक्षीय भेला गर्ने प्रस्ताव स्वीकार्य नभएको बताएका छन् ।

‘दलहरुबीच सहमति भएन भने २१ गतेबाट प्रक्रियामा जाने हो । त्यसअघि उहाँहरु (बैद्य माओवादी)को कुरा के रहेछ बुझौं भनेको मात्र हो’ कांग्रेसको भनाइ उदृत गर्दै स्रोतले भन्यो-संविधानसभा बाहिर अर्को संरचना बनाउने कुरा स्वीकार्य हुँदैन ।’

बैद्य माओवादीले सोध्यो -किन छलफलमा बोलाएको ?

कांग्रेस नेताहरुले गोलमेच सम्मेलन अस्वीकार्य हुने बताएपछि माओवादी नेताहरुले त्यसो हो भने किन छलफलमा बोलाएको भन्दै प्रश्न गरेका थिए । ‘प्रधानमन्त्रीसँग छलफल गरेर तीन दलसँग कुराकानी गर्दा सकारात्मक भएपछि हामी छलफलमा आएका हौं’ माओवादीका एक नेताले भने-‘होइन भने कुराकानी गर्नुको कुनै औचित्य छैन । अब हामीलाई बोलाउनु परेन ।’

बैद्य माओवादी नेताहरुले विधि र प्रक्रिया समस्या नभएको भन्दै राजनीतिक सहमति गर्ने कि नगर्ने भनि प्रमुख तीन दललाई प्रश्न गरेका छन् ।

उनीहरुले १२ बुँदे सहमतिबाट सुरु भएको प्रक्रिया कुन कानुन र संविधानलाई केटेर भएको थियो भन्दै अहिले सहमति नगर्ने हो भने विगमा जे भयो त्यसलाई गलत भन्न चुनौती दिए ।

माओवादी नेताहरु कडा रुपमा प्रस्तुत भएपछि तीन दलका नेताहरुहरु आफूहरुले सहमति नगर्ने नभनेको भन्दै तीन दलबीच छलफलका लागि केहीबेर समय लिए ।

बैद्य माओवादीका नेताहरुलाई छाडेर छुट्टै छलफलमा बसेका तीन दलले केहीबेरमा अन्तरिक गृहकार्य नपुगेको भन्दै १९ गते आफूहरुको धारणा लिएर आउने बताएका छन् ।

सर्वपक्षीय सभाबारे के थियो ८ बुँदे माग ?

१. नाम : सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा

२, क्षेत्राधिकार : दलहरुबीचमा विगतमा भएका सहमतिहरुको कार्यान्वयन र जनताको संविधान निर्माणलगायत राष्ट्रिय राजनीतिक विषयहरुमा दलहरुबीच राष्ट्रिय राजनीतिक सहमति कायम गर्ने ।

३. आयोजक : तत्काल नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र नेकपा-माओवादीबीच आपसी सहमतिबाट आयोजना गर्ने ।

४. व्यवस्थापन : नेपाल सरकारले गर्ने ।

५. सहभागिता : संविधानसभा-२ मा भएका दलहरु र ३३ दलीय मोर्चामा रहेका दलहरु रहने ।

६. कार्यसूची : आयोजक ४ दलले आपसी सहमतिबाट कार्यसूची तय गरी प्रस्ताव गर्ने ।

७. निर्णयप्रक्रिया : सहभागी सबै दलहरुबीच सहमतीय प्रणालीबाट निर्णय गर्ने ।

८. निर्णय कार्यान्वयन : संविधान निर्माणसम्बन्धी निर्णयहरु सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा स्वयमले गर्नेछ । राज्यका अन्य निकायहरुमार्फत् कार्यान्वयन गरिनुपर्ने निर्णयहरुको सम्बन्धमा सम्बन्धित निकायहरुको जिम्मेवारी रहेका राजनीतिक दलहरुले गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment