Comments Add Comment

बैजापुरका मुक्तकमैया भन्छन् : कुहेको चामलले गुजारा चलाएका छौं

Baijapur-badi-padit

आरपी सुवेदी

१७ भदौ, नेपालगञ्ज । बाढी प्रभावितलाई राहत वितरण गर्न सरकारको विषेश प्रतिनिधिका रुपमा खटिएर आएका आपूर्तिमन्त्री सुनिलबहादुर थापाले प्रारम्भीक राहत सबैले पाइसकेको घोषणा गरेको अर्कोदिन बाँके बैजापुर-६ मुक्तकमैया बस्तीमा प्रारम्भीक राहतको रुपमा खाद्यान्न पुग्न नसकेको पाइएको छ ।

मंगलबार राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारीराज खरेलको नेतृत्वमा अनुगमनको लागि मुक्तकमैया बस्तीमा पुगेका थिए ।

बाढी पीडितहरुले बाढी आएको १७ औं दिनसम्म पनि राहतका नाममा दुई हजार नगद बाहेक केही नपाएको बताएका छन् । ‘भोली पल्ट कृष्ण जन्माष्ठमीको दिन थियो । हामी सबै ब्रत बसेर मनाउने योजना बनाउँदै थियौं । गाउँको उत्तरपट्टी रहेको राप्ती नदी एक्कासी उर्लेर गाँउमा पस्यो सबै चौपट्ट बनायो’-फूलमति थारुले घटना सुनाइन् ।

चार बच्चाकी आमा उनले आफुले लगाएको लुगा बाहेक केही बचाउन नसकेको बताइन ।

शिवप्रसाद थारुले बाढी पसेको चारदिनसम्म लेदो र हिलो मिसिएको पानी कपडा छानेर लगाएको र पानीले भिजेर कुहिँदै गरेको अनाज उसिनेर गुजारा चलाएको बताए ।

उनले भने-‘हामीले राहतको नाममा केही पाएका छैनौं । आफन्तले केही दिन सहयोग गरे । पछि बाढीले भिजेर कुहुदै गरेरको अनाजलाई सुकाएर काम चलाउने बनाएका छौं ।’

बाल्टीमा राखेको कुहेको चामल देखाउँदै भने-‘हेर्नुहोस् हामीले यस्तो चामलले दिन काट्दै आएका छौं । बाढीको पानी सुकेकोले भिजेको घरको भग्नावशेष वरिपरी दिन बिताउँदै आएका छौं । गाविस सचिव आएर दुई हजार प्रतिघर दिएर जानुभयो । अरु केही पाउन सकेका छैनन् ।’

गाउँका २३ घरमा पानी पसेर सबै खाद्यान्न तथा लत्ताकपडा, भाँडा कुँडा र लुगाफाटो बगाएर लगेको छ । बच्चाहरुका किताव कापी पनि सबै बगेकोले उनीहरुको पठनपाठनमा समस्या आएको थारुले बताए ।

अनुगमनमा गएका राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक खरेलले गाविसका सचिव रामु केसीसँग फोनमा कुरा गर्दा गाविसले आंशिक क्षति भएकाहरुलाई दुई हजार नगद मात्र दिएको जानकारी गराएको बताए ।

नेपालगञ्जमा विभिन्न नियोगमा कार्यरत व्यक्तिको सक्रियतामा उठाइएको चामल, बाल्टी, जग, पिउस, जीवनजल, दाल, चिनी, पिठोलगायतका सामाग्री सेट वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment