Comments Add Comment

संसद घेर्ने दरबारको योजना सेनाले बिफल पार्‍योः कटवाल

Rookmangud Katawal१८ भदौ, काठमाण्डौ । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले दोस्रो जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बिथोल्न राज दरबारले सिंहदरवार घेर्ने आदेश दिएको दावी गरेका छन् ।
तर, नेपाली सेनाले साथ नदिएकाले दरबारको अयोजना असफल भएको र प्रतिनिधिसभाले राजसंस्था निलम्बन गरेको उनको दावी छ ।

आफ्नो आत्मकथा ‘रुकमाङ्गत कटवाल’को ‘जेठ १५ को दुर्घटना टर्‍यो’ शीर्षकमा उनले उपत्यका पृतनापति दिपकविक्रिम राणालाई सैनिक जासुसी कार्यालयबाट सिंहदरवार घेर्ने आदेश आएको बताएको उल्लेख गरेका छन् ।

त्यसबेला कटवाल सेनाको सकेण्डम्यान थिए । पुस्तकमा कटवालले लेखेका छन्-‘अपराहृनतिर दिपकले मलाई रिपोर्ट गरे, डिजिएमओ कार्यालयबाट सिंहदरवार घेर्ने आदेश आएको छ ।’ पुस्तकमा अघि लेखिएको छ-‘दिपकले भने अनुसार एमए (मिलिट्री असिस्टेन्ट) अफिसबाट उनलाई पटकपटक सोधियो रे, सिंहदरवार घेर्नू भन्ने आदेश के भयो ?’

घटनाक्रमबारे उल्लेख गरेपछि कटवालले पुस्तकमा लेखेका छन्-भएको के रहेछ भने सिंहरदरवार गणपति कर्नेल सहदेव खड्कालाई विहानै राजदरवार सैनिक सचिवालयबाट फोन आएछ, आजको बैठक हुन नदिन माइक तोडफोडदेखि सिंहदरवार घेरा हाल्नेसम्मको काम गर्नू ।’

आफूले सेनापतिलाई जनचाहना र सरकारको बैधानिक आदेश विपरित सेना चल्न हुँदैन भनेको र अरु जर्नेलहरु पनि प्रतिनिधिसभाको बैठक विथोल्न राजी नभएपछि दरबारको योजना असफल भएको उनले दावी गरेका छन् ।
दिलभूषण पाठकको कार्यक्रम ‘टफ टक’मा यसबारे सोधिएको प्रश्नमा कटवालले भनेका छन्-‘भएको कुरा लेखेको छु मैले । राजाले गरेको हो वा बिचको मान्छेले गरेको भन्ने मसँग प्रमाण छैन ।’

तर, पुस्तकमा पूर्वप्रधानसेनापति कटवालले आफूले राजतन्त्रको पक्षमा खुलेर लागेको उल्लेख गरेका छन् । यतिसम्मकी गणतन्त्र घोषणापछि पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ‘बेबिकिङ’को प्रस्ताव अघि सार्न आफूले नै लगाएको दावी गरेका छन् ।

रामवरणलाई भोट

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयन गर्दा रुक्माङ्गद कटवाल प्रधानसेनाति थिए । त्यसबेला उम्मेदवार बनेपछि रावरण यादवले आफूसँग सहयोग मागेको र आफूले उनको पक्षमा भोट मागेको उल्लेख गरेका छन् ।
कटवालले पुस्तकमा लेखेका छन्-‘म एयरपोर्टमा गल्फ खेल्दै थिएँ । कांग्रेस नेता रामवरण यादवले फोन गर्नुभयो । पार्टीले मलाई राष्ट्रपतिमा उठाउने भन्दैछ, चिफसापले मद्दत गर्नुपर्‍यो ।’ एयरपोर्टमा गल्फ खेलिरहेको आफू सीधै अफिस गएर फोन घुमाउन थालेको भन्दै उनले पुस्तकमा लेखेका छन्-‘विभिन्न ठूला साना दलका नेतासँग कुरा गरेँ । उहाँ प्रजातान्त्रिक हुनुहुन्छ, तराईको पनि हो । सहयोग गर्नुपर्‍यो, मेरो तरिका यही हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग फोन गरेँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग पनि कुरा भयो । राजनीतिक समीकरण अनुकूल बन्दै आयो । सामाजिक सद्भावका पक्षमा लिएको अडानको फलस्वरुप मुलुकको पहिलो राष्ट्रपति हुने सौभाग्य मिल्यो रामवरण यादवलाई ।’

सेना प्रमुख भएर यसरी राजनीति गर्न मिल्छ भन्ने टफ टकको प्रश्नमा उनले भनेका छन्-‘त्यसलाई राजनीतिक गरेको भन्दैन । मैले चिने जानको मान्छेलाई, इष्टमित्रलाई यो कुरा यस्तो-यस्तो छ । यो मान्छेलाई सहयोग गर्नुपर्छ भनेर मैले भनेको हो । मैले चौबाटोमा गएर, चौतारीमा गएर भाषण गरेर हिँडेको होइन ।’

त्यसो भए तपाईको जुनियरले राष्ट्रपतिको अर्को कुनै उम्मेदवारलाई हेडक्वाटरबाट तपाईंले झैं भोट माग्न पाउँथ्यो भन्ने प्रश्नमा उनले भने-‘एउटा व्यारेक कमाण्डरको हैसियतले म फलानो बोलेको, फलानोलाई भोट दिनुस् भन्यो भने अर्कै कुरा हो । एउटा व्यक्तिको नाताले भन्न मिल्छ ।’

कुराकानीमा दिलभुषणले माओवादीले प्रधानसेनापतिबाट हटाउन खोज्दा रामवरणले गुन तिरेको हो भन्ने प्रश्नमा उनले आपत्ति जनाए । उनले भने-‘पुरानो गुन भनेर दोष नलगाउनुस् ।’

उसो भए तपाईको रक्षा कवज भएर आएको त हो नि भन्ने प्रश्नमा उनले भने-‘त्यसैबेला मेरो कवज भन्दा भन्दा पनि सबैको कुरा बुझेर आफ्नो निर्णय गर्नु भएको हो ।’

दिलभुषणले कटवालसँग गरेको कुराकानी हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment