Comments Add Comment

यस्ता छन् प्रख्यात ब्रान्डका ‘इन्ट्री लेभल कार’

Nada Auto Show (9)

२३ भदौ, काठमाडौं । नेपाली मध्यमवर्गीय परिवारको रोजाइमा ‘इन्ट्री लेभल कार’ पर्ने गरेका छन् । सिमित आयस्रोत हुने व्यक्तिहरुको कार चढ्ने रहर इन्ट्री लेभल कारले पुरा गरिदिन्छन् ।

राजधानीमा जारी अटो मेलामा पनि इन्ट्री लेभल कारको बारेमा जानकारी लिनेहरु धेरै भेटिए । ‘ग्राहकहरुले सस्तो महंगो दुबै कारका बारेमा जानकारी लिए पनि डिल चाहीँ सस्तामा गर्छन्’ सिप्रदी ट्रेडिङका प्रोडक्ट म्यानेजर कैलाश बावु गेलालले भने- ‘नेपालमा अधिकांशको रोजाईमा इन्ट्री लेभल कार पर्छन् ।’

सामान्यतया नेपालमा १४ लाख रपैयाँदेखि २५ लाख रुपैयाँसम्मका कारलाई इन्ट्री लेभल कारका रुपमा लिइन्छ । नेपालमा उपलब्ध सबै ब्रान्डका कारहरुले इन्ट्री लेभल मिट नगरे पनि अधिकांश ब्रान्डका केही मोडल इन्ट्री लेभल मिट गर्ने खालका छन् ।

कतिपय ब्रान्डका सबैभन्दा सस्ता कारहरु नै प्रिमियम रहेको पाइन्छ । कार पारखीहरु ब्रान्डलाई पनि आफ्नो रोजाइमा पार्ने हुँदा उनीहरु मन पर्ने ब्रान्डको सस्तो कार खोज्न आउने गरेको व्यवसायीहरुको अनुभव छ ।

अघिल्ला मेलाहरुमा महंगा गाडी प्रर्दशनीमा राख्ने गरेका कम्पनीहरुले यस पटकको मेलामा सस्ता गाडीहरुलाई प्राथमिकतामा राखेको पाइएको छ ।

मेलामा सहभागी कम्पनीहरुको इन्ट्री लेभल कारहरु यस्ता रहेका छन् ।

टाटा इन्डिका सीआर-फोर

इन्डियन मोटर्स उत्पादक कम्पनी टाटाको मेलामा इन्ट्री लेभलको कार इन्डिका सीआर फोर प्रर्दशनीमा राखेको छ । फुल र सेम अप्सनमा उपलब्ध यो कारको मूल्य क्रमशः २० लाख ७० हजार रुपैयाँ र १९ लाख ६५ हजार रहेको छ ।

Tata-Indica-CT-4-Final

हृयाचव्याक सेगमेन्टको यो कार १४०० सीसीको हो । यो गाडीमा एसी, हिटर, पावर स्टेरिङ, फोर डोर पावर विन्डोज, इलेक्ट्रीकल मिरर, की लेश रिमोट कन्ट्रोल, ब्लूटुथ कलेक्ट हुने म्यूजिक सिष्टम लगायतका सुविधाहरु रहेका छन् ।

दशैं-तिहारको अवसरमा कम्पनीले २ तोला सुन, १ वर्षको इन्स्योरेन्स र ३० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

होन्डा अमेज
नेपालमा होन्डाको सबैभन्दा सस्तो कार ‘होन्डा बि्रयो’ भएपनि कम्पनीले यो कार मेलामा राखेको छैन् । कम्पनीले मेलामा सस्तो गाडीको रुपमा होन्डा अमेज प्रर्दशनीमा राखेको छ ।

होन्डा अमेज नेपालमा विभिन्न ६ भेराइटीमा उपलब्ध भएपनि सबैभन्दा सस्तो भेराइटीको मूल्य २६ लाख ७५ हजार रुपैयाँ रहेको छ । ११९८ सीसीको यो गाडी सेडान सेगमेन्टको हो । नेपालमा यो कार ५ कलरमा उपलब्ध छ ।

Honda-amaze-Final

होन्डाको बि्रयो कार इन्ट्री लेभलको कार हो । ४ भेराइटीमा उपलब्ध बि्रयोको सुरुवाती मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । ११९८ सीसीको यो कार पेट्रोल इञ्जिनमा उपलब्ध छ ।

टोयोटा इटिओस लिभा

नेपाली उपभोक्तामाझ प्रिमियम कारका रुपमा परिचित भएपनि इटिओस लिभा टोयोटाको सबैभन्दा सस्तो कार हो । १२ सीसीको यो कारको मूल्य ३३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

Toyota-ETO-Liva-Final

हृयाचव्याक सेगमेन्टको यो कार आकर्षक डिजाइनमा रहेको छ । इटिओस लिभा विभिन्न ७ कलरमा उपलब्ध छ । यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । ५ जना अटाउने यो कारमा ४५ लिटर पेट्रोल अटाउने ट्यांकी रहेको छ ।

फोर्ड फिगो

अमेरिकन ब्रान्ड फोर्डले मेलामा इन्ट्री लेभलको कार फिगो प्रर्दशनीमा राखेको छ ।  फिगो पेट्रोल इञ्जिनमा रहेको फिगो १२ सय सीसी र डिजेल इञ्जिनमा रहेको फिगो १४ सय सीसीको हो ।

Ford-Figo-Final

फिगो नेपालमा पेट्रोल र डिजल गरी ८ भेराइटीमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार पेट्रोल इञ्जिनमा रहेको फिगो १९ लाख ५० हजार रुपैयाँदेखि २४ लाख ५० हजार रुपैयाँसम्म र डिजल इञ्जिन रहेको फिगो २२ लाख ९९ हजार रुपैयाँदेखि २८ लाख ४९ हजार रुपैयाँसम्म पर्छ ।

निशान मार्च

मार्च प्रिमिय हृयाचव्याक कार भएपनि निशानको इन्ट्री लेभल कार हो । यो कारको मूल्य नेपालमा २८ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले दशैं तिहारको अवरमा ३ लाख रुपैयाँ नगद डिस्काउन्ट दिने घोषणा गरेको छ ।

Nissan_March-Final

पेट्रोल इञ्जिनयूक्त यो कारमा ४ वटा एयरव्याग रहेका छन् । यो १२ सय सीसीको कार हो । यसमा ४१ लिटर फ्यूल अटाउँछ भने ५ स्पीड म्यानुअल गियर रहेको छ ।

किया पिकान्टो

कियाको सबैभन्दा सस्तो कार पिकान्टो नेपालमा २७ लाख रुपैयाँ ३२ लाख रुपैयाँसम्म पर्छ । नेपालमा पि्रमियम कार भएपनि पिकान्टो कियाको सस्तो कार हो ।

kia-picanto-Final

पेट्रोल इञ्जिन रहेको यो कार १२०० सीसीको हो । यसमा की लेश रिमोट कन्ट्रेल, चारवटै पावर विन्डोज, फुल्ली विल्ड म्यूजिक सिष्टम, राजधानीमा प्रतिलिटर १२ किलोमिटर र हाइवेमा १८ किलोमिटर माइलेज लगायतका सुविधाहरु रहेका छन् ।

भक्सवागन पोलो

भक्सवागनले मेलामा पोलो प्रर्दशनीमा राखेको छ । जर्मनीको प्रिमियम कार निर्माता कम्पनीको यो सबैभन्दा सस्तो कार हो । विभिन्न ५ भेराइटीमा उपलब्ध पोलो पेट्रोल इञ्जिनयूक्त कार हो ।

Valkswagen-Polo-Final

पोलो १२ सय सीसीदेखि १६ सय सीसीसम्म उपलब्ध रहेको छ । इञ्जिन क्षमताअनुसार यो कारको मूल्य २६ लाख ४५ हजार रुपैयाँदेखि ३९ लाख ४५ हजार रुपैयाँसम्म रहेको छ । विभिन्न ६ कलरमा उपलब्ध पोलो आकर्षक डिजाइनमा रहेको छ ।

यसमा वाहिरी तथा भित्री सजावट, सुरक्षा लगायतमा विशेष ध्यान दिइएको छ । नेपालमा पोलोले राम्रो मायाँ पाउन सफल भएको छ ।

हुन्डाई इओएन

हुन्डाईको सबैभन्दा सस्तो कार इओएन हो । यसको मूल्य नेपालमा १६ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

८१४ सीसीको यो कारले नेपाली सडकमा १८ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले बताएको छ । यो पेट्रोल इञ्जिनयूक्त कार हो । यसमा ५ स्पीड म्यानुअल गियर छ ।

hyundai-eon--Final

सानो आकारमा रहेको यो कार नेपालको ट्राफिक जाम सुहाउँदो रहेको छ । यस कारमा डिजाइन र सुरक्षामा प्रयाप्त ध्यान दिइएको छ ।

डाटचन गो

नेपाली बजारमा पहिलो पटक प्रवेश गरेको जापानीज ब्रान्ड डाटचनले मेलामा इन्टि्र लेभलको कार गो प्रर्दशनीमा राखेको छ । आकर्षक डिजाइनमा रहेको यो कार १२०० सीसी इञ्जिन क्षमताको हो ।

नेपालमा यो कारको मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ । यो प्रवर्द्धनात्मक मूल्य हो । चार कलरमा उपलब्ध यो कारमा पेट्रोल इञ्जिन रहेको छ ।

Datsun-Go-White

डाटसन गो आधुनिक प्रविधि जडान गरिएको फाइभ डोर तथा फाइभ सीट हृयाचव्याक कार हो । पारिवारिक कारको रुपमा निर्माण गरिएको डाटसन गो आकर्षक डिजाइनमा उपलब्ध रहेको छ । गाडीको इन्टेरियर डिजाइनमा समेत विशेष ध्यान दिएको दाबी गरिएको छ ।

स्कोडा र्‍यापिड

सेडान सेगमेन्टको स्कोडा र्‍यापिड प्रिमियम कार भएपनि स्कोडाको इन्टि्र लेभल कार हो । र्‍यापिड १५९८ सीसीको कार हो ।

डिजेल र पेट्रोल दुबै भेराइटीमा उपलब्ध यो कारको मूल्य नेपालमा ३३ लाख २५ हजार रुपैयाँदेखि ४२ लाख ९५ हजार रुपैयाँसम्म रहेको छ । र्‍यापिड पेट्रोल इञ्जिनमा ३३ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ भने डिजेल इञ्जिनमा ३७ लाख ५५ हजार रुपैयाँबाट सुरु हुन्छ ।

skoda-rapid-Final

यसमा इन्धन क्षमता ५५ लिटर, स्टोरेज क्षमता ४६० लिटर, ग्राउन्ड क्लियरेन्स १६८ एमएम रहेको छ । र्‍यापिड म्यानुअल र अटोमेटिक गियरमा पनि उपलब्ध रहेको छ ।

मारुती सुजुकी अल्टो

मारुती सुजुकी अल्टो नेपाली कार बजारमा सबैभन्दा सस्तो कारका रुपमा चिनिन्छ । आठ सय सीसी इञ्जिन क्षमताको अल्टो नेपालमा ३ भेराइटीमा उपलब्ध रहेको छ ।

७९६ सीसीको यो कारको मूल्य १४ लाख ५९ हजार रुपैयाँदेखि १६ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । सानो आकारको यो कारले नेपाली ग्राहकको राम्रो मायाँ पाउन सफल भएको छ ।

maruti-suzuki-alto-Final

अल्टो कारले प्रतिलिटर २२.७४ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । सस्तो कार भएपनि यसको भित्री तथा बाहिरी इन्टेरियरमा प्रयाप्त ध्यान दिइएको छ ।

५ स्पीड गियर, ५ जना अटाउने, ३५ लिटरको इन्धन ट्यांकी, ६ वटा आकर्षक कलर, १६० एमएमको ग्रान्उड क्लियरेन्स लगायतका फिचरहरु यस कारमा रहेका छन् ।

फियट पुन्टो इभो

फियट पुन्टो इभो मेलामा सार्वजनिक गरेको कार हो । यो कार फियटको सबैभन्दा सस्तो कार हो । १२ सीसीको यो कारको मूल्य २४ लाख ९५ हजार रुपैयाँबाट सुरु हुन्छ ।

 Fiat-Punto-Evo

अहिले मेलामा प्रर्दशनीमा राखिएको पुन्टो इभोको मूल्य २६ लाख ९५ हजार रुपैयाँ रहेको छ । यो विभिन्न ४ मोडलमा उपलब्ध हुनेछ ।

पछिल्लो प्रविधि प्रयोग गरिएको पुन्टो इभो डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध हुनेछ । यसले प्रतिलिटर १५।८ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । पुन्टो इभो सरप्राइजिङ, स्माइलिटङ, स्टाइलिस, सिम्पल र स्पीडी कार भएको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment