Comments Add Comment

पुस्कर शाहको पुस्तक : कम्मरमुनिको वर्णन !

बेथर

sata-ko-bookविश्व साइकलयात्री पुस्कर शाहको करिब ४ सय पृष्ठको किताब बजारमा आएको छ । ‘संसारलाई साढे पाँच फन्को’ शीर्षकको यो पुस्तकमा उनले आफ्नो विश्वयात्रामा देखे भोगेका विषयहरुको वर्णन गर्न खोजेका छन् । तर, किताव पढ्दा यस्तो लाग्छ, उनले विश्वका धेरै मुलुकहरुमा सेक्स र चुम्बनमै बिताए । यो बाहेक उनले अन्य वौद्धिक विषयमा खासै ध्यान दिएनन् ।

थाइल्याण्डमा पुरुष वौद्ध भिक्षुबाट यौन शोषणमा परेको कुरा होस् या अफ्रिकी एवं दक्षिण अमेरिकी मुलुकहरुको भ्रमणमा नै किन नहोस् शाहले बढीजसो महिलाहरुसँगको भेट, चुम्बन, सेक्स र त्यस्तै त्यस्तै कम्मरमुनिका विषयवस्तुमाथि चर्चा गरेका छन् ।

ब्राजिलमा सुन्दरीको छातीको चर्चा छ । क्युबामा उधारो सम्भोग गरेको कुरा छ । जमैकामा सेभ सेक्स र कन्डोमको कुरो छ । न्युजिल्याण्ड र क्यानडामा नेपाली मूलका भाञ्जीहरुको कुरा लेखिएको छ ।

साइकल यात्री शाहले गिनीमा तान्यासँग सुतेको चर्चा गरेका छन् । घानामा एक साँझकी पत्नी भेट्छन् । बेनिनमा ‘डोनेसन सेक्स’ को कुरा छ भने क्युबामा उधारो सेक्सको वर्णन छ । बुरुण्डीमा दोहोरो कण्डोमको कुरा छ । तान्जिनियामा एचआइभी भएकी केटीले उनलाई ‘लेट्स डु समथिङ’ भनेकी छन् । फेन्च गुयानामा फ्री सेक्सको कुरा छ ।

ट्युनिसियामा आफूलाई सातौं विवाहको प्रस्ताव आएको शाहले आफ्नो यात्रा वर्णनमा लेखेका छन् । पोल्याण्ड र स्वीटजरल्याण्डमा पनि लेखकले सेक्स र सुन्तलीहरु नै भेटेका छन् । इक्वेडरको यात्रा वर्णनमा उनले अश्लील कुराहरु लेखेका छन् ।

लाओसमा उनी डायनासँग आशक्त हुन्छन् । हङकङमा चिनियाँ पुतलीले बिहेको प्रस्ताव राखेको उनको दाबी छ । इण्डोनेसियामा पनि आस्ती नामकी केटी भेट्छन् । फिलिपिन्समा बिबियानको अँगालोमा बाँधिन्छन् । त्यहाँ उनले ‘योनी मुस्कान’को चर्चा गरेका छन् । जाम्बियामा ५० डलरको चुम्बनको चर्चा छ ।puskar-shah-book

मौरी फूलमा बस्छ, झिंगो फोहोरमा

कुनै फूलबारीमा मौरी पुग्यो भने फूलको बासना र रसतिर उसको ध्यान जान्छ । तर, त्यहाँ झिँगो पुग्यो भने उसले फूलको सौन्दर्य होइन, जमीनमा भएको मलमूत्रतिरै ध्यान दिन्छ ।

मानिसको विश्व दृष्टिकोण पनि मौरी र झिँगाको जस्तै फरक फरक हुन्छ । सुन्दर के हो र फोहोर के हो भनेर छुट्याउन मानिसमा सांस्कृतिक स्तर चाहिन्छ । वौद्धिक मान्छेले विश्वको भ्रमण गरेर फर्केपछि पुस्तक लेखेको भए भद्दा सेक्स र नितम्बको हैन, त्यस देशको संस्कार, संस्कृति, इतिहास र मानवीय जीवनको वर्णन गर्दथ्यो । र, नेपालीहरुलाई विश्वको जनजीवनबाट सकारात्मक शिक्षा दिने थियो ।

तर, विश्व साइकल यात्री शाहको पुस्तकले विभिन्न देशका कामुक मान्छेहरुको वर्णन मात्रै गरेको छ, संसारलाई पाँच फन्को लगाए पनि लेखकको ध्यान कम्मर मुनि नै बढ्ता केन्दि्रत भएको देखिन्छ, कम्मर माथिको विषयवस्तुले पुस्तकमा कमै महत्व पाएको छ ।

शाहको पुस्तकमा विश्वको जानकारी कम र लेखकको वौद्धिक एवं सांस्कृतिक स्तर बढी प्रकट भएको छ । यो लेखकको विश्वदृष्टिकोणको समस्या हो । सांस्कतिक स्तरको समस्या हो ।

घुम्दैमा संसार देखिँदैन भन्ने यसबाट प्रष्ट हुन्छ । लेखकले चील भएर हैन, कुखुरो बनेर घुर्‍यान खोस्रने प्रयास गरेका छन् । के उनी पुस्तकमा लेखिएजस्तै जहाँसुकै सेक्स र चुम्न गर्दै हिँडे त ? कि उनले रुक्माङगद कटवालले जसरी गफ हाँकेका हुन् ? यसलाई मापन गर्ने कुनै ‘लिटमस पेपर’ छैन ।

लेखकले जुन देशमा डुले, त्यहाँको राम्रा र सकारात्मक पक्षहरुको रिपोर्ट लिन सक्नुपर्दथ्यो । पुस्तकमा त्यस्ता विषयहरु समेटिएका भए नेपाल र नेपालीले उनको कष्टपूर्ण यात्राबाट केही सिक्ने अवसर पाउने थिए । तर, शाहले पहाड पल्टाएर एउटा सानो मुसो मात्रै निकालेका छन्, जुन ‘सेक्स’रुपी कामुक मुसोका बारेमा थाहा पाउन गुगल नै काफी छ, शाहको किताब पढिरहनै पर्दैन ।

यसमा शाह यसअर्थमा क्षम्य छन् कि उनले जे देखे त्यही लेखे । उनको सांस्कृतिक स्तर र वौद्धिक स्तर जति थियो, त्यति नै खोतलेर ल्याए, विश्वबाट ।

लेखकले यौन विषयमा चर्चा गर्दा भद्दा शब्दहरु प्रयोग गरेका छन् ।

सकारात्मक पक्ष

पुस्तकमा केही सकारात्मक पक्ष पनि छन् । तर, ती थोरै छन् । लेखकको ध्यान केटीतिर बढी गएको छ, देशको थितितिर कम ।
कंगोको द्वन्द्व, इजरालय र मलेसियामा नेपालीहरुको अवस्था, अमेरिकाको कतिपय वर्णन र पुस्तकको पछिल्लो खण्डमा बेलायत, नर्वे, जर्मनी, लक्जेम्वर्ग, स्पेन, इटली, हंगेरी, क्रोएसिया, नर्वे, फिण्ल्याण्ड, उत्तरी आयरल्याण्ड र स्कटल्याण्ड लगायतका देशहरुको यात्रा वर्णन केही साहित्यिक र केही सौन्दर्यमूलक देखिन्छन् ।

अर्को सह्रानीय पक्ष पुस्तकमा कुनै पनि देशको यात्रा वर्णन छोटो र सरल भाषामा गरिएको छ । पढ्न अल्छी नलाग्ने गरी लेखिएको छ । तर, यो कलापक्ष राम्रो भए पनि विचारपक्ष र सन्देश प्रवाहको दृष्टिले पुस्तक ‘कम्मरमुनिको कथा’ जस्तो बन्न पुगेको छ । आगामी प्रकाशनमा यस्ता विषयलाई सच्याएको खण्डमा पुस्तक पढ्न योग्य बन्न सक्छ ।

पुस्तक लेख्नु भनेको लेखक आफू नांगिनु पनि हो । आत्मकथा लेखेर रुकमाङगद कटवाल जसरी नांगिए, त्यसैगरी पुस्कर शाहको पनि वौद्धिक र सांस्कृतिक स्तर पुस्तकमा उजागर भएको छ । उनी सहासिक विश्वयात्री हुन्, उनको ज्यानले सगरमाथा पनि चुमिसकेको छ । तर, उनको चेतनास्तर र सांस्कृतिक स्तर भने सगरमाथा चढ्न सकेको देखिएन पुस्तकमा ।
[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment