Comments Add Comment

अब कारखानामा दलाली र माफियाको खेलोमेलो चल्दैन

mahesh-basnetमहेश बस्नेत, उद्योगमन्त्री 

युवा संघको जुन स्थान बनाउनुभयो, त्यो स्थानमा उभिएर महेश बस्नेत उद्योग मन्त्री भइरहँदा तपाईहरुले यत्ति कुरा विश्वास गर्नोस्, नेकपा एमालेको शीरलाई गिराउने काम कहिल्यै गर्ने छैन ।

म कुनै आर्थिक लाभका काममा लाग्ने छैन । म नेपालको सम्वृद्धिमा टेवा पुग्छ भनेमात्रै विदेश जान्छु । नत्र मलाई समुद्र हेर्ने रहर छैन । युवा संघ नेपालमै काम गरेर मैले हेर्नुपर्ने हेरिसकेको छु । म सेवा, सुविधा, स्रोत र साधनतिर धेरै आकर्षित छैन । त्योखालको जीवन मेरा लागि धेरै आकर्षणको जीवन पनि हैन ।

म एउटा गरीब, सामान्य किसान मजदुरको परिवारबाट आएको हुनाले मलाई लोभ पनि छैन । मलाई हाइ स्ट्यान्डर्ड म्यान्टेन पनि गर्नु छैन ।

साथीहरुले मलाई सुझाव दिनुहुन्छ, अध्यक्षले लगाएको सर्ट यस्तो भयो, अध्यक्षले अस्ति एशिया प्यासिफिक मिटिङमा लगाएको ड्रेसै मिलेन, टोपीदेखि कोट केही पनि मिलेन भन्नुभो । मैले जे लाउँछु, त्यही नयाँ ड्रेस हुन्छ भन्दिएँ । टोपी लाएको थिएँ, कोट लाएको थिएँ, जिन्स पाइन्ट लगाएको थिएँ, नमिल्दो भयो रे । मैले भने यही एउटा नयाँ कुरा हुन्छ ।

तपाईहरुलाई म एउटा रोचक नयाँ प्रशंग सुनाउँछु । त्यो मन्त्री क्वार्टर एनसीसीएमले ठेक्कामा लिएर बनाएको रहेछ । मेरो अंकलचाँहि त्यो एनसीसीएमको त्यो मजदुर लैजाने पेटी ठेकेदार हुन्छ नि, मेरो अंकल त्यसको पेटी ठेकेदार हुनुहुँदोरहेछ । त्यो बनाउने क्रममा काकाले बुबालाई पनि त्यहाँ लानुभएको रे ।

हिजो बुबा र काकासँग म बसें । बुबा र काकाले के भन्नुभयो भने त्यो क्वार्टर त हामीले छोराका लागि बनाएको जस्तो भयो । म त्यो परिवारबाट, त्यो वर्गबाट आएको हुँ । यही भएर म एकदम लो प्रोफाइलमा बसेर काम गर्न सक्छु ।

मेरो बारेमा जे साथीहरुले भ्रम पाल्नुभएको छ, म ती मिडियाका साथीहरुलाई भन्छु, तपाईहरुले म जे हो, त्यही कुरा बाहिर लगिदिए हुन्छ ।

कतिपय नेपालका नेता साथीहरु, हामीले त शब्दै भनेका छौं, कलाकारिता बोकेका साथीहरुलाई जुन ढंगले मिडियाले कभर गरेको छ, उहाँहरुप्रति हाम्रो सहानुभूति छ । बधाइ छ । धन्यवाद छ । तर, कमसेकम महेश बस्नेतको बारेमा, युवा संघको बारेमा जे हो, त्यही कुरा गरिदिनोस् । हामी जे होइनौं, त्यो कुरा बाहिर नलगिदिनोस् । यत्ति कुरा म अपील गर्न चाहन्छु । मिडियाका साथीहरु यसमा विचार गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

मन्त्रालयसम्बन्धी डिटेल कुरा अहिले म तपाईहरुका सामु बोल्ने छैन । किनभने हिजो साढे ४ बजेमात्रै थाहा पाएँ, म उद्योग मन्त्री हुँदैछु भन्ने कुरा ।

हाम्रो पार्टी अध्यक्ष केपी कामरेडको एउटा अनौठो स्वाभाव छ ।  उहाँले मलानई फोन गरेर के भन्नुभयो भने एउटा महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने छ, आउनोस् । हामी त्यहाँ जाने तयारी गर्दैथियौं, पूर्वअध्यक्ष जेएन कामरेडको फोन आयो ।  ल बधाइ छ तपाईलाई भन्नुभयो । केको बधाइ कामरेड भनें मैले । तपाईलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ भन्नुभयो । मैले सोधें, के जिम्मेवारी कामरेड ? उहाँले तपाईलाई उद्योग मन्त्री बनाइयो भन्नुभयो ।

म बालकोट पुगें । पानी परेकाले ढीला पुगियो । मिडियामा आयुनभन्दा अगाडि नै तपाईलाई बधाइ दिऔं भनेर डाकेको, मिडियामा आइसकेपछि आउनुभयो, तपाईले समय मिस गर्नुभयो भन्नुभयो ।

यसबाट के हो भने समग्र युवा साथीहरु जो फिल्डमा खट्नुभएको छ, कुनै आकांक्षा नभई खट्नुभएको छ । कम्युनिष्ट आन्दोलनमा आकांक्षा राखेर खट्ने साथीहरुले केही पनि पाउँदैनन् । निश्वार्थ खट्ने साथीहरुले धेरै कुरा पाउँछन् ।

मैले कतिपय साथीहरुलाई अहिले पनि भेट्छु, एमाले सरकारमा भइरहेका बेला उहाँहरु कस्ता माग लिएर आउनुहुन्छ ? पहिले स्कुलका कुरा लिएर आउनुहुन्थ्यो, समाजका कुराहरु लिएर आउनुहुन्थ्यो । अहिले के लिएर आउनुहुन्छ ? मेरो फलानो मानिसलाई पुलिसमा सुरुवा गरिदिनुपर्‍यो । हाइटी पठाइदिनुपर्‍यो । यस्तो गरिदिनुपर्‍यो, उस्तो गरिदिनुपर्‍यो । अहिले एमालेको कार्यकर्ता पङ्तीले निजी कामबाहेक सामाजिक काम छाडिसक्यो । यो हाम्रा लागि निकै चुनौतीको विषय हो भन्ने मलाई लाग्छ ।

अब तपाई हामी युवा संघका कार्यकर्ताले व्यक्तिगत भन्दा सामाजिक काम लिएर आउनुपर्‍यो । हामीले कसैका लागि मन राखिदिनका लागि काम गर्न छाडिदिनोस् । हामीले दीर्घकालीनरुपमा काम गर्नुपर्छ ।

म साथीहरुलाई के भन्छु भने सामाजिक कामका विषयवस्तुहरु लिएर आउनोस् । राष्ट्रिय हितका कुराहरु लिएर आउनोस् ।

हाम्रा सम्भावनाहरु के हुन् ? अहिले पनि म दैलेखको एउटा प्रदर्शनी हेर्न गएँ, त्यहाँ आगो बलेको छ, हामी पूजा गरिराखेका छौं । त्यहाँ ग्यासको सम्भावना के छ ? फलामखानीको सम्भावना के छ ? तामाखानीको सम्भावना के छ ? त्यस्ताखालका सम्भावनाहरु के-के छन् र त्यसमा हामीले केके गर्न सकिन्छ, त्यस्ता विषयवस्तुहरु तपाईहरुले अब अध्ययन गर्नोस्, खोज गर्नोस् ।

म युवा संघको अध्यक्षको हैसियतले मन्त्री भइरहँदा तपाई हाम्रो लाभ के हो भने यो मन्त्रालय तपाईहरु मार्फत् यो मन्त्रालय सफल हुने छ र राज्यका संयन्त्रहरुलाई सहयोग गर्ने कमिटी पनि यही हो  । यो हाम्रा लागि लाभको विषय हो । यसमा तपाईहरुको भावनासँग एकाकार भएर तपाईहरुका योजना, तपाईहरुका भिजनहरुसँग एकाकार भएर अघि जान चाहन्छौं ।

आज हामी युवाहरुले सञ्चालन गर्ने उद्योगहरुलाई के कुरामा छुट दिन सक्छौं ?  हामीले रवि अभियान चलाएका छौं र फेरि पनि चलाउने सोचमा छौं । अब १६ देखि ४० वर्षसम्मका युवाहरु मिलेर बनेका कम्पनी र उद्योगहरुलाई हामीले के छुट दिन सक्छौं ? केके सुविधा दिन सक्छौं ? योबारेमा अब छलफल गर्नुपर्छ ।

आज महिला दिदी बहिनीहरुले गरेको कामको मूल्यांकन छैन । चुलो चौकोमा सीमित भएका महिला दिदी बहिनीहरुको कामको मूल्यांकन भएको छैन । महिलाहरुलाई उद्योगमा प्रवेश गराउनका निमित्त हामीले केके गर्न सक्छौं ? यस्ता धेरै विषयवस्तुहरु अहिले हामी अध्ययनको चरणमा छौं ।

हिजो मुलुकले लिएको आर्थिक उदारीकरणको नीतिका कारणले हाम्रा धेरै उद्योग धन्दाहरु बन्द छन् । धेरै कारखानाहरु बन्द छन् । ती कारखानाहरुलाई ब्युँताउन हामी के गर्न सक्छौं ? हिजो हामीले धेरै भाषण गर्‍यौं, अब हामी काम गर्ने ठाउँमा आइपुगेका छौं ।

हिजो भारतसँग भएको बिप्पा सम्झौताको हामीले बिरोध गर्‍यौं । हामी बिप्पा सम्झौताका विरोधी हैनौं । बिप्पा सम्झौतामा राखिएका शर्तहरु, जुन नेपालको हितको विरुद्धमा थिए, हामीले ती शर्तहरुका बारेमा विरोध गरेका थियौं । भोलि वैदेशिक लगानी कसरी हामीले राष्ट्रिय हितमा भित्र्याउन सक्छौं, यो कुरामा हामीले ध्यान दिनुपर्छ ।

हामीले उद्योग धन्दा कलकारखाना चलाइरहँदा कमिसनको जुन खेल छ, दलाली र माफियाको जुन खेलोमेलो छ, यो खेलोमेलो रोक्ने कुरामा उच्च छातीका साथ हामी अगाडि जान तयार हुनुपर्छ भन्ने मलाई लाग्छ ।

पोखरा विमानस्थल बनाउने कुरामा १४ अर्ब लाग्ने हामीले अध्ययन गर्‍यौं । ३१ अर्ब भन्दा बढीमा सम्झौता गरियो । त्यहाँ क्रान्तिकारी माओवादी कामरेडहरु सत्तामा रहँदा १७ अर्ब भन्दा बढी कमिशनको  खेल भयो । भोलि नेपालमा सञ्चालन हुने उद्योग धन्दामा वैदेशिक लगानी ल्याउने कुरा हामी डिटेलमा अध्ययन गर्दैछौं ।

(युवा संघको बैठकलार्इ संघका अध्यक्ष एवं मन्त्री बस्नेतले गरेको सम्बोधनको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment