Comments Add Comment

पोष्टबहादुर बोगटी : त्रिशुलीको भेडीगोठदेखि पेरिसडाँडासम्म !

posta-bogati1

३० भदौ, काठमाडौं । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको जीवन चरम गरिबी एवं संघर्षै संघर्षमा बित्यो ।

बोगटीका दुई छोरी र एक छोरा रहेकोमा ०५९ साल असार ७ गते उनका एकमात्र छोरा रवि बोगटी (अनन्त) धादिङको सत्यदेवी गाविसमा सेनाको गोलीबाट मारिएका थिए । जनयुद्धमा आफ्नो सन्तान गुमाउने बोगटी नै एकमात्र ठूला नेता हुन् ।

बोगटीको जन्म विसं. २०१० सालमा नुवाकोटको तुप्चेमा भएको हो । उनका पिताले पाँचवटी विवाह गरेका थिए । बोगटी साँहिली पटि्टका जेठा छोरा हुन् ।

bogati

गरीबीमा बितेको जीवन

किशोरावस्थामा भारतीय सेनामा जागिर खाने सपना साँचेका बोगटीले भारतमा भौतारिँदा धेरै दुःख झेल्नुपर्‍यो । पछि उनले नेपाल फर्केर त्रिशुलीमा भेडा फर्म, माछा फर्म र घरेलु उद्योगमा नोकरी गरे ।

मंसिरमा काटेको धान खलियाबाटै साहुलाई तिर्दा ठिक्क हुने गरेको बोगटी परिवारमा पोष्टबहादुरले धादिङ-रसुवा-नुवाकोटको माओवादी इञ्चार्ज हुँदासम्म ऋण तिर्न छाडेका थिएनन् ।

आफूले अंशमा पाएको एक टुक्रो जमीन प्रोजेक्टको अधिग्रहणमा परेपछि बोगटीको परिवारले झनै दुःख पायो । पहिली श्रीमतीसँगको सम्बन्ध टुटेपछि बोगटीले राममाया (उषा) सँग पुनर्विवाह गरेका हुन् । उषा पनि पार्टीमै क्रियाशील छिन् ।

हलो जोत्ने क्रान्ति

बाहुनले हलो जोत्नुहुँदैन भन्ने समयमा जन्मेका बोगटीले नुवाकोटमा बाहुनले हलो जोत्ने अभियानको नेतृत्व गरेका थिए । साथैं गाउँमा उनले पञ्चायतकालमा गाउँमा विभिन्न क्लब र पुस्तकालयहरु निर्माण गराएका थिए ।

bogati4

राजनीतिक यात्रा

घरायसी समस्याका कारण औपचारिक शिक्षा घेरै पढ्न नपाए पनि उनी अध्ययनशील नेता मानिन्थे । धर्मशास्त्र र समाजसेवामा आफ्नो रुची रहेको बताउने उनी मित्रप्रसाद घिमिरेले दिएको माओको रेडबुक र राहुल सांकृत्यायनको ‘भोल्गा से गंगा’ पढेर कम्युनिष्ट राजनीतिमा आकषिर्त भएका हुन् ।

विद्यार्थी नेता शरणविक्रम मल्लले उनलाई कम्युनिष्ट पार्टीमा ल्याएका हुन् । पुष्पलाल समूहबाट ०३४ सालदेखि राजनीतिमा लागेका बोगटी ०३७ सालको अन्त्यतिर पुष्पलाल समूह छाडेर चौम समूहमा आवद्ध भए । चौममा लागेपछि तत्कालै उनी नुवाकोट जिल्लाको पार्टी सचिव बने ।

नुवाकोटमा तत्कालीन पञ्च प्रकाशचन्द्र लोहनीसँग द्वन्द्व बढेपछि उनलाई ज्यान मुद्दामा जेल हालियो । ०४२ सालमा रामराजाले गराएको बमकाण्डपछि बोगटी पुनः पक्राउ परे ।

अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य हुँदा ०४२ सालतिरबाट बोगटी र प्रचण्डवीच सम्पर्क भएको हो । त्यतिबेलादेखि प्रचण्डसँग उनको सहकार्य र सम्बन्ध जारी रह्यो । आफ्नी छोरी र प्रचण्डका छोराले विवाह गरेपछि बोगटी र प्रचण्ड सम्धी बने पनि यो पारिवारिक सम्बन्धचाँहि राजनीतिक सम्बन्धजस्तो सुमधुर रहेन ।

parachanda-bogati

बोगटी ०४५ सालमा पूर्णकालीन कार्यकर्ता बनेका हुन् । ०४५ सालमा मोटो मसालको केन्द्रीय सदस्यमा मनोनित भएका उनी ०४८ सालको एकता महाधिवेशनबाट उनी निर्वाचित केन्द्रीय सदस्य भए ।

जनयुद्धकालमा बादल र बाबुरामहरुमाथि समय- समयमा भएका कारवाहीबाट माथिल्लो जिम्मेवारी पाइँदै आएका बोगटी कसैको मन नदुखाउने मृदुभाषी नेता मानिन्थे । बोगटीले बिराटनगर सम्मेलनपछि भनेको आन्तरिक चुनावमा सबैभन्दा मत पाउनुले पनि पार्टीभित्र उनको लोकपि्रयता प्रष्ट हुन्छ ।

हेटौटा महाधिवेशनबाट महासचिव चुनिएका उनी बिराटनगर सम्मेलनपछि एमाओवादीको उपाध्यक्ष थिए ।

पार्टीमा सबैको विश्वासपात्र भएकैले बोगटीले पार्टीभित्रको सम्पत्ति छानविन आयोग एवं लडाकूको भ्रष्टाचारसम्बन्धी छानविन समितिको जिम्मा पाएका थिए । यद्यपि सन्तुलित नेताको पहिचान बनाएका बोगटीले तयार पारेको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन गरिएको छैन ।

शान्ति प्रक्रियामा आइसकेपछि पहिलो संविधानसभा चुनावमा नुवाकोटबाट विजयी भएका बोगटीले पर्यटन मन्त्री र उर्जामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

पारिवारिक निकटस्थहरुमा अनुसार ध्यान, योग र धर्मशास्त्र मन पराउने बोगटी चेस खेल्न मन पराउँथे । खानेकुरामा मासु उनको विशेष रुचीभित्र पर्दथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment